मेरा गीत ०३२ सालदेखि पत्रपत्रिकामा छापिन थालेका हुन्, ०३९ सालदेखि भने रेकर्ड हुन थाले। ‘निश्वास ए चाँडै थाकी न जा’ बोलको गीत राम थापाको संगीतमा मीरा राणाले गाउनुभएको हो, यो नै मेरो पहिलो रेकर्डेड गीत हो।
मैले ६० वटा जति चलचित्रमा गीत लेखेको छु। मेरा १६ वटा एल्बम पनि प्रकाशित छन्। सबैमा गरी मैले लेखेका पाँच सय गीत प्रचारप्रसारमा आएका छन्। आफूले लेखेका गीतमध्ये लोकप्रियताका आधारमा निम्न गीत सम्झन्छु।
‘यो सम्झिने मन छ’ हुलाकबाट पठाएको थिएँ
काठमाडौंमा कलेज पढ्दा (०३९ सालतिर) साथीहरूको प्रेमसम्बन्ध भएको चर्चा सुन्थेँ। कसैको प्रेम छिटै छुट्थ्यो। जसको छुट्थ्यो, छाड्नेले ‘मलाई बिर्सिदेऊ’ भन्थे। तर, बिर्सन सजिलो हुँदैनथ्यो। यही कुरालाई लिएर मैले गीत लेखेँ:
यो सम्झने मन छ, म बिर्सूं कसोरी,
तिमी नै भनिदेऊ हे जानी निठुरी..’
कलेज सकेपछि जागिरका सिलसिलामा म बैतडीमा थिएँ। बैतडी जानुअघि नारायणगोपाल (गुरुवाचार्य) सँग मेरो कुरा हुँदा उहाँले ‘दिनेश, राम्रो गीत लेखेपछि मलाई पठाइदेऊ है’ भन्नुभएको थियो। त्यही कारण मैले यो गीत उहाँलाई हुलाकमार्फत पठाएँ। पछि मेरो सरुवा कलैयामा भयो। काठमाडौं आएका बेला मैले उहाँलाई फोन गरेँ। उहाँले गीत चाहियो भन्नुभयो। मैले हुलाकबाट पठाइसकेको बताएँ। उहाँले बिर्सनुभएको रहेछ। ०४४ सालमा निस्केको गीति यात्रा भाग १ एल्बममा समावेश भई यो गीत बजारमा आयो।
‘तिमी यसै लजायौ’ले मलाई चिनायो
संगीतकार राम थापा म पढ्ने कलेजनजिकै डेरा गरेर बस्नुहुन्थ्यो। मैले पढ्ने नेपाल ल क्याम्पसमा चिया पिउन आइरहनुहुन्थ्यो। चिनाजानी त्यहीँ भयो। त्यसपछि मैले द्ुई गीतवटा गीत दिएँ। ती गीत थिए, ‘निश्वास ए चाँडै थाकी न जा’ र ‘तिमी यसै लजायौ।’
पहिलो गीत उहाँको संगीतमा मीरा राणालाई गाउन दिनुभयो। त्यो गीतबाट मैले ४० सालको रेडियो नेपालको आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट गीतकारको पुरस्कार पाएँ। राम थापा सर्वोत्कृष्ट संगीतकार हुनुभयो।
त्यहीबेला लिएको दोस्रो गीत ‘तिमी यसै लजायौ’ चाहिँ ०४० सालमा रवीन शर्माको स्वरमा रेकर्ड गर्नुभयो। यो गीत रेकर्ड भएपछि अत्यन्त लोकप्रिय भयो। करिब दुई वर्षसम्म यो गीत दिन नबिराई बज्थ्यो। यो गीतले नै रविन शर्मालाई गायक र मलाई गीतकारका रूपमा चिनाएको हो।
यो गीत बज्न थालेपछि मैले धेरैपटक देखेँ र सुनेँ पनि, कलेजबाट निस्कँदा युवायुवतीले ‘तिमी यसै लजायौ’ गुनगुनाउँदै निस्कन्थे, सिनेमा हलबाट पनि मान्छेहरू यही गीत गुनगुनाउँदै निस्कन्थे। कतिपय युवाले यही गीत गाउँदै युवती जिस्काउँथे। अहिले यो गीत २०–२५ जनासम्मले आ–आफ्ना स्वरमा रेकर्ड गराएका छन्। यसले पनि यो गीतको लोकप्रियता उजागर गर्छ।
रानीलाई मन परेको गीत
२०३६ सालमा मैले एउटा गीत लेखेँ:
सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन.
