१४ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

गुरुकुलको काव्यरोहणको सातौं शृंखलामा कुन्ता शर्मा

विराटनगरस्थित आरोहण गुरुकुलको नियमित मासिक कार्यक्रम काव्यरोहणको सातौं शृंखलामा वरिष्ठ कवि कुन्ता शर्मा प्रस्तुत भएकी छन्। आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा शर्माले आफ्ना करिब डेढ दर्जन कविता वाचन गरिन्।

गुरुकुलले हरेक महिनाको पहिलो शनिबार एक जना अग्रज कविलाई आमन्त्रित गरेर कविता वाचन गराउँदै आएको छ। कवि शर्माले ‘आमा’ शीर्षकको कविता वाचन गरेर प्रारम्भ गरेको कार्यक्रममा ‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता वाचनबाट बिट मारेकी थिइन्।

उनले ‘म सडकको मान्छे’, ‘सम्राटको लुगा’, ‘फेदीलाई बिर्सन्छ मान्छे’, ‘नदी किनाराको रुख’, ‘कविको हत्या’, ‘विष वृक्ष’, ‘धातु’ कविता वाचन गरिन्। त्यस्तै कवि शर्माले ‘बिउ कुह्यो’, ‘कमसेकम सपना देख’, ‘बहिनीहरू अब विद्रोह गर्छन्’, ‘हामी सहँदैनौं’, ‘मौसमका कुरा गरौं’ र ‘आमालाई पत्र’ शीर्षकका कविता पनि सुनाउन भ्याइन्। सो अवसरमा कवि शर्मालाई आरोहरणका तर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरे।

२०७६ मंसिर ७ गतेबाट सुरु भएको काव्यरोहण कोरोना भाइरसको संक्रमणका कारणबीचमा लामो समय रोकिएको थियो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए। अग्रजको सम्मानका लागि मासिक शृंखला सञ्चालन गरेको उनले बताए।

अर्का कार्यक्रम संयोजक धीरज राईका अनुसार हालसम्म बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा र तीर्थ श्रेष्ठले काव्यरोहणमा कविता वाचन गरिसकेका छन्। शुल्कसहितको कविता सुन्न विराटनगरसहित पूर्वका धरान, इटहरी, दमक, विर्तामोड, धनकुटालगायतका स्थानबाट दर्शकको बाक्लो उपस्थिति हुने गरेको छ।  

प्रकाशित: १ माघ २०७८ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App