हिसिला यमीको पुस्तक ‘ हिसिलाःफ्रम रिभोलुसनरी टु फस्ट लेडी’ तीन भाग र ३८ अध्यायमा विभाजित छ। ‘पेन्गुइन र्यान्डम हाउस इन्डिया’बाट प्रकाशित यो अंग्रेजी भाषाको पुस्तक खासगरी दशवर्षे जनयुद्धको पृष्ठभूमिदेखि जनयुद्धको दौरान र माओवादी शान्ति प्रक्रियामा आएसम्म यमीले प्रत्यक्ष रूपमा भोगेका र देखेका घटना–परिघटनाको सांगोपांगो प्रस्तुति हो। यद्यपि यो पुस्तक हिसिलाको व्यक्तिगत जीवनका तितामिठा अनुभव, अनुभूति, भोगाइ, उतारचढाव, अपमान–सम्मान, निन्दा–प्रशंसा, दुःखसुख आदिसँग सम्बन्धित जस्तो पनि देखिन्छ।
काठमाडौंको मध्यभागमा एउटा सम्पन्न व्यापारिक घरानामा जन्मिएकी हिसिला स्थानीय सरकारी स्कुलमा पढ्दै थिइन्, यसै बेला आमाको मृत्यु भएपछि उनले दिदीको साथ र सहयोगमा भारतको कानपुरबाट स्कुले शिक्षा पूरा गर्छिन्। त्यसपछि इन्जिनियरिङ विषय अध्ययन गर्न भारतको राजधानी दिल्ली जाने मौका पाउँछिन्। यस्तो पृष्ठभूमिकी उनले चुनौतीपूर्ण, दुःखकष्टले भरिपूर्ण तरबारको धारमा जीवनलाई राखेर जनयुद्धको भुमरीमा आफूलाई समर्पित गर्नु सामान्य अवस्था थिएन।
दशवर्षे जनयुद्धलाई हामी सबैले एउटा साहसिक, चामत्कारिक, बलिदानीपूर्ण परिघटनाका रूपमा हेर्छौं। दशौँ हजार नेपाली जनताको उत्सर्ग, त्याग, तपस्या र बलिदानले दुई सय ५० वर्षसम्म शासन गरेको ब्राह्मणवाद र सामन्तवादको नाइके शाह वंशको अन्त्य गर्न सफल भयो, यो नेपालको इतिहासमा पक्कै पनि सामान्य परिघटना थिएन। उनी स्वयं लेख्छिन्, ‘पृथ्वीनारायणको एकीकरण अभियानपछिको एउटा चुनौतीपूर्ण, रक्तपातले भरिपूर्ण असामान्य परिघटना थियो।’
मृत्यु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ- यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् ! यिनीहरूको बीचमा भएको सौहार्दपूर्ण आपसी सम्बन्धका कारण बलिदानपूूर्ण जनयुद्धले सफलताको शिखर चुम्न सफल भयो होला ! तर, यो पुस्तक पढ्दै गएपछि थाह हुुन्छ, बलिदानीपूर्ण इतिहास बोकेको जनयुुद्ध शीर्षस्थ नेतृत्वबीच वैचारिक अन्तर्संघर्ष, शक्तिसंघर्ष र नेतृत्वका लागि लुछाचुँडी हुँदै राजनीतिक परिवर्तनका लागि भएको संघर्ष थियो।
पुस्तकको पहिलो भाग सात अध्यायमा विभाजित छ। पहिलो भागमा लेखिकाले नेपालमा जनयुद्धको आवश्यकता किन रह्यो, यसको पृष्ठभूमि र आफ्नो संलग्नताको पृष्ठभूमि कसरी तयार भयो भन्ने सन्दर्भ विस्तृत रूपमा उल्लेख गरेकी छन्। बाबुआमाले जहानियाँ राणाशासन अन्त्यका लागि जीवन समर्पित गर्दै संंघर्षपूर्ण जीवनयापन गरेको पृष्ठभूमि हुँदाहुँदै पनि हिसिला राजनीतिबाट अलग रही एउटा सामान्य घरानियाँ बालिकाको जीवन बाँचेको कुरा पुस्तकमा उल्लेख छ। सबैभन्दा कान्छो सन्तान आफूलाई आमाको मृत्युपछि दिदी र दाजुले कहिल्यै आमाको कमी महसुस हुन नदिएको र बुवाले समेत आफ्नो संघर्षको कथाव्यथा आफूलाई नभनेकाले सुरुमा आफू कुनै किसिमको राजनीतिक प्रभावमा नरहेको कुरा लेखिकाले स्विकारेकी छन्।
