नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।
अध्येताका नजरबाट उल्लिखित अग्रजमध्ये निधिको आदर्श, चरित्र र व्यवहारमा कति गान्धीवादी गुण रह्यो भनी केलाउन खोजिएको छ। आदर्शनगरी जनकपुरवासी महेन्द्र नारायणलाई किन गान्धीवादी भनेर स्मरण गरिन्छ? उनको जन्म दिनको अवसर पारेर अध्ययन गर्ने जमर्को गरिएको छ।गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रताका प्राप्तिको आन्दोलन चलिरहेको थियो। जयप्रकाश नारायण (जेपी) र राममनोहर लोहिया अग्रमोर्चामा थिए।
बिहार पुगेका बखत निधिको लोहियासँग भेट भएछ।लोहियाले भनेछन्, ‘म मारवाडी भएर राजनीतिमा लागेको छु, तपाँई कायस्थ भएर पनि व्यापारमा ?’ लोहियाको उक्त वचनले निधिलाई राजनीतिमा होमिन उत्प्रेरित गर्यो।जसरी गान्धीले गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु मान्थे, त्यसैगरी निधिले लोहियालाई राजनीतिक गुरु मानेका छन्।निधिले जसरी लोहियालाई आफ्ना राजनीतिक गुरु मानेका छन्, त्यसैगरी निधिका पुत्र विमलेन्द्र निधि (नेपाली कांग्रेसका नेता) ले स्वयं पितालाई आदर्श राजनीतिक गुरु मान्छन्।
नेता विमलेन्द्र निधिले भने, ‘पिताजीमा गान्धीको आदर्श र विचार मात्र नभएर आजीवन चरित्र पनि कायम रह्यो ।’गान्धीले जस्तै सत्य र अहिंसाको जगमा राष्ट्र पुनर्निर्माण हुनुपर्छ र त्यो पुनर्निर्माण गाउँबाट सुरु हुनुपर्छ भन्ने महेन्द्रनारायणको बुझाइ थियो। महेन्द्रनारायणले ०५४ वैशाखमा स्थानीय निकायमा दलविहीन प्रतिस्पर्धा हुनुपर्छ भन्दै विज्ञप्ति निकालेका थिए।विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि पटक–पटक मैले नेपाली कांग्रेस केन्द्रीय समितिमा पनि गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नु हुँदैन। यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउँदै आएको थिएँ।
तर जिम्मेवार साथीहरूले मेरो भावनालाई बुझ्न सक्नुभएन। गाउँ–गाउँबाट योग्य मान्छे पाखा लाग्दै जाने र दलको झन्डा बोकेका तर अयोग्य मान्छेले स्थानीय सरकारमा प्रतिनिधित्व गर्दै गए भने भोलिको नेपाल कस्तो होला ? स्थानीय निर्वाचनको सन्दर्भमा प्रजातन्त्रवादीका हैसियतले गाउँमा दलीय राजनीतिक अभ्यास हुनुहुँदैन। यसलाई हामीले समयमै निरुत्साहित गर्न सकेनौँ भने भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछन्। त्यसैले आफ्ना गाउँगाउँ, टोलटोलमा योग्य उम्मेदवारलाई विजयी गराई प्रजातन्त्रको अभ्यास गर्न सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा अपिल गर्दछु ।’
२००४ सालमा उनी सत्याग्रहका पक्षपाती रहे। ०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तारी दिए। ०१७ पुस १ गते नेपाली राजनीतिमा कालो इतिहासका रूपमा दर्ज छ। उक्त काण्डपछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय गर्यो। हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किएर गिरफ्तारी दिए ।
यद्यपि गान्धीको आदर्शलाई उनले जीवनमा उतारेका कैयौँ दृष्टान्त छन्। जसरी गान्धीले ‘ग्राम स्वराज’को कल्पना गरेर ‘ग्राम पञ्चायत’ अवधारणामा जसरी स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ भनेका छन्। त्यही विचारको जगमा निधिले पनि नेपालमा त्यो अभ्यास गर्न चाहे। तर, उनको त्यो विचार र चिन्तन कसले बुझ्ने ?
