५ वैशाख २०८१ बुधबार
कला

वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार!

गाउँमा पहिरो जान्छ

मानिस, घर, गाईवस्तु पहिरोले पुर्छ

मन्त्री र मन्त्रीहरू पजेरोमा

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।

अहिले सबैतिर प्राकृतिक विपत्ती छ, मेलम्ची र हेलम्बु, मनाङको विपत्तीको कथा नसकिँदै देशका विभिन्न ठाउँहरुमा पहिरो जाने, डुवानका संख्या बढ्न थालेको छ।  

हरेक वर्षजस्तो नेपालले वर्षात्को समयमा झेलिरहेको समस्या हो, बाढी, पहिरो, डुवान। त्यतिमात्र हैन, नेपालमा यी प्राकृतिक समस्यासँगै अर्को मानवीय समस्या पनि त्यही क्रमले अघि बढ्ने गरेको छ।

प्राकृतिक विपत्तीसँगै विपत्ती पर्यटनको संस्कृति पनि विकास हुने गरेको छ। यसको सुरुवात स्वयम् सरकारमा बस्ने दलहरु, नेताहरुबाट सुरु हुन्छ। उनीहरु विपत्तीको अवलोकनका लागि हेलिकप्टर चार्टर गरी पीडितहरुको दर्दनाक अवस्था हेर्न जान्छन्। सरकारले रकम खर्च गरी प्रतिवेदन तयार गर्छ, तर प्रतिवेदनले औंल्याएका समस्या समाधानका लागि कुनै पहल गर्दैनन्, जनताको आँसु रोकिएको हुँदैन, प्रतिवेदनको मसी सुकेको हुँदैन, कुनै मन्त्रालय, विभागको दराजमा थन्किसकेको हुन्छ। यो क्रम, अभ्यास अहिलेको हैन, धेरै पहिलेदेखि चल्दै आएको हो। किनकि सरकारमा जाने दलका नेताहरुले यसलाई नानीदेखि लागेको बानीको रुपमा विकास गरेका छन्। यसैले त विपत्तीमा पनि नेता भित्रभित्रै गद्गद् भइरहेको हुन्छ, उसले विपत्तीमा पनि आफ्नो स्वार्थ पूर्ति हुने अवसर देखिरहेको हुन्छ। यही यथार्थ बताउने कविता ‘प्रतिवेदनप्रेमी सरकार !’ को सुरुवाती अनुच्छेद हो, माथिको।

बागमति प्रदेशको बैठकमा जनताको समस्या सुनुवाई नभएको र यथासक्य छिटो हुनुपर्ने मागसहित सो कविता सुनाएका हुन्, प्रदेश सांसद सुरेन्द्रराज गोसाइँले। साहित्यमा विशेष रुचि समेत भएका भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद गोसाइँले सो कविता वाचन गरी प्रदेश सरकारको मात्र प्रवृत्ति औंल्याएका हैनन्, समग्र सरकारको प्रवृत्ति औंल्याउँदै सरकारलाई बिउँझिन समेत आग्रह गरेका छन्।उनी अगाडि भन्छन्,  

सुरेन्द्रराज गोसाइँ, कवि एवं सांसद, बागमति प्रदेश

बाढीले वस्ति डुबाउँछ

बाढीले वस्ति बगाउँछ

मन्त्री र मन्त्रीहरू हेलिकप्टरमा

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।

 

हावाहुरीले वितण्डा मचाउँछ

हावाहुरीले पुल उडाउँछ

एक बथान मन्त्री र मन्त्रीहरू  

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।

प्रतिवेदनले मात्र समस्या समाधान हुन्न, जब प्रतिवेदनमा उल्लेख भएका समस्याको समाधान गरिन्न। प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ, समस्यासँगै समाधानको उपाय खोजिन्छ, तर त्यसलाई कार्यान्वयनका लागि एक सिन्का भाँचिदैनन्, त्यो काम गर्नका लागि अवरोध खडा गर्ने अवरोधकहरु नेपालीका लागि सबैभन्दा ठूलो समस्या बनेको छ। कवि एवं सांसद गोसाइँ फेरि भन्छन्,

हरेक विपत्ति, हरेक भ्रमणपश्चात्  

सरकार प्रतिवेदन संसदमा प्रस्तुत गर्छ

मन्त्री र मन्त्री आकाङ्क्षीहरू ‘हुन्छ’ भनी निर्लज्ज डकार्छन्

र, फेरि अर्को प्रतिवेदन लेख्ने बैधानिकता माग्छन्।

 

मेरो सरकार प्रतिवेदनप्रेमी सरकार

प्रतिवेदन लेख्छ, प्रतिवेदन बुझाउँछ  

थाहा छैन, के खान प्रतिवेदन लेख्छ?

थाहा छैन, के खाएर प्रतिवेदन लेख्छ?

तर, मेरो सरकार निरन्तर प्रतिवेदन लेखिरहेछ।

हरेक साल बाढी आउँछ, सरकार प्रतिवेदन लेख्छ

हरेक साल पहिरो जान्छ, सरकार प्रतिवेदन फेरि लेख्छ

वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार!  

उनले कवितामार्फत् प्रतिवेदनको कार्यान्वयन गर्न अनुरोध गर्दै जसरी प्रतिवेदन बनाउँदा सरकारको उपस्थिति रहन्छ, त्यसरी नै हरेक दुःख, पीडा, समस्या, विपद्मा पनि सरकारको उपस्थिति हुनुपर्नेमा जोड दिएका छन्।

त्यसैले त प्रतिवेदननै प्रतिवेदनमा भेटिन्छ मेरो सरकार।

त्यसैले त बाढी पीडित, पहिरो पीडित भन्दैछन्

अन्नको काल पृथ्वीको भार  

सरकार, तँलाई धिक्कार!

हो, उनले भनेजस्तै गरी अहिले नेता, सरकारलाई धेरैले धिक्कारी रहेका छन्। सरकारले आफ्नो सिद्धान्तअनुसार काम गर्न सेकेको छैन, जनताको अपेक्षालाई कुल्चेर सरकार अघि बढ्न खोज्दैछ। विचार एउटा, व्यवहार अर्को हुँदा जनता निराश भइरहेका छन्। यो क्रमलाई बढ्न नदिन सरकारले वास्तवमा जनताले अनुभूत गर्न सक्ने योजना, विकास, नीति ल्याउनु जरुरी छ।

प्रकाशित: १९ असार २०७८ ०८:०३ शनिबार

पहिरो मेलम्ची र हेलम्बु