जस्तो भोग्यो उस्तै हुन्छ– देखे जस्तो हुन्न जीवन.
यसलाई गोरखापत्रमा पठाएँ, छापियो। जागिरका सिलसिलामा म कलैयामा थिएँ। काठमाडौं आउँदा रेडियो नेपाल गइरहन्थेँ। त्यहीबेला मैले नातीकाजीदाइलाई दुईवटा गीत दिएको थिएँ। त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य) कै गीत हुने गर्दथ्यो, त्यसकारण धेरैलाई यो चाँदनी शाहकै गीत हो भन्ने भ्रम पनि रहेछ। मलाई सम्झना छ, चाँदनी शाहको निधनपछि डा. रामदयाल राकेशले पनि यस गीतलाई चाँदनी शाहको लोकप्रिय गीत भनेर पत्रिकामा प्रकाशित गर्नुभयो। मैले आपक्ति गरेपछि उहाँले त्यसलाई सच्याउनुभयो। यो गीत रानीलाई भने मनपरेको गीतमध्येको थियो। त्यसबेला राजाको जन्मोत्सवमा रानीको फर्माइसमा गीतहरू बज्दथ्यो। रानीले २–३ वर्षसम्म यो गीत फर्माइस गर्नुभएको थियो।
नारायणगोपालसँगको पहिलो गीत
नारायणगोपालले गाउनुभएको मेरो पहिलो गीत हो– ‘तिमी जुन रहरले ममा फुल्न आयौ..’ उहाँले सबैभन्दा कान्छो गीतकारको गीत गाएको पनि सम्भवतः यही हो। यो गीत ०४१ पुसमा राजाको जन्मोत्सवका बेला रिलिज भयो। यो गीतको पहिलो ड्राफ्ट ०३४ सालमा गरेको हुँ, अन्तिम रूप भने ०३६ सालमा दिएँ।
एक दिन दिव्य खालिङले मलाई ‘नारायणदाइले भेट्न बोलाउनुभएको छ’ भन्नुभयो। त्यो भन्दाअगाडि पनि मेरो सामान्य चिनचान उहाँसँग थियो। त्यो भेटमा उहाँले गाउने भनिएको गीतको दुई शब्दहरूको मेलोडीको विषयलाई लिएर मतान्तर भयो। त्यसको करिब २०–२५ दिनपछि म घुम्दै रेडियो नेपालमा पुगेको थिएँ। रत्न रेकर्डिङबाट फ्mर्किंदै गर्दा नारायणगोपालसँग मेरो त्यहीँ भेट भयो। उहाँ बाइकमा हुनुहुन्थ्यो। मलाई देखेर बाइक रोकी मलाई अर्को नयाँ गीत छ कि छैन भनेर सोध्नुभयो। मैले गीत दिव्य खालिङले संगीतबद्ध गर्नुभएको नयाँ गीत छ भनेर बताएँ। उहाँले सोध्नुभयो, ‘तिमीलाई त्यो संगीत चित्त बुझेको छ त ?’ मैले ‘बुझेको छ’ भनेपछि उहाँ सीधै कोपुण्डोल जानुभएछ र दिव्य खालिङसँग दिनेशको नयाँ गीत टेप (रेकर्ड) गरिदिनु भन्नुभएछ। पछि यो गीत रेकर्ड भई ०४१ सालमा ‘द ब्लु नोट्स’ नामको नारायणदाइको लङ प्ले (एलपी रेकर्ड) रेकर्डमा समावेश भई बाहिर आयो।
‘यो सम्झने मन छ’ आम मान्छेले मनपराउने गीत हो भने योचाहिँ एउटा क्लासले मन पराएको गीत हो। यसलाई धेरैले रियाज गर्दा गाउनुहुन्छ भन्ने सुनेको छु। अहिले यो गीत सुन्दा म आफैँ अचम्ममा पर्छु, यस्तो किसिमको भावना कसरी आएको होला।
माओवादीमा चर्चित
०४६ सालअघि रेडियो नेपालमा मात्र गीत रेकर्ड हुन्थ्यो। मायापिरती र धार्मिक आस्था, राष्ट्रिय भावना र राजारानीसँग सम्बन्धित गीत रेकर्ड भए पनि सामाजिक सरोकारका विषय समेटिएका गीत रेकर्ड हुँदैनथ्यो। रेकर्ड हुनुअघि नै गीत पास गर्नुपथ्र्यो। ०४६ पछि पनि पुरानो ढंगमा गीत आइरहेका थिए। म भने गीतमा सामाजिक सरोकारका विषय पनि आउनुपर्छ भन्ने मान्यता राख्दथेँ। त्यही मान्यताका आधारमा मैले केही गीत लेखेको थिएँ। तीमध्येको एउटा गीत हो–
रक्सी बेचेँ, आलु बेचेँ, बेचेँ चिउरामासु
सबैभन्दा धेरै बिक्यो जोवनको हाँसो..
