३१ श्रावण २०७९ मंगलबार
कला

तितेमाछा त्राण

अनुभूति

अक्षर

साउनको अन्तिम साताका केही दिन झरीमा रुझिरहेका थिए। त्यही बेला खबर आयो, फलैचाको इँवा खोलामा तितेमाछा आयो रे। यो खबर पत्रकार गणेश साम्पाङले सुनाए।

‘जाने हो तितेमाछा हेर्न?’  

‘जरुर जाने।’

मैले साहित्यकार तथा खोजकर्ता भवानी तावालाई सुनाएँ। तावादाइ पनि तयार हुनुभयो। हामी थियौँ पाँचथरको सदरमुकाम फिदिममा। जानु थियो उत्तरी याङवरक गाउँपालिकाको फलैचा। हिउँदमा यो ठाउँ त्यति धेरै टाढा होइन, तर आँखा नझिम्काई पानी परिरहेकै थियो।

हामी बाइकमा जान तयार भयौँ। फिदिमदेखि ४० किलोमिटरमा रहेको गणेशचोकदेखि मेची राजमार्ग छाडेर पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा हाम्रो यात्रा अघि बढ्यो। मध्यपहाडी लोकमार्गको १० किलोमिटर यात्रापछि कच्ची सडक सुरु भयो। हिलोमा ठेल्दै, लड्दै बाइकको यात्रा गर्नु पनि रमाइलै हुन्छ।  

फलैचाको बजार पुग्दा साँझ झपक्क परेको थियो। तितेमाछा पाउन कठिन नै रहेको भन्दै बाटोमा भेटिएकाहरूले हामीलाई निरास बनाउन खोज्थे। चन्द्र माङ्मुको घरमा पुग्दा निक्कै रात परेको थियो।

‘तितेमाछा आयो भनेर कसले सुनायो सरहरूलाई?’ चन्द्र दाइको प्रश्न थियो। अचेल तितेमाछा कम मात्र पाइने हुँदा हल्ला नगरिँदो रहेछ। चन्द्र दाइको सिकुवामा बसेर तितेमाछाको गफ भयो। गाउँलेहरू भेला भएका थिए। तितेमाछा हराउँदै गएकोमा उनीहरूमा औधी चिन्ता थियो। केही वर्ष अगाडि थुन्सेका थुन्से पाइने माछा अहिले मानोमा पनि पाउन कठिन भएको उनीहरूको भनाइ थियो। विगत जे भए पनि हामी भविष्यतर्फ फर्किने छौँ। गाउँलेहरूको भनाइ थियो, ‘भविष्यमा माछा नै देख्न नपाइने हो कि।’

नजिकै इँवा खोला बगेको आवाज सुनिन्थ्यो। पानी रह्यो। अग्लो पहाडको काखमा हाम्रो बास थियो। पाहुनालाई भनेर तोङ्बा र तितेमाछा आयो। तोङ्बाले छुँदै गएपछि गफ पनि गजबले हुने नै भयो। खाना पनि तितेमाछाको झोलसँग खाइयो। ओहो, क्या स्वाद!  

देश विदेशमा तितेमाछा कोसेली बनेर पुगेका छन्। रैथाने यो माछाको अनेकन विशेषताका अनुभव सुनाउनेहरू पनि भेटिन्छन्। ऐतिहासिक तथा सांस्कृतिक महत्व यो माछाको रहेको छ। तर, तितेमाछाको कथा पनि तितै बन्दै छ। तितेमाछा फूल पार्न आएर फर्किंदा खोकी (माछा पार्न मालिङ्गो चोयाबाट बुनेको सामाग्री) मा पार्ने गरिन्छ। त्यहाँ बासिन्दा वर्षेनी तितेमाछा घट्दै गएको बताउँछन्। केही वर्षको प्रयासमा यो पल्ट तितेमाछा मारेको हेर्न र तस्बिर खिच्न हामी फलैचा पुग्यौँ। बिहान अबेरसम्म सुतिन्छ कि भन्ने पिर थियो।

