गुलाफ र उनी
टकटक गर्दै उनी गएको सङ्केतस्वरूप बजेको जुत्ताको आवाज बिस्तारैबिस्तारै वातावरणमा बिलाउँदै गयो । पूर्णरूपमा फक्रेको कमलको फूलजस्तो उनको मुस्कान भने यतै कतै छरिइरह्यो मेरो कोठाभरि, अझ उज्यालो आभा बनेर । मुस्कानको मीठो आलोकमा म मुस्काइरहेको थिएँ उनले हातमा राखिदिएको औषधी र रातो गुलाफ बोकेर । म फूलको सोखिन, उनी जब पनि हरेकपटक एउटा ताजा गुलाफ उनको हातमा हुन्थ्यो मेरा लागि । जसबाट सुन्दरताको दिव्यता र हलुका सुवास पोखिइरहेको हुन्थ्यो । अनौठो नाता थियो गुलाफसँग मेरो । कति चाँडै बितेछन् दिनहरू मलाई गुलाफको बानी परेको पनि । कति चाँडै दशकौँ बितेछन् उनी मेरो जीवनको अङ्ग भएको पनि ।