कानपुरको आइआइटी कलेजमा इन्जिनियरिङ अध्ययनरत दिदीसँग बस्दा त्यहाँको साधारण जीवनशैलीको प्रभावले उनले सामान्य जीवन जिउन सिकेको देखिन्छ। दिल्लीमा बाबुरामसँगको भेटपछि भने उनको जीवनमा राजनीतिक रूपमा उथलपुथल आयो। यमी स्नातक पढ्न स्कुल अफ प्लानिङ आर्किटेक्चरमा जाँदा बाबुराम त्यहाँ त्यही विषयमा स्नातकोत्तर गर्न आएका थिए। नेपालमा भएको राजनीतिक परिवर्तनको आन्दोलन, भारतमा भएका उत्पीडित नेपालीको दुुःखकष्ट र उनीहरूको पीडादायी भोगाइबाट परिचित बाबुरामसँग धेरै नेपालीको सम्बन्ध थियो। त्यतिबेला उनी अखिल भारतीय नेपाली विद्यार्थी संघको अध्यक्ष समेत भइसकेका थिए। त्यसैले उनलाई भेट्न आउने मान्छेको लर्को लाग्थ्यो। यही क्रममा एक नेपालीका माध्यमबाट बाबुरामसँग यमीको परिचय भयो। पहिलो भेटमा बाबुरामको प्रश्नले हिसिलालाई तरंगित बनाएको देखिन्छ। उनले सोधेका थिए, ‘तपाईं धर्मरत्न यमीको छोरी हो ?’
आफ्ना पिताको राजनीतिक पृष्ठभूिमको बारेमा हिसिलालाई थाहा थिएन। यस्तो अवस्थामा बाबुरामले त्यस्तो प्रश्न गर्दा उनी आश्चर्यचकित भएको आभास मिल्छ। यहीँबाट बाबुुराम र हिसिलाको भेटघाट बाक्लिँदै गयो, यो भेटघाट राजनीतिक हुुँदै वैवाहिक सम्बन्धका रूपमा स्थापित भएको प्रसंगलाई रोचक र मार्मिक ढंगले लेखिकाले प्रस्तुत गरेकी छन्।
बाबुरामलाई भेट्नुअघि हिसिलामा खासै राजनीतिक चेतना नभए पनि राजतन्त्रविरोधी धारणा भने अगाडिदेखि रहेको देखिन्छ। भारतमा अभ्यास भइरहेको गणतन्त्र, धर्मनिरपेक्षता र लोकतन्त्रको प्रभाव हिसिलामा पनि परेको थियो। नेपालको राजतन्त्र कानुनभन्दा माथि रहेको, पुरुष मात्र राजा हुन पाउने, आफ्नै घरमा पनि दाजुुले निजी स्कुलमा पढ्न पाएको र दिदीबहिनी सरकारी स्कुलमा पढ्न गएको देखेकाले हिसिलामा लैंगिक विभेदविरुद्ध धारणा पलाएको देखिन्छ। बाबुरामसँगको भेटपछि उनको धारणा अझै मजबुत हुन पुग्यो।
बाबुरामको विद्यावारिधिको अध्ययन पूरा नहुँदै हिसिला आफ्नो अध्ययन सकेर एक वर्ष दिल्लीमै काम गरेर नेपाल फर्किइन्। त्यसपछि इन्जिनियरिङ कलेज पुल्चोकमा अध्यापन गर्नुको साथसाथै पञ्चायत र राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय भइन्।
२०४६ को जनआन्दोलनपछि हिसिलालाई बेलायतमा स्नातकोत्तर अध्ययन गर्ने अवसर प्राप्त भयो। युनिभर्सिटीमा अध्ययन गर्न सुरु गरेपछि भने केही समय जीवन सामान्य रहन सकेन। एउटै कोठामा बन्दीजस्तो भएर अध्ययन प्रक्रियालाई अगाडि बढाउँदा मानसिक समस्याले सतायो। त्यसमाथि छोरीले स्कुलमा भोग्नुपरेको नश्लीय विभेद, छोरी साथमा भएकाले कोठा नपाएको पीडा, छोरी नेपाल फर्किन्छु भन्दा पनि आर्थिक स्रोतको लोभले पठाउन नसकेको बाध्यता आदि पनि पुस्तकको हिस्सा बनेको छ। उनी लेख्छिन्, ‘मैले मानुषीलाई भनेँ-हामीलाई पैसा चाहिएको छ। उनले बालबालिकाले पाउने भत्ता पाउँथिन्, जुन मैले कोटेश्वरमा बनाएको घर पूरा गर्नका लागि चाहिएको थियो।’
