सानोमा बाजेले भनेका कुरा मानसपटलमा अझै ताजै छन्। उनको कुरा झन्झन् सान्दर्भिक हुँदै गएझैँ लाग्छ। बाजेले बारीमा वन्यजन्तु तर्साउन राखिएको बुख्याँचा देखाउँदै भनेका थिए, ‘दुरुस्तै नेता जस्तो देखियो।’
उनको कुरा मैले बुझिनँ। जिज्ञासा राखिहालेँ, ‘नेता भनेको के हो बाजे ?’ रेडिमेट उत्तर आइहाल्यो उनको, ‘देश चलाउने मान्छे क्या !’ अझै मेटिएन मेरो जिज्ञासा। फेरि सोधेँ, ‘अनि नेताले दौरा सुरुवाल, ढाका टोपि, कोट लगाउँछन् त ?’
‘अँ हो त नेताको पहिरन यस्तै हुन्छ। अझै चस्मा भएको भए ठ्याक्कै नेता नै हुन्थ्यो।’ उनले मलाई फेरि बुझाए। त्यतिबेला सायद ५ कक्षातिर पढ्थेँ म।
विदाको समय र बिहान–बेलुका खेतबारीमा पाकेको अन्नबाली कुर्न लगाउँथे उनले मलाई। चराचुरुङ्गी र बाँदर धपाउने मेरो जिम्मेवारी थियो। म तन्नेरी हुन थालेपछि भने बाजेको कामबाट आजित हुन थालेँ। मैले अनेक बहाना बनाउन थालेपछि बाजेले एक दिन घोषणा गरिदिए, ‘आजदेखि तैँले खेतबारी कुर्न पर्दैन। मैले एउटा जुक्ति लगाएको छु। तर्साउने मान्छे (बुख्याचा) बनाएर राखिदिउँला बारीमा।’
गाउँगाउँमा सिँहदरबार मात्र पुगेको छैन। सिहदरबारसँगै राजा–रानी पनि पुगेका छन्। नयाँ जोगिले धेरै खरानी घस्छन् भने जस्तै नयाँ बुख्याचाहरुको पनि चुरिफुरि कम्तिको छैन।
बाजेले आफ्नो भएभरका पुराना लुगाहरु जम्मा गरे। खुब मेहनतका साथ चिटिक्क परेको बुख्याचा बनाए। त्यसपश्चात् मेरो काम खेतबारीमा जहाँ अन्न पाकेको छ, त्यहीँ बुख्याचा लगेर राख्ने।
त्यतिबेला पनि गाउँघरतिर ठुटे नेताको कमी थिएन। एक दिन चुनावको रौनक निकै लागेको थियो। मलाई पनि बाजेले नेताको भाषण सुन्न लगे। जीवनमा पहिलो पटक मैले नेता देखेँ। बाजेले बनाएको बुख्याचा र नेताको पहिरन करिब–करिब मिल्दोजुल्दो थियो।
नेताले भाषण सुरु गरे, ‘तपार्इंहरुलाई के आवश्यक छ ? बिजुली ?’ कार्यक्रममा सहभागी अधिकांसले एउटै स्वरमा भने, ‘हो..!’ नेताले मञ्चबाट उतिबेलै पारित गरिदिए। सबैले जोडले ताली ठोके। अर्को के आवश्यक छ ? उनको प्रश्न थपियो। ‘मोटर बाटो ?’ त्यसमा पनि सबैले ताली पड्काए–२०५४ तिरको चुनावताका।
म अहिले पनि ति कुराहरु सम्झन्छु। मेरो घर गोरखा सदरमुकामबाट करिब ५० किमिको दक्षिणमा पर्दछ। त्यतिबेला गोरखाको दक्षिणी भागमा मनकामना बाहेक अन्य क्षेत्रहरुमा बिजुलीबत्ती पुगेको थिएन। मोटरबाटो त झन् टाढाको कुरा।
चुनाव सकिएपछि गाउँलेहरुले नेताको कुरा पत्ताएर भकाभक सालको पोल काट्न थाले। त्रिशुली पारि चितवनको पृथ्वीराजमार्गबाट बत्तिको पोल गाड्न थाले। जवकी त्यहि पारि राजमार्गको छेउछाउको बस्तिहरुमा समेत बिजुली बत्तिको सुविधा थिएन। सालको पोलमा धमिरा लाग्यो। ति नेताले बोलेको बाचा पूरा भएन। आखिर बत्ति, मोटरबाटो पुग्न गणतन्त्र नै पर्खनुपर्यो। पछि ति नेता भ्रष्टाचारको आरोपमा जेल चलान भए।
