१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सबैको जीवनमा बाआमाको खुसी कहाँ मिल्छ र!

पुस्तक

अन्जना पौडेल अनुश्रुति

सबैको जीवनमा आमाबाको खुसी लेखेको हुँदैन। या त पुर्पुरोमा छंदैछैन। एउटा फोटोमा मानिसको सिंगो चित्र,चरित्र सबै लुकेको। यो रहस्यमयी जीवन। बाआमा पढ्दापढ्दै मुटु गाँठो पर्छ। आँखामा पानीको पोखरी डम्म हुन्छ। विगतको घाउ सम्झन, भन्न र सुन्न मन छैन। तर दश बर्से जनयुद्ध सम्झदा मुटु फक्कै फुक्लेर बाहिर निस्किन खोज्छ। किनकि त्यो बेला जनयुद्धबाट अछुत सायदै कुनै घर र मान्छे थिए होलान्। माओवादी र राज्यको दोहोरो मारमा परेर सर्वसाधारण जनता पिल्सिनुपर्‍यो? यतिसम्म भयो बेथिति भयो कि बसिरहेको बास र खाइरहेको गाँस छोडेर भागेर कुनै शहर अथवा विदेश पलायन हुनुपर्‍यो।

राजनीतिले जनताको मानसिक,सामाजिक,आर्थिक र सांस्कृतिक जीवन नै खलबल पारिदियो।

बाबाको फोटो हेरेर आँखाबाट आँसु पगार्न लाखौ लाख टुहुरा आज यही देशमा छन्। आँसुको घुट्को पिएर सन्तानको खुसी र सुखको आशामा हन्डर र दुख र समाजको अपहेलना सहँदै यही सामाजिक परिवेशमा सन्तान हुर्काइरहेका लाखौ आमा छन्। त्यसमाथि भौगोलिक विकटतामा शिक्षाको न्यानो घाम ताप्न पाउनु ठूलो कुरा हो। गुरुको भूमिका पढाउनु मात्र  होइन पढ्ने लेख्ने हुटहुटी जगाइरहनु पनि हो।

बाआमा त्यस्तो उपन्यास  हो जुन प्रत्येक बाआमाले पढ्नै पर्छ।

आमाले बाआमा दुवैको कर्तव्य पूरा गर्छिन्। आफ्नो भोक,तिर्खा र निद्रा र थकान भुलेर, बालुवा बोकेर,निमेक गरेर छोरालाई पढाइ, बढाइ, हुर्काइ धनगढी शहरमा उच्च शिक्षा पनि पढाउँछिन्। छोराले उतै घरजम गर्छ। सन्तान जन्माउँछ अनि आमालाई शहरमा ल्याउँछ। तर आमा मानसिक र शारीरिक रूपमा कमजोर हुन्छिन्। जब आमा गुहुमुतमा डुब्दै हुन्छिन्। छोरा उनै आमाको कथा लेख्न घरबाट पर गएर बस्छ। छोराको बेवास्तापछि बुहारीको बोझ भएर बस्न मन भएन। आमा सुटुक्क घरै छोडेर हिंडिदिन्छिन्। डाक्टर दाजुको कहानीले जो कोहीको हृदय पग्लिन सक्छ। आमाबा जीवित भगवान् हुन्। सबैको भाग्यमा आमाबाको सुख लेखेको हुँदैन र सबैको भाग्यमा सन्तानको सुख पनि लेखेको हुँदैन।

बाआमाप्रतिको दायित्वबाट हामी सन्तान पन्छिन हुँदैन। बाआमाका आशा  र भरोसा आखिरीमा सन्तान नै त हुन् नि। बाआमा हुँदाहुँदै कुनै सन्तान टुहुरा जसरी बाँच्न नपरोस् अनि छोराछोरी हुँदाहुँदै कुनै बाआमा बेवारिसे जीवन बाँच्न नपरोस्।

गन्नी को गुहु खाए जस्तो कोही सन्तान हुन नपरोस्।

सुदूर पश्चिमदेखि पोखरासम्मको अनि विदेशको भूगोल र सामाजिक परिवेशलाई समेटेर लेखिएको यो उपन्यास साँच्चिकै नेपाली बाआमाको उपन्यास हो। रामलाल जोशीको हातबाट लेखिएको यो उपन्यास आम नेपाली बाआमाको कथाव्यथा हो। बुकहिलबाट प्रकाशित बाआमाका बाह्र खण्डले बाह्रै विचार दिएका छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App