विभिन्न समस्याका बाबुजद छोरीको सहयोग र साथले बिस्तारै युकेको बसाइँ र अध्ययन पूरा गरेर देश फर्केपछि हिसिलाले घर बनाइन्, तर त्यो घर उपभोग गर्न पाएनन्। बाबुरामले नयाँ गणतान्त्रिक राज्य निर्माण गर्न जनयुद्धको बाटोमा अगाडि बढ्ने निर्णय गरिसकेका थिए। दश वर्षकी छोरीलाई आफन्तको भरमा छाडेर जनयुद्धको यात्रामा उनीहरू अगाडि बढ्छन्। भूमिगत जीवनको सुरुवात भारत प्रवेशबाट हुन्छ। सीमा काट्दाको पीडालाई अभिव्यक्त गर्दै उनी लेख्छिन्, ‘सीमा काट्ने बेला पछाडि फर्केर हेरेँ। मलाई महसुस भइरहेको थियो- मैले आफ्नो सामान्य र सुरक्षित जीवनको विगतका सेतुलाई जलाउँदै छु।’
पुस्तकको दोस्रो अध्याय जनयुद्धको दौरानमा भएका घटना परिघटनाको व्याख्या र विश्लेषणले भरिएको छ। उनी लेख्छिन्, ‘जनयुद्धले न केवल नेपालको राज्य सत्तालाई उल्टापाल्टा पारिदियो, मेरो जीवनमा समेत उथलपुथल ल्याइदियो।’
आन्दोलनमै जीवन व्यतीत भए पनि खुला रूपमा संघर्षमा संलग्न हुुनु र भूमिगत जीवन बाँच्नु आकाश–जमिनको अन्तर छ। नाबालक छोरीलाई छाडेर हिँड्नुको पीडा, भूमिगत बस्दाको पीडा, त्यसमा पनि प्रचण्डको श्रीमतीसँगको असमझदारीले थपेको अप्ठेरोको विस्तृत चर्चा, अन्तर्राष्ट्रिय ब्युरोको जिम्मा पाएकाले पार्टीको हेडक्वार्टरसँग प्रत्यक्ष सम्बन्ध, नेतृत्वको बीचमा भएको शक्ति संघर्ष, प्रचण्डको शक्ति केन्द्रीकरणका लागि भएका विभिन्न षड्यन्त्रकारी प्रयास, शीर्षस्थ नेताको विवाहइतरको सम्बन्ध, भारतमा बस्ने नेपालीको सहयोग र साथ, जनयुद्धमा महिला, दलित, जनजाति, उत्पीडित वर्गको साहसिक बलिदान, सेनाले गरेको अत्याचार, बाबुराम र आफूमाथि पार्टीले गरेको कारबाही र त्यसको मनोवैज्ञानिक असर आदिबारे चर्चा यस भागमा गरिएको छ।
नेतृत्वहरू (खासगरी तीनजना बाबुराम, प्रचण्ड र किरण)बीचको सम्बन्ध अत्यन्त संवेदनशील र जटिल भएको उनको विचार छ। उनी लेख्छिन्, ‘बाबुराम र किरणको बीचमा राजनीतिक दिशालाई लिएर निरन्तर संघर्ष भइरह्यो। यो कहिले पनि व्यक्तिगत झगडामा रूपान्तरण भएन। किरणले जडसूत्रवादी माक्सवादको वकालत गर्थे भने बाबुरामले सिर्जनात्मक माक्सवादकाे। प्रचण्डले भने कहिले किरण र कहिले बाबुरामतिर ढल्केर यी दुईको बीचमा भएको वैचारिक संघर्षको फाइदा लिई आफूलाई सधैँ शक्तिको केन्द्रमा राख्नका लागि संख्याको सुनिश्चित गर्थे।’