सुरुमा धेरै गायक–गायिका तथा संगीतकारले ‘यस्ता गीत (सामाजिक सरोकारका) चल्दैनन्’ भनेर रेकर्ड गर्न चासो राख्नुभएन। पछि यस्ता गीतहरूको एल्बम निकाल्ने गरी संगीतकार मित्र शक्ति वल्लभ र मैले खर्च मिसाएर सस्तोमा गीतहरू रेकर्ड गर्न थाल्यौँ, त्यही सिलसिलामा यो गीत शर्मिला बर्देवाले गाउनुभयो। ०५७ को प्रजातन्त्र दिवसका दिन कान्तिपुर रेडियोबाट सार्वजनिक भएको अनुभूति शीर्षकको एल्बममा यो गीत समावेश छ।
यो गीतमा मैले गाउँमा चिया/चमेना पसल (भट्टी) चलाउने चेलीलाई समाजले हेर्ने दृष्टिकोणलाई अगाडि सार्दै सुधारका लागि आग्रह गरेको छु। चलचित्र निर्देशक तुलसी घिमिरेले यो गीत सुनिसकेपछि यसमा आधारित सिनेमा बनाउने कुरा पनि गर्नुभएको थियो। त्यसमा म पनि सकारात्मक थिएँ। तर, केही कारणवश सिनेमा भने बन्न सकेन।
यो गीतको एउटा अर्को कथा पनि छ। माओवादी द्वन्द्वका बेला दाङ भन्दामाथि पाठ्य सामग्री लगायत माओवादीले चेक नगरी जाँदैनथ्यो रे। म त्यो बेला सहसचिव थिएँ। एकजना पत्रकार मेरो अफिसमै आएर भन्नुभयो, ‘दिनेशजी, तपाईं त माओवादीमा हिट हुनुहुँदो रहेछ!’ त्यो सुनेपछि म एक किसिमले अकमकिएँ। त्योबेला माओवादीमा हिट हुनु भनेको डराउनुपर्ने कुरा थियो। कुरा अर्कै रहेछ, यो गीतको क्यासेट उहाँहरूले गाउँगाउँमा बाँड्नुभएको रहेछ। यी गीतमा भएको न्याय र समान्तरको खोजी, विद्रोह, समाज परिवर्तनको चाहना आदिका कुराले उहाँहरूलाई यो आफ्नै कुराजस्तो लागेछ र डबिङ गर्दै क्यासेटहरू बाँड्नुभएको रहेछ। त्यसबाहेक जेलमा रहेका दिदीबहिनीले पैसा उठाएर यो क्यासेट किनेर सुनेको र मनपराएको जानकारी पनि मलाई छ।
‘पानी पानी भयो मेरो मन पनि’
एक दिन नलिना चित्रकारले मसँग गीत माग्नुभयो। मैले उहाँलाई धेरै गीत देखाएँ र एउटा छान्न भनेँ। उहाँले ‘पानी पानी भयो मेरो मन पनि’ बोलको गीत छान्नुभयो। सचिन सिंहको संगीतमा यो गीत ०५८ सालमा बजारमा आयो। नलिनाको ‘रङ’ भन्ने एल्बममा छ यो गीत। यसमा मैले एउटी यौवनाको मनोदशा, युवकप्रतिको आकर्षणलाई समेटेको छु। यो गीत युवाहरूका माझ निकै चर्चित छ।
निधारमा लर्काएर सप्तरंगी टीको
मेरा साथी राजेन्द्र शलभले चलचित्र ‘विजय–पराजय’ निर्देशन गर्ने कुरा भयो। र, मलाई गीत लेख्न अनुरोध गरियो। मैले यो चलचित्रका लागि दुईवटा गीत लेखेँ। त्योबेलासम्म दशैँ र तिहारबारे समग्र रूपमा गीत त लेखिन्थ्यो, तर भाइटीकाको छुट्टै गीत बाहिर आएको थिएन क्यार। मैले भाइटीकामै केन्द्रित भएर लेखेँ। यस गीतमा तिहारको सांस्कृतिक महत्व र दिदीभाइ, दाजुबहिनीको सम्बन्धलाई उतारेको छु। ठूलो पर्दाको चलचित्रका लागि लेखेको यो मेरो पहिलो गीत पनि हो। यो गीत शम्भुजित बाँस्कोटाको संगीत र हेमलताको स्वरमा २०४६ मा मुम्बईमा रेकर्ड भयो। विगत ५–७ वर्षयता मलाई भिडियो क्लिप आउने गर्छ, विदेशमा बस्ने दाजुभाइ–दिदीबहिनीले भाइटीकाका बेला युट्युबबाट यो गीत बजाएर भर्चुअल टीका लगाइदिएको। टिकटकहरूमा पनि यसपटक यो गीतको लोकप्रियता अधिक देखियो।
