कोरोनाका कारण सबैतीर मौनता छाएको छ । यहि मौनताको सागरमा केही दिन यता ‘त्यो पर्दैन’ को तरङ्ग उठ्न पुग्यो । सामाजिक सञ्जालहरु, फेसबुक, ट्वीटर, टिकटक जताततै ‘त्यो पर्दैन’ ले भरिएका छन्। गत वैशाखको ३१ गते दुई बजेबाट ‘त्यो पर्दैन’ बजार लिन थालेको क्रम अहिले पनि कम भएको छैन।
विशेषतः तेस्रोपटक प्रधानमन्त्री हुने निश्चित भएपछिको औपचारिकता ग्रहण गर्नका लागि उपस्थित भएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले गराएको सपथको क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांशलाई ‘स्किप’ गरे। ‘प्रतिज्ञा गर्छु’ को सट्टा ‘त्यो पर्दैन’ भनेलगत्तै सबैतिर भाइरल बनेको वाक्यांशकै कारण सपथको हप्तादिन नबित्दै ‘प्रधानमन्त्रीको पुनः सपथ मागसहित रिट’ परेको छ, त्यसको संख्या पनि चार पुगेको छ। ती रिटको सुनुवाई कसरी हुन्छ ? त्यो भने हेर्न बाँकी छ।
एउटा औपचारिक कार्यक्रम, त्यो पनि सपथजस्तो निक्कै महत्वपूर्ण कार्यक्रममा देशको मुख्य पदमा पुगेका व्यक्तिबाट त्यो किसिमको वाक्यांश फुत्किनुलाई विभिन्न कोण, प्रतिकोणबाट हेरिएको छ। यो राष्ट्रिय विषय मात्र हैन, अन्तर्राष्ट्रिय विषय पनि हो। प्रधानमन्त्रीको सो वाक्यांशलाई कतिपयले गैरजिम्मेवार भएको, कतिपयले बफादार नभएकोजस्ता टिप्पणीहरु हुन थालेका छन्। वास्तवमा प्रधानमन्त्रीको त्यो वाक्याशंप्रति ‘आम जनता खुसी छैनन्, जनताहरु सन्तुष्ट छैनन्’ भन्ने सावितीहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पढ्न, सुन्न र हेर्न पाइन्छन्।
‘त्यो पर्दैन’ वाक्यांश फुत्किनुले सरकारको प्राथमिकतालाई पनि अप्रत्यक्ष रुपमा लक्षित गरेको छ। देश नयाँ भेरियन्टको कोरोना महामारीको कारण विल्कुलै नयाँ खालका समस्याहरुसँग जुधिरहेको छ, जनता दैनिक नयाँ खालका समस्याहरुसँग लडिरहेका छन्। यस्तो विषम परिस्थितिमा पनि सरकारमा जान रुचाउन मन गर्ने, त्यसमै आफ्नो जीवन देख्ने दलका नेताहरुको प्राथमिकता बास्तवमा जनताको जीवन रक्षातर्फ केन्द्रित भएको देखिँदैन।
मात्र, ओठेबोलीले जनताको आवश्यकता बनेको अक्सिजनसहितको उपचार अहिले सम्भव देखिएको छैन, यसका लागि कागजमा, बोलीमा हैन, साँच्चिकै व्यवहारमै पनि त्यसको कार्यान्वयन जनताले चाहिरहेका छन्। वास्तवमा जनतालाई सरकारमा जो आओस्, त्यसको खासै चासो र चिन्ता हुन्न, उनीहरुको चिन्ता र चासो त आफ्नो गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारसँग हुने गर्दछ। यस्तो हुनुको कारण जनताको चेतनास्तर कम भएर हैन, बरु यस्तो निराशा हुनुको कारण स्वयम् सरकारमा जाने, गएका दलहरुको स्वभाव, चरित्र, उनीहरुको व्यवहार हो। अहिलेसम्म सरकारमा गएका दलहरुले जनताहरुको जीवनमा ‘क्रान्ति’ ल्याउने खाले नीति केही नबनाएकै कारण आज देशको यो अवस्था भएकोमा थोरैको मात्र सन्देह रहला। नत्र बहुमत जनता त सरकारको रबैयादेखि दिक्क मात्र छन् र सरकारलाई धिक्कादै कहिलेकाहिँ त ‘जुन जोगी आए पनि कानै चिरेका...’ भनी सराप्छन् पनि।
आफू तेस्रोपटक प्रधानमन्त्री हुनुभन्दा तीन दिन अघि मात्र संसदमा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै मुखबाट उच्चारण भएको ‘त्यो पर्दैन’ गिज्याइ रहेको छ। उसै दुईतिहाइको मत पाएर प्रधानमन्त्री भएका ओलीले जन भावनाअनुसार काम गर्न नसकेको मात्र नभएर ‘आफ्नै कारण’ समृद्ध नेपाल, सुखी नेपाली नभई, दरिद्र नेपाल दुःखी नेपाली बनाएको, उखानले देश बनाउन खोजेको, कोरोनाको उपचारका लागि बेसार पानी र अम्बा उपयोगी भएको जस्ता विषयले बढी आलोचना खेप्न बाध्य बनाएको छ। यस्तो परिस्थितिमा प्रधानमन्त्री बनेका प्रम ओलीलाई नयाँ भेरियन्टको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र न्यूनीकरणका लागि ‘त्यो पर्दैन’, ‘जेसुकै होओस्’ को पन्छिने सुविधा पटक्कै छैन।
प्रकाशित: ३ जेष्ठ २०७८ ०९:०३ सोमबार