प्रचण्ड शक्ति पृथकीकरणको सिद्धान्तविपरीत शक्तिलाई केन्द्रीकृत गर्न चाहन्थे। पार्टी, सेना र संयुक्त मोर्चा सबैको नेतृत्वमा आफ्नो वर्चस्व कायम राख्ने प्रयास गर्थे। तर बाबुरामले यसको विरुद्ध निरन्तर संघर्ष गरेको हिसिलाको भनाइ छ। केही शीर्षस्थ नेता भारतमा गिरफ्तारीमा परेपछि भने बाबुुराम र हिसिलाको जीवनमा कालो बादल मडारियो। उनीहरू जनयुद्धभित्र आफैँ युद्धबन्दी भएर पीडादायी जीवन जिउन विवश भएको तथ्यलाई हिसिलाले मार्मिक रूपमा खुलाएकी छन्। प्रचण्डले बाबुरामको भारतपरस्त नीतिका कारण नेताहरू समातिएको आशंका गरे। त्यो पीडालाई अभिव्यक्त गर्दै हिसिला लेख्छिन्, ‘बाह्य दुश्मनविरुद्ध वर्ग संघर्ष गर्नुभन्दा बढी पीडा अन्तरपार्टी संघर्ष हुँदो रहेछ।’
जनयुुद्धले नेपाली जनताको उत्पीडनको मूल स्रोत राजतन्त्रको अन्त्य गरेर सामन्तवाद र ब्राह्मणवादको जरालाई खलबलाइदिएन मात्र, यसले आत्मसम्मान गुमाएर बहिष्कृत जीवनयापन गर्न बाध्य दलित, महिला, जनजातिलाई सम्मानपूर्वक जीवनयापन गर्ने एउटा आधारशिला समेत खडा गरिदियो। जनसेनाको अग्रमोर्चामा महिला जाने वातावरण जनयुद्धले बनायो। परिणामतः नेपाली सेनाले पनि महिलालाई सेनामा भर्ना गर्ने नीति ल्यायो। हिसिला लेख्छिन्, ‘यो जनयुुद्धले निर्माण गरेको ऐतिहासिक कदम थियो। ...जनयुद्धले महिला सशक्तीकरणतर्फ एउटा महत्वपूर्ण काम के गर्यो भने, यसले न केवल पुरानो राज्य सत्ताले निर्माण गरेको वर्ग र लिंगसँग जोडिएको उत्पीडनलाई उजागर गर्यो , यसले त महिलालाई नयाँ सत्तासँग परिचय गरायो, जहाँ महिला स्वतन्त्रताको सवाल क्रान्तिको सफलताको एउटा अभिन्न अंग हो।’
पार्टीले महिला र दलितलाई सेनाको अग्रपंक्तिमा स्थान दियो, तर राजनीतिक नेतृत्वमा उपस्थिति अत्यन्त न्यून रह्यो।
जनयुद्धको दौरानमा दलितको योगदान पनि विशिष्ट थियो भन्ने तथ्य पुस्तकमा उल्लेख छ। उनी लेख्छिन्, ‘योभन्दा अतिशयोक्ति हुँदैन कि जनयुद्धको दौरानमा दलितहरू बलियो आधारका रूपमा उभिएका थिए। उनीहरू न केवल उत्साहका साथ जनयुद्धमा सहभागी भए, उनीहरू पुरानो सत्ताले दमन चक्र चलाएको बेला सहयोगीको भूमिकामा समेत आफ्नो उपस्थिति जनाए। सेनाको कारबाहीका दौरानमा उनीहरूले माओवादी नेतालाई आश्रय र खाने–बस्ने व्यवस्था गरिदिए। जुन बेला कथित माथिल्ला जातिले आश्रय समेत दिन चाहेनन्। गरिबी र तल्लो जाति भनेर पीडा बोक्न बाध्य भइरहेको अवस्थामा पनि जोखिम उठाएर आश्रय दिए। सुरक्षित स्थानसम्म जान समेत सहयोग गरे।’
ग्रामीण क्षेत्रको दलित बस्तीको दयनीय अवस्थाको समेत पुस्तकमा राम्रो चित्रण गरिएको छ। जनयुद्धको दौरानमा नेपाली सेनाले गरेको निकृष्ट अत्याचारको उल्लेख पनि पुस्तकमा छ। आफ्नी दुई वर्षे छोरीको अगाडि बलात्कार गरेर आमाको हत्या गर्नु, महिलाको स्तन काटेर हत्या गर्नु जस्ता घटना सुुन्दा आङ नै सिरिंग भएर आउँछ, जसले यी सबै भोग्यो, उसको अवस्था कस्तो थियो होला ! यो परिवर्तन जुन बाँच्नेहरूले उपभोग गरिरहेका छन्, यसको पछाडिको इतिहास कहालीलाग्दो छ। हिंस्रक र रक्तपातपूर्ण छ।