२००४ सालमा उनी सत्याग्रहका पक्षपाती रहे। ०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तारी दिए। ०१७ पुस १ गते नेपाली राजनीतिमा कालो इतिहासका रूपमा दर्ज छ। उक्त काण्डपछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय गर्यो।हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किएर गिरफ्तारी दिए। उनमा निहित अहिंसात्मक आदर्श विचार त्यसबखत पनि प्रकट हुन पुग्यो।निधि भारत प्रवासमै बसेर जोगिन सक्थे, तर स्वदेश फर्किएर गिरफ्तारी दिए। किन ? सत्याग्रहीको आदर्श गुण कायम राख्न। सच्चा सत्याग्रहीमा स्वदेशी, अपरिग्रह, निर्भय, आत्मसंयमी र आत्मानुशासनको गुण हुनपर्छ।त्यो गुण बोलीमा नभएर व्यवहारमा प्रकट हुनुपर्छ।
सच्चा सत्याग्रही त्यागी, आत्मसंयमी र अपरिग्रही हुनुपर्छ। चारित्रिक एवं नैतिक बल नभईकन कुनै व्यक्ति सत्यको मार्गमा हिँड्न सक्दैन। सत्यका अनुयायीमा मन, वचन र कर्ममा स्वनियन्त्रण गर्न सक्ने क्षमता रहन्छ। अहिंसा र सत्याग्रहबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। उल्लिखित गुणका कारण निधि अहिंसात्मक आन्दोलनका पर्यायी बने।
त्यसबखत नेपालमा पनि अहिंसात्मक आन्दोलन चलाउनुपर्छ भन्ने उनको मान्यता रह्यो।हिंसालाई पृष्ठपोषण गर्दै पद र प्रतिष्ठाको राजनीति उनले कहिल्यै गरेनन्।त्यसैले वर्तमान पुस्ताले निधिलाई स्मरण गरिरहन्छ। चिन्तक प्रदीप गिरिका अनुसार नेपाली कांग्रेसको इतिहासमा निधिको त्यो असहमति नै सत्याग्रहको वीजारोपण थियो।कालान्तरमा त्यो विमति ‘पुष्पित पल्वित’ भएर झांगियो।
त्यही असहमतिको जगमा ०४२ सालको सत्याग्रह हुन पुग्यो। ०४२ को जगमा ०४६ को शान्तिपूर्ण आन्दोलन हुन पुग्यो।गिरिले भनेका छन्, ‘०२१ मा मैले निधिसँग हिंसा र अहिंसाका विषयमा बहस गरेको थिएँ।निधिले प्रस्ट भन्नुभएको थियो, म त गान्धीवादी हुँ।’ उनको आदर्श, चिन्तन र चरित्रमा एक रूपता पाइन्छ।वर्तमान कांग्रेस नेतृत्वमा उल्लिखित गुणको अभाव छ।
त्यसबेलाका नेता बिपी कोइराला र सुवर्ण शमशेरसँग पृथक् मत राखेर कांग्रेस भएर बाँच्नु कल्पनाको बाहिरको विषय थियो।त्यसका निम्ति उच्चकोटिको आत्मबल र नैतिक साहसको खाँचो थियो। गिरिले निधिमा उल्लिखित दुवै गुण थियो भनेका छन्। बिपी, गणेशमान, किसुनजी, महेन्द्रनारायण, सिके प्रसाईं, योगेन्द्रमान शेरचन लगायत कैयौँ नेताको आदर्श र निष्ठाले कांग्रेसको राजनीति तप्त थियो। कांग्रेसका लागि त्यो युग स्वर्णयुग थियो।नेताहरूमा त्याग र समर्पणको उच्च संस्कार थियो।
०१५ सालको पहिलो संसद्मा किसुनजी सभामुख र निधि उपसभामुख बने। राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरणसँगै दुवैजना जेल परे। संयोग दुवैजना नख्खु जेलमा राखिए। दुवै अहिंसाका पक्षपाती थिए।‘जेलमै संसद् सञ्चालन गरौँ’ भन्नेसम्मको छलफल चलाएको स्मरण समकक्षी गान्धीवादी नेता स्व.रामहरि जोशीले यो स्तम्भकारलाई सुनाएका थिए।
०३३ पुस १६ गते बिपी, गणेशमान, शैलेजा आचार्य, केबी गुरुङ लगायत नेता राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै भारतबाट स्वदेश फर्किए। बिपीमाथि राज्य विप्लवका सातवटा मुद्दा थिए। ती मुद्दामा फाँसीको सजायसम्म हुन सक्थ्यो।बिपीमा निहित सुषुप्त गान्धीवादी गुण त्यसबखत एक्कासि प्रकट भएकामा शुभचिन्तक भयले त्रस्त थिए। बिपी बाँचुन्जेल निरंकुशताविरुद्ध संघर्षरत रहे।स्वदेशमा रहेर निरंकुशताविरुद्ध संघर्ष गर्नेहरूमा निधि अग्रपंक्तिमा थिए।निसन्देह गान्धीका अहिंसात्मक दर्शनलाई उनले जीवनभर अपनाए।निधि आजीवन ‘निष्काम कर्मवादी’ रहे।