हामी अध्यारो भएपछि टुकी बालेर पढ्थ्यौँ। आमा बुबाले मट्टितेल सकिने डरले टुकी पनि धेरै समय बाल्न दिँदैनथे। हतारहतार खाना खाएपछि टुकी फुकेर निभाउँथे। कुटीको उज्यालो निभेपछि कि सुत्ने र निन्द्रा नलागे बाजेको कथा सुन्ने काम हुन्थ्यो मेरो।
म सानैदेखि अलि चञ्चले र धेरै बोल्ने स्वभावको थिएँ। बाजेले कहिलेकाहीँ ठट्टा गरेर ‘तँ चाहीँ नेता नै हुने भो’ भन्थे। घरमा कोहि नौलो मान्छे आयो भने पनि बाजेले सानोमा जैशी (ज्योतिष) ले नाम राख्ने बेलैमा सानोतिनो नेता बन्छ भनेको सुनाउँथे।
विद्यालय जीवनको उत्तरार्धतिर वातवरण त्यस्तै बन्दै गयो। सानोमा बाजेले भनेर या अरु कुनै कारणले मैले जीवन बुझेदेखि चाहिँ केहि मात्रामा म भित्र राजनीति प्रतिको मोह कता न कता पक्कै थियो। राजनीति सोचेजस्तो पनि रहेनछ। न मेरो कुनै पुस्ताले राजनीति गरेका थिए न त मेरो समुदायकै रुची थियो।
विद्यालय जीवन पार गरेपछि क्याम्पस पुगियो। क्याम्पसको हामोलले विद्यार्थी राजनीतिमा पनि लागियो। कलकलाउँदो उमेर, दश वर्ष युद्ध गरेर शान्ति प्रक्रियामा आएको पार्टी, त्यसमा पनि उति बेलाको सबैभन्दा ठूलो पार्टीको कार्यकर्ता। छाडिदिउँ त्यतिबेलाको जोसको कुरा। राजनीति बुझ्नु र जान्नु त धेरै टाढाको कुरा। आफूलाई नेतृत्व गर्ने नेताहरुले भनेको कुरा त सबै ठिक लाग्ने। झन् केन्द्रिय स्तरका नेताले प्रशिक्षण दिने रे भनेपछि त बुर्लुक्क उफ्रेर ४ घण्टाअघि कार्यक्रम स्थल वरिपरि पुगिहाल्ने। नेताहरुको भाषण र प्रशिक्षणको शैली भने पटक्कै फरक थिएन। प्रत्येक कार्यक्रमहरुमा उही कुरा दोहोरिन्थ्यो।
जनजाति भएकै कारणले होला सायद सडकमा आन्दोलन गर्दा अगाडि नै उभ्याउँथे। अनि त्यतिबेला आन्दोलनका आर्कहरु तोकिएका हुन्थे। बानेश्वर, सहिदगेट लगायतका स्थानहरुलाई मुख्यस्थान मानिन्थ्यो। एक दिन म लगायतका साथीहरु शहिद गेटको वरिपरि थियौ। हाम्रो टिमलाई सरकारी गाडि देख्ने साथ फुटाउने आदेश थियो। नेतृत्वले हामीलाई सिहदरबारबाट मन्त्रीको गाडि निस्किएको सङ्केत गर्दै अवरोध गर्न निर्देशन दिए। हामी हातमा इट्टा र ढुङ्गा लिएर तयारी अवस्थामा बस्यौँ। नभन्दै केहि समयमै शहिद गेट नजिक झण्डावाला गाडी देखियो। मैले ख्यालै नगरि इट्टा प्रहार गरेँ। इट्टाले गाडीको एउटा ढोका खोल्नै नमिल्ले गरि लागेछ। खासमा त्यो गाडी नेताको नभै शसस्त्र प्रहरीको माथिल्लो निकाएको मानिस चढेको गाडी रहेछ। हामी त्यहाँबाट भाग्यौँ।