विचारले मानिसलाई कति शक्तिशाली बनाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो, जनयुद्ध। चार फिटका महिला सेना पाँच फिटभन्दा अग्ला नेपाली सेनासँग युद्धमा लडेर उनीहरूलाई पराजित गरेको क्षण साँच्चै रोमाञ्चित थियो होला ! नेपाली सेनाले माओवादी योद्धालाई ढाई फुटे सेना भनेर अपमानित गरिरहेको अवस्था थियो। तर, ढाई फुटे महिला लगायतको सेनाले सय फुटे विचारसहित प्रतिकार गरेको प्रसंग पुस्तकमा आएको छ। मानिसको उमेर, जात, लिंग, वर्ण, उचाइ, धर्म, क्षेत्र केहीले पनि ऊभित्र अन्तर्निहित शक्तिलाई रोक्न सक्दैन भन्ने जनयुद्धले प्रमाणित गरिदिएको छ।
पुस्तकको तेस्रो भागमा माओवादी शान्ति प्रक्रियामा आउनुअगाडि राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध संसद्वादी राजनीतिक पार्टीसँग मिलेर गरेको संघर्षदेखि शान्ति प्रक्रिया, माओवादीको सत्ता आरोहण, पहिलो र दोस्रो संविधानसभा, आन्तरिक र बाह्य संघर्षका कारण माओवादी र प्रचण्डको असफलता, क्रान्तिको अवसान आदिलाई गम्भीर रूपमा विश्लेषण गरिएको छ।
जब वीरेन्द्रको वंश नाश भई ज्ञानेन्द्रको तानाशाहीतन्त्रको सुरुवात भयो, त्यहीँबाट माओवादीको गणतन्त्र नेपालको लक्ष्य साकार हुने अवस्था सिर्जना भइसकेको थियो, तर संसद्वादी दलको कमजोरीका कारण नेपाल गणतन्त्रमा रूपान्तरित हुन पुनः संघर्ष आवश्यक भयो। राजाले संसद्वादी दललाई भित्तामा पुर्याएपछि मात्र उनीहरू माओवादीसँग गठबन्धन गर्न बाध्य भए। १९ दिनको लामो संघर्षपछि राजा पछाडि हट्न बाध्य भए। राजतन्त्रको अन्त्य गर्ने एजेन्डा लिएर माओवादी जनयुद्धमा नगएको भए सायद राजतन्त्रको अवसान त्यति सहज थिएन। माओवादीको प्रयासले मात्र पनि यो सहज थिएन, राजतन्त्रको अन्त्यका लागि चारैतिरबाट माहोल बन्दै गएको थियो।
शान्ति प्रक्रियापछि जब माओवादी सत्तामा पुग्यो, जनतामा एउटा आशा पलाएको थियो- माओवादीको सत्तारोहणसँगै देशमा राजनीतिक रूपान्तरण हुन्छ, आर्थिक र सामाजिक विकासको लहर आउँछ। पहिलो संविधानसभाको निर्वाचनमा माओवादीलाई जनताले बहुमत दिएर पहिलो पार्टी बनाए। तर माओवादी अन्तरिम सरकारदेखि पहिलो र दोस्रो संविधानसभाको सरकारमा बस्दा समेत देशले खासै परिवर्तनको अनुभूति गर्न सकेन। केही राम्रा कुरा नभएका होइनन्। तर नेता र कार्यकर्ता मोलमोलाइ, भ्रष्टाचार, नातावाद, कृपावाद आदिमा रुमलिँदा माओवादीको साख बिस्तारै ओरालो लाग्न थाल्यो। जनयुद्धका बेला प्रचण्डले प्राप्त गरेको उचाइ बिस्तारै स्खलित हुन पुग्यो। प्रचण्डको अवसानको सन्दर्भमा हिसिला लेख्छिन्, ‘रुक्मांगत कटुवालको बर्खास्ती र कुलमान खड्काको नियुक्तिलाई राष्ट्रपति रामवरण यादवद्वारा अस्वीकार र एमाले असहयोगका कारण प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए। शान्तिप्रक्रियामाथिको किरणको असहमतिले झनै परिस्थितिलाई जटिल बनाइदियो।’