बिहान साढे चारबजे चन्द्र दाइले उठाउनुभयो। झोला बोकेर लुङहङ भन्ने ठाउँतर्फ लागियो। बाटो अझ्ठ्यारो, मोबाइलको उज्यालो खोलातर्फ लाग्यो। ‘ठुलो पहरो छ, चिप्लियो भने सिधै खोलामा’ चन्द्र दाइको यो भनाइ सुनेर डर त लाग्यो नै।  

खोला छेउमा रहेको लुङहुङ ओडारमा चारजना सुतिरहेका थिए। उनीहरू तितेमाछा रुग्न बसेका रहेछन्। छेउमै मुहान रहेछ। मुहानको मुखमा खोकी राखिएको थियो। खोकीलाई सेउलाले छोपेर राखेको। खोलो बेगले बगिरहेको थियो। इँवा खोला प्रसिद्ध तिम्बुपोखरीबाट आएको हो। उनीहरू केही दिन अघिदेखि नै ओडारमा सुत्दा रहेछन्। पहिले यसरी माछा रुग्नु पर्दैनथ्यो रे। ‘पहिले त सलल तितेमाछा निस्किन्थे, अहिले त लुकाएर राख्नुपर्ने अवस्था छ। यसरी रुग्नुपर्छ,’ त्यहाँमध्येका एक केदारनाथ बेघाले अनुभव सुनाउँदै भने, ‘यही तरिका हो भने केही वर्षपछि तितेमाछा देख्न पनि पाइँदैन।’

साउन/भदौमा तितेमाछा फूल पार्न आउने रहेछ। खोला छेउमा रहेको मुहानमा गएर फूल पारेर फर्किंदा माछा मार्ने गरिँदो रहेछ। ‘फूल पारेको २१ दिनमा बच्चा खोलामा मिसिन्छ,’ चन्द्र दाइले भने, ‘यी खोलाहरूको गहना हो तितेमाछा।’  

पञ्चायतकालदेखि नै तितेमाछा मार्नका लागि ठेक्का लगाउने चलन हो। एकपल्ट गाउँपालिकाले पनि ठेक्का लगायो। तर, माछा हराउँदै गएपछि ठेक्का लगाउन छाडियो। तितेमाछाका बारे मुन्धुममा समेत उल्लेख छ। मुन्धुमका अध्येता लछामि शेर्मा पापोले मुन्धुममा तितेमाछाका बारेमा गरिएको चर्चा सुनाउँदै भने, ‘घरमा युमा महारानी रिसाउनुभयो वा दुःखी हुनुभयो र घरमा दुःखी बिरामी भएको देउताले छोएको व्यक्तिले खुट्टयायो भने तितेमाछाको भुरा जिउँदै पक्रेर ल्याएर कासको बटुकामा राखेर अछेता, धुपसँग पुकार्नुपर्छ। माछा उफ्रिँदा युमालाई खुसी पारेको भान हुन्छ। फेरि जिउँदै जहाँबाट ल्याइएको हो, त्यहीँ छोड्नुपर्छ’। लिम्बु भाषामा तितेमाछालाई मेख्ना भनिने उनले जानकारी दिए।  

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र लिम्बुवानबीच १८१४ सालमा भएको सम्झौतामा लिम्बुवानको अधिकार क्षेत्रमध्ये एक तितेमाछा रहेको चन्द्र दाइले सुनाए। लिम्बुवानका अधिकारमा पर्ने विभिन्न विषयहरूमध्ये तितेमाछा, भिरमौरीसमेत रहेको चन्द्र दाइले बताए।  

‘तितेमाछाको लोककथा भेटिएको छैन। मैले खाजेको निकै भयो। पक्कै हुनु चै पर्छ,’ खोला छेउको ढुङ्गामा बसेका भवानी दाइको भनाइ थियो। उज्यालो हुँदै गएपछि खोकी निकालियो। खोलाछेउमा रहेको ढुङ्गामा प्लास्टिक ओछ्याएर माछा घोप्ट्याइयो। माछा देखेपछि रुग्न गएकाहरू खुसी भएका देखिए। ‘पहिले गाँउभरि माछा नै माछा गनाउँथ्यो, अहिले एक धार्नी पार्दा पनि खुसी हुनुपर्‍या छ’ केदारनाथको भनाइ गजबकै थियो। तितेमाछा सानोसानो आकारको हुन्छ, खाँदा भने तितोतितो तर मिठो हुन्छ।  