लैजा चरी मेरो खबर
चलचित्र ‘जूनतारा’का लागि मैले ‘लैजा चरी मेरो खबर’ बोलको गीत लेखेको हुँ। यो गीत चलचित्रमा प्रयोग पनि भयो। पछि संगीतकार न्ह्यू बज्राचार्य भाइले चलचित्रका लागि बनिसकेको यो गीतलाई आफूले नयाँ किसिमले बनाउने कुरा गर्नुभयो। त्यो बेला मैले रेकर्ड त नगरौँ होला भन्दै रहेँ। न्ह्यू भाइले धेरै जोडे गर्नुभएपछि मैले सोचेँ– नयाँ स्वर, नयाँ संगीत भएपछि गीत दिँदा के फरक पर्ला र रु त्यसपछि रेकर्ड गर्ने सिलसिलामा न्ह्यूभाइले योगेश्वर अमात्यलाई गाउन दिने कुरा गर्नुभयो।
आफ्नो मान्छे बाहिर हुँदा उसको यादमा एक्लोपन महसुस गरेकी नारीको भावना यस गीतमा ल्याउने कोसिस गरेको छु। त्यसैले नारी स्वरमै रेकर्ड हुनुपर्छ भन्ने मेरो सुरुको सोच थियो। पछि योगेश्वरभाइकै स्वरमा यो गीत २०६१ कात्तिकमा रेकर्ड भयो। अहिले लाग्छ, योगेश्वरभाइको गायकीका कारण यो गीतले नयाँ जीवन पायो। बेलायतको रोयल एल्बर्ट हलमा पहिलोपटक गुन्जिएको नेपाली गीत पनि यही हो। त्यहाँ योगेश्वर भाइले नै यो गीत गाउनुभएको थियो।
बोल बोल पाखाहरू
चलचित्र ‘झुमा’का लागि मलाई गीत लेख्न भनियो। मनाङको सेरोफेरोमा यो गीत लेख्नुपर्ने थियो। मैले पहाडी जीवन कल्पना गरेर कथाको आधारमा यो गीत लेखेको हुँ। यो गीतमा मैले स्थानीय लोकगीत पनि प्रयोग गरेको छु, जसले यो गीतलाई थप प्रभावकारी (सुन्दर) बनाएको छ। गीत भने यस्तो थियो–
बोल, बोल पाखाहरू,
हिउँ फुल्ने काखहरू,
किन होला हिजोआज,
बाटो छेक्छन् आँखाहरू।
यो गीतमा एउटी हुर्केकी गाउँले युवतीको भावना छ, जसलाई उसले प्रकृतिलाई साथी बनाएर पोखेकी छे। यो गीतलाई समग्रमा प्रेमको गीत हो भन्दा फरक नपर्ला।
यो गीत प्रकाश गुरुङको संगीत र सुक्मित गुरुङको स्वरमा ०४६ सालमा रेकर्ड भएको हो। मलाई के लाग्छ भने, योभन्दा पहिले निस्केको ‘वनमा फूल्याे फूलै फूल’ बोलको गीतमा धेरैले नृत्य गर्थे, त्यस्तै ‘बोल बोल’ पनि नाच्ने प्रकृतिको गीत बनेको छ। अहिले पनि गायिका सुक्मित गुरुङसँग कुरा हुँदा यो गीतको कुरा हुन्छ। यसको अर्को एउटा कथा पनि छ। गायक यश कुमारलाई यो गीत खुब मन परेको रहेछ। उहाँले आफ्नो फिल्म ‘छिरिङ’को सुटिङमा मनाङ पुग्दा यो गीतको पनि सुटिङ गरेर आउनुभएछ। काठमाडौं फर्केपछि उहाँले मसँग छिरिङ भन्ने चलचित्रमा यो गीत राख्नका लागि अनुमति माग्नुभयो तर मैले अनुमति दिन सक्ने अवस्था थिएन। निकै लामो संघर्षपछि चलचित्र झुमाका निर्माताबाट अनुमति पाएपछि यो गीत चलचित्र ‘छिरिङ’मा पनि प्रयोग भएको छ।