त्यसपछि प्रचण्डले किरणको सहरी जनविद्रोहको नीति अवलम्बन गर्न पुगे। ६ दिनसम्म काठमाडौंकेन्द्रित आन्दोलन भयो। यसले प्रचण्डको साखमा अझै गिरावट आयो। पछि बाबुराम प्रधानमन्त्री भएपछि विकास निर्माणको कामले केही गति लिन थालेको थियो। तर, पार्टीको सर्वसम्मतिमा भन्दा पनि प्रचण्डलाई अलग्याएर बाबुराम–किरणको गठबन्धनबाट बाबुरामको सरकार बनेको हुँँदा यो सरकार लामो समय टिक्न सकेन। उनी लेख्छिन्, ‘बाबुराम सरकारमा गएपछि किरण समूहले नै आफूले भनेबमोजिम बाबुरामले नगरेपछि आफ्नै सरकारको विरोधमा उत्रिए। आन्तरिक कलह नै बाबुराम सरकारको अन्त्यको मूल कारण थियो।’
माओवादी पार्टीभित्र भएको आन्तरिक कलहको सिकार स्वयं हिसिला पनि बन्न पुगिन्, उनलाई ‘एसियाकै भ्रष्ट महिला’ भनेर दाग लगाउने काममा स्वयं पार्टीभित्रबाटै षड्यन्त्र भएको देखिन्छ। यो खेल यतिमा सीमित भएन, पार्टी तीन टुक्रामा विभाजित बन्न पुग्यो। पार्टी असफल हुनुमा केही बाह्य कारण भए पनि मूल कारण आन्तरिक नै थियो भन्ने सन्दर्भमा उनी लेख्छिन्, ‘हामी ठूलो पार्टी हुँदाहुँदै पहिलो संविधानसभाबाट संविधान दिन असफल भयौँ।’
नेपालको राजनीतिक परिवर्तनको इतिहासमा जनयुद्धले व्यक्ति, परिवार, समाज र राष्ट्रको जीवनमा चारैतिरबाट उथलपुथल ल्याइदिएको थियो। उत्पीडनमा परेका सीमान्तकृत जनताले आफ्नै अधिकार सुुनिश्चित गर्न गरेको रक्तपातपूर्ण क्रान्तिको एउटा नमुना थियो, जनयुद्ध। यसले लाखौँ उत्पीडनमा परेका जनतालाई नेपाली राजनीतिको मूलधारमा ल्याउन र आत्मसम्मानपूूर्वक बाँच्ने आधार खडा गरिदिएको थियो। विकृतिका अनेकौँ पाटालाई यसले धक्का दिएको थियो।
जनयुद्धका केही नकारात्मक पाटा पनि छन्। यसले धेरैका घरबार उजाडिए, लाखौँ जनता आफ्नो थातथलोबाट विस्थापित भए, कैयौँ बालबालिका अनाथ भए, कति घाइते र अपांगका भए। हजारौँ होनहार नेपाली युवाले बलिदानी दिए, हजारौँ बेपत्ता छन्। शिव खेरले भनेका छन्, ‘निःशुल्क भोजन पाइँदैन।’ इतिहासको हरेक कालखण्डमा भएको सत्ता परिवर्तनको लडाइँमा लाखौँ मानिसले बलिदान गरेका छन्, यो स्वाभाविक पनि हो। कहीँ पनि शान्तिपूर्ण तरिकाले एउटा पक्षले अर्को पक्षलाई राज्य सत्ता हस्तान्तरण गरेको इतिहास छैन।
शीर्षस्थ नेतृत्वबीच भएको शक्ति संघर्ष, अन्तरकलह, सांस्कृतिक विचलनका कारण आफ्नै अस्तित्वलाई समाप्त गर्ने दिशातर्फ जुन रूपले माओवादी उन्मुख भयो, यसले हजारौँ उत्पीडित जनताका मुक्तिका सपना समेत तुहिने सम्भावना देखियो। केही उपलब्धि नभएका होइनन्, अहिलेको सवाल प्राप्त उपलब्धिलाई कसरी जोगाइराख्ने भन्ने नै हो।
प्रकाशित: १९ असार २०७८ ०४:५३ शनिबार