काठमाडौं- सरकारले वैधानिक रूपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ। त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम हुन्डीमार्फत आउने गरेको छ। सरकारले तोकेका माध्यम बैंक तथा रेमिट्यान्स कम्पनीबाट रकम पठाउँदा महँगो पर्ने भन्दै नेपाली श्रमिकले चोरबाटो प्रयोग गरिरहेका हुन्। बैंकहरूले रेमिट्यान्स रकम पठाएबापत चर्को शुल्क असुल्ने गरेको भुक्तभोगी बताउँछन्।
दक्षिण कोरियाबाट ४ प्रतिशत रकम मात्रै वैधानिक (बैंक तथा रेमिट्यान्स कम्पनी) माध्यमबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यहाँबाट वार्षिक ४२ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको बैंकका कार्यकारी निर्देशक एवम् विदेशी मुद्रा विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए। 'त्यसमध्ये २ अर्ब मात्र वैधानिक च्यानलबाट आउने गरेको छ,' उनले भने, 'बाँकी ४० अर्ब रुपैयाँ हुन्डीबाट आउने प्रारम्भिक आँकडाले देखाएको छ।'
सन् २००८ यता झन्डै ३६ हजार नेपाली कोरिया पुगेेका छन्। कोरिया सरकारले प्रत्येक ठूलो संख्यामा नेपाली कामदार लैजाँदै आएको छ। यस वर्ष कृषि क्षेत्रमा काम गर्न २ हजार १ सय र औद्योगिक क्षेत्रका लागि एक हजार गरी ३ हजार १ सय कामदार जाँदै छन्। त्यहाँ कार्यरत सबै नेपालीको कमाइ जोड्दा मासिक करिब १ करोडदेखि डेढ करोड रुपैयाँसम्म पुग्छ।
हुन्डीबाट रकम पठाउँदा उनीहरूका परिवार तथा नातेदारले छिटो पाउने भएकाले पनि अवैध बाटो रोज्ने गरेको कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ। 'बैंकिङ च्यानलबाट रकम पठाउँदा बढी समय र झन्झटिलो प्रक्रिया बेहोर्नुपर्ने भएकाले पनि हुन्डीको बाटो अपनाउने गरेको पाइयो,' उनले भने, 'वैधानिक च्यानलबाट रकम भिœयाउन सरकार असफलजस्तै भएको छ।'
कोरियामा कार्यरत नेपालीको औसत कमाइका आधारमा नेपाल भित्रने रेमिट्यान्स आँकलन गर्ने गरिएको जानकार बताउँछन्। हुन्डीबाट भित्रने रकम कतै पनि उल्लेख नहुने भएकाले परिमाण राष्ट्र बैंकको तथ्यांकभन्दा पनि बढी हुन सक्ने उनीहरूको अनुमान छ।
कोरियाबाट नेपाली कम्पनीले प्रत्यक्ष रूपमा रेेमिट्यान्स भिœयाउन पाउँदैनन्। कानुनी रूपमै रेमिट्यान्स कम्पनी स्थापना गर्न नसकिने भएकाले हुन्डी मौलाएको कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ।
कोरियाबाट नेपालमा रकम पठाउने दुई मात्र उपाय भएको जानकार बताउँछन्। पहिलो वैधानिक च्यानल बैंकबाट हो। उक्त प्रक्रिया अवलम्बन गर्न नचाहनेले अवैधानिक च्यानल हुन्डी प्रयोग गर्छन्।
हुन्डीवालालाई 'तलब आएपछि बुझाउँला, अहिले घरमा तुरुन्तै रकम खाँचो छ' भन्दा पनि पैसा घर पठाइदिने भएकाले हुन्डीको लोकप्रियता बढेको भुक्तभोगी बताउँछन्।
विदेश गएका नेपालीले अघिल्लो आर्थिक वर्ष ६ खर्ब १७ अर्बबराबर रेमिट्यान्स पठाएको राष्ट्र बैंकको तथ्यांक छ। गत आर्थिक वर्षको जेठ महिनासम्म ५ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिसकेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए। अवैधानिक बाटो आउने रकम जोड्ने हो भने यो परिमाण अझ बढ्ने विज्ञहरूको अनुमान छ।
रेमिट्यान्समार्फत भित्रिएको रकमको झन्डै ९५ प्रतिशत अंश दैनिक उपभोग्य वस्तु, मोबाइल, लुगा, तथा मनोरञ्जनलगायतमा खर्च हुने गरेको छ। त्यो रकम पुँजी निर्माणका काममा जान सकेको छैन।
गत वर्षको शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पबाट क्षति पुगेका निजी भवन मर्मत सम्भार तथा पुनर्निर्माणमा पनि रेमिट्यान्स रकम खर्च हुने गरेको छ। यद्यपि उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको अर्थविद् बताउँछन्।
सबैभन्दा बढी रेमिट्यान्स मलेसिया, कतार, साउदी अरबबाट आउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। विदेशबाट नगदबाहेक सुन, मोबाइल, टिभीजस्ता भौतिक सामान पनि आउँछन्।
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जानेको संख्या पनि थपिएकाले रेमिट्यान्स प्रत्येक वर्ष बढ्दै गएको छ। यद्यपि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल भित्रिने रेमिट्यान्स वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेका थिए।
वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकम पुँजी निर्माणको काममा खर्च हुन नसके पनि परिवारको जीवनस्तर भने सुधि्रएको विज्ञहरूको भनाइ छ।
रेमिट्यान्सले कामदार, सरकार, रेमिट्यान्स कम्पनी र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। सरकारले रेमिट्यान्स कम्पनी र बैंकलाई कामदारको कमाइ सुरक्षित रूपले परिवारसम्म पुर्याउने वैधानिक माध्यम तोकेको छ।
दोस्रो जनआन्दोलनयता मात्रै झन्डै २५ लाख र त्यसअघिसमेत गरी झन्डै ४० लाख नेपाली रोजगारी सिलसिलामा विदेश गएको औपचारिक तथ्यांक छ।
प्रकाशित: १० श्रावण २०७३ ०२:०९ सोमबार