५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानी जुट्न नसक्दा फुकोट अलपत्र

लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्वतयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो।

‘डिपिआर तयार अवस्थामा छ। पहुँच सडक पनि पुगेको छ। कर्णालीमा राजमार्ग आसपासमै पर्छ। आयोजनालाई चाहिने अधिकांश जग्गा अधिग्रहण भइसकेको छ। बिडिङ डकुमेन्ट समेत तयार छ,’ आयोजनाप्रमुख हिरामान वाइबाले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) पनि तयार पारेर विद्युत् विकास विभागमा पठाएका छौं। रेडी टु मुभको अवस्थामा छौं। तर त्यसकालागि स्रोत छैन ।’

उनका अनुसार इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन फाइनान्सिङ (इपिसिएफ) मोडल, कम्पनी खडा गरेर स्वदेशी बैंक तथा वित्तीय लगानीबाट निर्माण, विदेशी लगानी ल्याउनेलगायतको मोडलमा छलफल नभएको होइन। विभिन्न मोडलमा छलफल भएको हो तर त्यसको टुङ्गो लाग्न सकेको छैन। बोर्डले कस्तो मोडलमा निर्माण गर्ने भन्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिक निर्णय यसमा महŒवपूर्ण हुन्छ। कुन मोडलमा जाने भन्ने निर्णय राजनीतिक निर्देशनका आधारमा हुनेछ।’ आयोजना निर्माणका लागि ९२ अर्ब रूपैयाँ लाग्ने अनुमान छ। जसमा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी हुनेछ।

भारतीय कम्पनीको आँखा

‘यो आयोजना भारत सरकारको स्वामित्व रहेको एनएचपिसी लिमिटेड इण्डियाले आँखा लगाएको छ। यो त्यही कम्पनी हो, जसले ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको सेतीनदी-६ (एसआर-६)को लाइसेन्स हात पारिसकेको छ। ‘भारतीय कम्पनी आयोजनाका विषयमा पटकपटक छलफलका लागि आएको छ। राजनीतिकस्तरमा पनि उसैले दिने तयारी जस्तो बुझिन्छ,’ आयोजनाका एक इन्जिनियरले भने, ‘अब बन्ने सरकार कस्तो बन्छ र उसले गर्ने निर्णयमा भर पर्छ।’

चिनियाँ र कोरियाली कम्पनीसमेत आयोजना विकासका लागि प्रस्ताव लिएर आउने गरेको उनले बताए। उनका अनुसार चिनियाँ कम्पनी एमसिसी, भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगै नेसनल थर्मल पावर कर्पोरेसन लिमिटेड (एनटिपिसी) र कोरियाली कम्पनीले प्रस्ताव हालेका छन्।

प्रस्तावित यो आयोजनाले करिब हजार रोपनी जग्गा डुबानमा पार्छ। करिब ९२ प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ। साइट क्याम्प निर्माणका लागि करिब १ सय ३५ रोपनी जग्गाको आवश्यकता पर्छ। आयोजनाबाट निस्कने माटो, ढुंगा (मकिङ) व्यवस्थापन, पहुँच मार्ग निर्माण लगायतको कामका लागि करिब ३ सय रोपनी जग्गा चाहिन्छ।

अहिले जग्गाको मूल्यांकन भएर वितरण प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी आयोजनाको सीमांकनमा पर्ने संरचनाको समेत मूल्यांकन गरेर मुआब्जा वितरण गर्न लागिएको छ।

प्रस्तावित आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ। आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नीत्रिवेणी गाउँपालिका-३ मा पर्छ। आयोजनाको पावर हाउस (विद्युत् गृह) सान्नीत्रिवेणी–१ भाउरेकुनामा प्रस्ताव गरिएको छ।

अहिले टेष्ट अडिट टनेलको काम चलिरहेको छ। ५ सय २० मिटर पावर हाउसका लागि र १४० मिटर हेडवक्र्सका टेष्ट अडिट टनले खन्नुपर्छ। अब ५० मिटर अडिटको काम बाँकी छ। ’बिस्फोटक पदार्थ थप चाहियो। अनुमति लगायतको प्रक्रिया गर्नुपर्‍यो। अब अघि बढ्छ,’ आयोजना प्रमुख हिरामान वाइबाले भने, ‘छिट्टै हामीपूर्व तयारीको काम सक्दैछौं। अडिट टनेलको कामपनि सकिँदैछ ।’ आयोजनाको विस्तृत अध्ययन नेपाल विद्युत् प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो।

प्रकाशित: ७ पुस २०७९ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App