भोलिपल्ट आन्दोलनको समीक्षा गर्न पार्टी कार्यालयमा बोलाए। सुरुमै मेरो इन्चार्ज मसँग आक्रोशित बने ‘भोटेको बुद्धि छैन, पुलिसको गाडी र मन्त्रीको गाडी पनि चिन्दैनस् ?’ नेतृत्व प्रति कटाक्ष गर्ने आदत ममा थिएन। म बैठक भरि मौन बसेँ। पार्टीले उक्त गाडी फुटाएको भन्दै करिब ८० हजार रकम तिर्नु परेको रहेछ। बैठक पूर्णतया ममानै केन्द्रित रह्यो।
बेलुकी डेरामा खासै निदाउन सकिनँ। राजनीतिमा कार्यकर्ता हुनुको पीडा उत्तिकै थियो। नबुझी राजनीति गर्दाको फल यस्तै हुन्छ भन्ने लाग्यो। राजनीतिप्रति वितृष्णा पैदा हुन थाल्यो। केहि दिन पश्चात् बिदाको सदुपयोग गर्दै घरतिर लागेँ।
बाजे रोगले थलिएको करिब छ महिना भैसकेको थियो। बाजेले सायद राजनीतिमा लागेको थाहा भएर होला, ‘राज्नीति–साज्नीति गर्न हुदैन’ भनेर सम्झाए। ‘आफ्नो जीवन राम्रो बना, नेता भनेको त सानोमा मैले तलाई बनाएदिने बुख्यचाजस्तै हो।’ बाजेले थपे, ‘बुख्याचा बन्न सके त राम्रै हो तर बुख्याचा बोक्ने मान्छे मात्रै बन्ने हो भने छाडिदए हुन्छ।’
बुख्याचाको काम त तर्साउने मात्र हो। त्यसले बिगार्दा पनि बिगार्दैन र सपार्दा पनि सपार्दैन। तर हाम्रा देशका बुख्याचाहरुले त देशलाई सयौ ठाउँमा भ्वाङ पार्न भ्याएका छन्। राजनीतिमा मात्रै होइन सबै क्षेत्रमा बुख्याचाहरुको बिगबिगी छ। त्यसलाई नियन्त्रण गर्ने कसले ?
नेता र राजनीतिले नागरिकलाई तर्साइ मात्र रहे। जनताहरुले शासक र शासन पद्धतिबाट कहिल्यै विकास र निकास पाउन सकेनन्। शासकहरु बुख्याचा जति पनि बन्न सकेनन्। शासन व्यवस्थासँगै बुख्याचाको पनि रुपहरु फेरिइरह्यो। अझ बुख्याचाले कहिसम्म तर्साउने हुन् ? सम्झँदा पनि पट्यार नै लाग्छ। नतर्साउने बुख्याचा बोकेर हिड्नेहरुको पनि हालत उस्तै छ।
गाउँगाउँमा सिँहदरबार मात्र पुगेको छैन। सिहदरबारसँगै राजा–रानी पनि पुगेका छन्। नयाँ जोगिले धेरै खरानी घस्छन् भने जस्तै नयाँ बुख्याचाहरुको पनि चुरिफुरि कम्तिको छैन।
सडकै नभएको ठाउँमा पनि गाडि किनेका छन्। सदरमुकाममा डेरा खोजेर नयाँ सिँहदरबार गाउँमै बनाएका छन्। आफूखुसी कर्मचारी भर्नाको क्रम जारि छ। राजधानीको सिँहदरबारले पठाएका कर्मचारी उनलाई मन पर्दैन। उस्तै परे बाटो बाटै कार्यालयको मुख देख्न नपाई कर्मचारी फर्काइदिन्छन्। सकेसम्म प्रमुख प्रशासकीय पनि आफैँले नियुक्ति गर्न खोज्छन्। चेकमा हस्ताक्षर गर्न पाउन पर्यो भन्दै कुर्लने बुख्याचाहरुको पनि सिँहदरबारमा उत्तिकै बिगबिगी छ।
पुरानो राज्य व्यवस्था फेरेका हामी नेपालीले नयाँ राज्य व्यस्थामा टोलटोलमा छोटे राजाहरु पाएका छौँ। देशको एउटा राजा फाले पनि टोलटोलमै राजा पाउने हामी जनताले आफूलाई भाग्यामानी ठानौँ कि अभागी? बाजेले बनाएको बुख्याचा र छिमेकीले बनाइदिएका बुख्याचाजस्तै नेतामा कहिले आउला अन्तर? यही प्रवृत्तिबाट समृद्धि र समाजवाद नयाँ पुस्ताले चाख्न पाउला त?
प्रकाशित: २६ माघ २०७५ ०५:५८ शनिबार