पहाडमा जाडो बढे
बहुदल आइसकेपछि (२०४७ सालमा) तत्कालीन नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीतहरूको एउटा एल्बम निकाल्ने प्रोजेक्ट बनायो। १० गीतकारलाई चुनिएको थियो, जसमा म पनि थिएँ।
२०३६ सालमा बहुदल र निर्दलबीच जनमत संग्रह भएको थियो। निर्दलको चिह्न पहेँलो र बहुदलले नीलो थियो। गाउँघरमा पनि यसको असर देखियो। हुँदाहुँदा केसम्म भयो भने, नीलो झन्डा गाडिएको घरमा बिहे भए पहेँलो झन्डा गाडिएको घरवालालाई नबोलाउने, त्यसैगरी पहेँलो झन्डा गाडिएको घरमा बिहे वा भोज आदि हुँदा नीलो गाडिएको पक्षधरलाई नबोलाउनेसम्म गरिन्थ्यो। यसरी सामाजिक सद्भाव नै खलबलिन पुगेको कुराले मेरो मस्तिष्कमा ठाउँ बनाइराखेको थियो। पछि त्योबेला खलबलिएको सामाजिक सद्भाव त संग्लियो तर मेरो मनमा त्यो कुरा अझै बाँकी थियो। मैले त्यही कुरा सम्झेर एकेडेमीको प्रोजेक्टका लागि गीत लेखेँ–
पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ।
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ।
(स्वर: स्वरूपराज आचार्य, संगीतः आलोकश्री)
यो गीतमा गोपाल योञ्जनले संगीत गर्दै छु भन्नुहुन्थ्यो, तर प्रतिष्ठानसँग त्योबेला आर्थिक अभाव भएर एकेडेमीको यो प्रोजेक्ट नै रद्द भयो। ०५९ सालमा कान्तिपुर टेलिभिजन स्थापना हुने भएपछि जीवा लामिछाने भाइले मलाई लोगो गीत चाहियो भन्नुभयो। मलाई स्मरण छ– कैलाश सिरोहियाजी, विनोद ज्ञवालीजी, जीवा लामिछाने र भूषण दाहाल भएर यो गीत रोज्यौँ। यो गीत स्वरूपराज आचार्यको स्वरमा र आलोकश्रीको संगीतमा कान्तिपुर टेलिभिजनको तर्फबाट रेकर्ड भयो।
उद्घाटनका लागि दरबारमा अनुरोध गरी पठाउँदा सोचेभन्दा चाँडै उद्घाटन गर्ने गरी दरबारले जानकारी पठाएपछि समय अभावका कारण यो गीतकोे छायांकन हुन पाएन र ०५९ सालमा रेकर्ड भएको यो गीत ०६१ सालदेखि रेडियो कान्तिपुरमा बज्न थाल्यो। त्यसपछि मैले ०६८ सालमा मेरो एल्बम ‘देशको गीत’मा यो गीतलाई समावेश गरेँ। यसको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिबाट आएको छ। मलाई अझै स्मरण छ– कोशीमा बाढी आउँदा धेरैजसो टेलिभिजन र रेडियोमा यही गीत बज्थ्यो। अर्को घटना, ०७२ को भुइँचालोपछि संसद् चल्यो, त्यतिबेला मलाई चिन्ने सांसदले मसँग यो गीतको शब्द सोध्थे र यो गीत आफ्नो भाषणको क्रममा समावेश गर्थे।
नेपालको वर्तमान संविधान पारित भई संविधानसभाका सदस्यले सही गरिरहनुभएका बेला त्यो दिनभरि नै संसद्मा दुई गीत बजिरहे– नेपाली हामी रहौँला कहाँ र पहाडमा जाडो बढे.. यो आफैँमा मेरा निम्ति गौरवको क्षण थियो। यो घटना नागरिक दैनिकले समाचारको रूपमा त्यसबेला सम्प्रेषण पनि गरेको थियो।
(निमेष पौडेलसँगको कुराकानीमा आधारित।)
प्रकाशित: २१ चैत्र २०७७ ०४:०५ शनिबार