इँवा खोलाको पानीले मुख धोएपछि उकालो लागियो। चन्द्र दाइको घरभरि मान्छे थिए। उनीहरू तितेमाछा किन्न आएका रहेछन्। प्रदेशतिर कोसेली पठाउनुरहेछ धेरैलाई। चन्द्र दाइ र रुग्न गएकाहरूलाई माछा बराबरी भाग लगाइयो। तीन केजी माछा परेको रहेछ। यसपालि गाउँलेले माछा पाएनन्। केराको दाम्चाको भाँडो बनाएर माछा प्याक गरियो। नगनाओस् भनेर केराको दाम्चाको भाँडो बनाइदो रहेछ।

गाउँलेहरूका अनुसार खोलामा लगाइने करेन्टका कारण माछाको विनास भएको हो। खोलामा करेन्ट लगाउँदा सबै खाले जलचरलाई असर परेको उनीहरूको भनाइ छ। खोलामा करेन्ट लगाउने, जथाभावी निर्माणका काम, जलविद्युत आयोजनालगायतको असर तितेमाछालाई परेको अनुमान गरिन्छ। तर, यही कारण हो भन्ने ठोस अध्ययन देखिँदैन।

स्थानीयको भनाइ सुन्दा तितेमाछाको शत्रु करेन्ट भएको छ। करेन्ट लगाएर माछा मार्दा वंश नै सखाप हुने खतरा भएको चन्द्र दाइको गुनासो थियो। खोलामा करेन्ट लगाउनेलाई कारबाही गर्ने कानुनी व्यवस्था छ, तर कार्यान्वयन भएको छैन। जलचर संरक्षण ऐन २०१७ (पहिलो संशोधन २०५५) मा ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार, करेन्ट, विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन’ भन्ने उल्लेख थियो। सो ऐनको उक्त प्रावधान उल्लङ्घन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँचहजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।  

अहिले रैथाने माछा घट्दै जानुका विभिन्न कारणमध्ये करेन्ट लगाएर माछा मार्नु मुख्य रहेको नेपालमा खोलाका माछा संरक्षणमा काम गरिरहेको ‘महासिर’ नामक संस्थाका नेपाल प्रमुख सुसनमणि शाक्यको अनुभव छ। ‘माछा घट्नुका अनेकन कारण छन्। रैथाने माछा संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको छ,’ शाक्यको बुझाइ छ।

रैथाने तितेमाछा स्वास्थ्यवद्र्धक भएको विश्वास गरिन्छ। तितेमाछा ठुलो सङ्ख्या वर्षको एकपल्ट आएर तीनचार दिन रहेको अनुभव पाइन्छ। ‘पहिले रातभरि माछा निकाल्दा ६० धार्नीसम्म पथ्र्यो। अहिले त रातभरि रुँग्यो भने तीनचार केजी पर्छ।’ केदारनाथले अनुभव सुनाउँछन्। इँवा खोलाको लुङहङ, सिक्रे, चाङसिङ, इँवा ओडार, रवि खोलामा रहेका मुहानमा तितेमाछा पाइन्छ। यसका साथै मुवा खोलाका जोवारी, बिरुवालगायतका मुहानमा पनि माछा पाइन्छ। धेरै मुहानमा माछा देख्न पाइन छाडेको बताइन्छ।

इँवासँगै पाँचथर, ताप्लेजुङका विभिन्न नदीमा तितेमाछा पाइन्छ। सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको तितेमाछाको स्वादका पारखी धेरै छन्। यहाँका तितेमाछा विभिन्न देशमा कोसेली बनेर पुगेका छन्। वर्षेनी घट्दै गरेका कारण तितेमाछा लोप हुँदै जाने खतरा छ। तितेमाछा जोगाउनका लागि स्थानीय सरकारलगायतका निकायको ध्यान पुग्न आवश्यक छ।

प्रकाशित: ११ असार २०७९ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App