अझ जटील प्रश्न गरिब को हुन्? ती कहाँ छन्? यो प्रश्नको उत्तर नेपालमा खोज्न थाल्नुभयो के यसको जवाफ पाउन सकिन्छ होला? म भन्छु, सरकार र सरकारका निकायले त गरीबको परिभाषा नै अलग अलग र आफ्नो आफ्नो मन्त्रालय र विभाग अन्तर्गत आफ्ना आफ्ना कार्यक्रमलाई मेलखाने गरी बनाएका छन्। यसो हुँदा १५ भन्दा बढी नै मन्त्रालय अन्तर्गत सयौं गरिब लक्ष्यित कार्यक्रम आफ्नै ब्याख्या गर्दै र आफ्नै ढंगले चलेको देखिएको छ। अनि के हुन्छ भने एउटै गाउँमा र एकै घरमा कैयौं कार्यक्रम पुगेको पनि छ– तर कुनै विकट गाउँमा, कुना काप्चामा, दूर दराजमा रहेका बस्ती वा घरमा कोही पनि पुग्दै नपुगेको अवस्था पनि यथार्थ हो। राज्यको कुनै कार्यक्रम वा व्यक्ति त्यो ठाउँमा पुगेको हुँदैन।
अनि हाम्रो तथ्यांकले गरिबी दर यति (२५.१ %) र उति भन्न छाडेको छैन। २०४७ सालमा प्रजातन्त्र प्राप्ति गर्दा गरीबी दर ४०% को हाराहारीमा थियो। आज गरीबी दर २५.१% छ भन्ने गरिन्छ। र भनिन्छ, 'यो समयमा नेपालको गरीबी १५ % ले घट्यो!' यसलाई आर्थिक प्रगतिसँग तुलना गर्ने काम हुन्छ। भनिन्छ हाम्रो देशको आर्थिक प्रगतिको कारण हामी गरिबी दर घटाउन सक्षम भएका हौँl कसैले भन्दैन कि, हाम्रो देशमा यो २५ वर्षमा जनसंख्या यति दरले वृद्धि भयो। नेपालमा यो भूभागमा यति गरीब थिए र तीमध्ये यो यो धनी वर्गमा परिणत भए र यो यो अझै गरिबनै छन्।
हाम्रो देशमा तथ्याङ्क बोल्दै बोल्दैन। ५ वर्ष, १० वर्षमा केही तथ्याङ्क लिने काम हुन्छ स्याम्प्लिङ मेथोलोजीबाट र त्यो एउटा रिपोर्टमा मात्र सीमित हुन्छ।
नेपालमा धेरै बिपत्ति आउँछन् र जान्छन् पनि। मलाई लाग्दैन कि हामीले बिपत्तिबाट सुधार्ने मौका लिन सकेका छौं। सिन्धुपाल्चोकको एउटा गाविसको एउटा वार्ड नै पहिरोले झर्योौ र भोटेकोशीलाई छेक्यो। कैयौं घर बिलाए। नेपाल सरकारसँग कुन कुन घर थिए त्यो वार्ड मा भन्ने तथ्याङ्क छैन। अब राहत लिएर जाने मान्छेले कसलाई चिन्छ? जो भेट्यो वरीपरि त्यसैलाई नै देला। यो त एउटा सानो उदाहरण होl के हाम्रो राज्य सक्षम हुनु पर्दैन? के हाम्रो राज्यले आफैँले केही गर्नु पर्दैन? खाली विदेशीले नै हाम्रो सबै काम गर्दिन्छन्? किन गर्लान्? हामीले हाम्रो पक्ष सबल बनाउने कहिले? हामी धेरै प्रश्न गर्छौं हाम्री कसैले राम्रो काम गर्यो भने राम्रो भन्न सक्दैनौं। नराम्रो गरेको रहेछ भने पनि देखेको नदेखै गर्छौं।
किन हो किन हामी परिवर्तनलाई आत्मसाथ गर्न चाहेका छैनौं। परिवर्तनले हाम्रो जागिर नै जान्छ कि? परिवर्तन भयो भने हामी भोलि खान नै पाउँदैनौं कि! भन्ने चिन्ताले पनि परिवर्तनलाई रोक्नतिर लाग्छौं। मलाइ लाग्छ यो परिवर्तनसँग हामी डराउन जरुरी छैन। परिवर्तन आजको आवश्यकता हो। भोलिका सन्ततिले भन्लान हाम्रा पुर्खाले केही गर्न नसक्ने रहेछन्। सबै काम हामीलाई नै छाडेका रहेछन! त्यसैले आजको आवस्यकता र आजको विपत्तिको हामीले आजनै सामना गर्नुछ। भोलि आउने बिपत्ति भोलिनै हेरौंला भनेर अघि बढ्नु पर्ने समय आएको छ। हामी आफ्नो आफ्नो कमि र कमजोरीलाई सुधार्दै बढौं। हामी नेपालीको प्रगतिलाई दुनियाँले रोक्न सक्दैन।
प्रकाशित: २ असार २०७२ ००:२० बुधबार