यद्यपि कठिन कालखण्डमा पनि आस्थामा विचलित नभई ‘अनाशक्त योग’का साधक रहे। कांग्रेस स्थापनाकालदेखि नै निधि अहिंसात्मक राजनीतिका पक्षपाती रहे।नेता अर्जुन नरसिंह केसीका अनुसार ०४८ मा सम्पन्न आमनिर्वाचनपश्चात् निधिले पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिन चाहे। राजनीतिमा लागेकाहरू आफूले गरेको कामको प्रतिफल खोज्छन् र त्यही फल देखाएर सदियौँ राजनीतिबाट प्राप्त हुने पद र प्रतिष्ठाका लागि लालायित हुन्छन्।
तर, निधिमा कहिल्यै त्यस्तो चाह रहेन।झापा महाधिवेशनमा सभापति निर्वाचित किसुनजीले निधिलाई नै महामन्त्री बनाउँदै थप जिम्मेवारी दिए। ‘किसुनजीको विश्वासलाई निधिले निष्पक्षताका साथ पूरा गर्नुभयो,’ केसीले भनेका छन्, ‘त्यसबखत नेपाली कांग्रेसलाई एकताबद्ध बनाउँदै कार्यशैलीमा उहाँले पारदर्शिता अपनाउनुभयो ।’
जसरी गान्धीले भारतमा हिंसालाई सहारा बनाएनन्, त्यसैगरी निधिले हिंसाको राजनीतिसँग कहिल्यै सम्झौता गरेनन्।दुर्भाग्य सत्यलाई आचरणमा व्यक्त गर्ने राष्ट्रियताका पक्षपाती निधि कतिपय अवस्थामा पार्टीभित्रै शंकाको सिकार बन्न पुगे। ०५१ मा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरिरहँदा त्यसलाई रोक्न गणेशमानले निधिलाई प्रधानमन्त्री बनाउन चाहन्थे।गिरिजाप्रसादले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे। आफ्नो असहमतिका बाबजुद भएको उक्त निर्वाचनमा निधि उम्मेदवार बन्न चाहेनन्। बरु राजनीतिबाट विश्राम लिए।
०४७ सालको अन्तरिम सरकारमा निधि जलस्रोत र स्थानीय विकासमन्त्री बन्न पुगे।सरकारमा रहँदा पनि जनताको जीवनस्तरमा उनले दृष्टि पुर्याइरहे। पुत्र विमलेन्द्र निधिका अनुसार, तत्कालीन समयमा भारतका प्रधानमन्त्री, चन्द्रशेखर नेपाल आएका थिए। ‘उहाँ (पिता) जलस्रोतमन्त्री हुनुहुन्थ्यो।चन्द्रशेखरसँगको भेट र संवाद हामी नेपालीले थाहा पाउनुपर्ने किसिमको छ,’ विमलेन्द्र सुनाउँछन्।
निधिले सोधे, ‘चन्द्रशेखरजी, नदी शिरा और मठ्ठा क्या होता है, आप जानते है? आपका घर तो बलिया (बनारसनजिक) है न। वहाँ आपका खेती कौन देखता है ?’ चन्द्रशेखरले ‘परिवारका सदस्यले’ भन्ने जवाफ दिए। चन्द्रशेखरलाई निधिले भने, ‘घरमा खेती गर्नेलाई जानकारी होला, पानीको बाँडफाँडमा शिरा र मठ्ठाको मतलब के हुन्छ भनेर ।’
नेपाल र भारतबीच पनि कोसीको पानीमा त्यही सिद्धान्त लागू हुन्छ भनेर अन्तर्राष्ट्रिय सिद्धान्तको स्मरण गराउँदै कोसीको पानीमा नेपालको हक कायम गराउन उक्त संवाद भएको विमलेन्द्रले सुनाए। भारतीय प्रम चन्द्रशेखरले, किसुनजीसँग हिन्दीमै भनेछन्, ‘आप का जलस्रोतमन्त्री निधिजी बडे अलग मिजाज के है ।’ त्यो साहस अहिलेको नेतृत्वमा बिरलै पाउन सकिएला !
सच्चा सत्मार्गीको आत्मा मणिजस्तै शुद्ध र ‘स्फटिक’ रहन्छ।गान्धीमा जस्तै निधिमा पनि ‘स्थितप्रज्ञ’ स्वभाव झल्कन्छ।अन्धभक्त कार्यकर्ताको आत्मप्रशंसामा उनी कहिल्यै रमाएनन्। सरलता, सादगी र स्वच्छ छविप्रति सदैव सचेत रहे।०३२ को आरम्भमा संविधान सुझाव समितिलाई बहुदलीय व्यवस्था र बालिग मताधिकारको माग गर्दा निधि जनकपुरबाटै पक्राउ परे।
बालिग मताधिकार माग गर्नुले निधिमा राष्ट्रियता र प्रजातन्त्रप्रतिको निसंकोच आस्था प्रकट हुन्छ।गान्धीले सन् १९३२ मा पुना जेलमा रहँदा ब्रिटिस शासकसँग त्यसरी नै बालिग मताधिकारको प्रयोग र स्वतन्त्र रूपमा जनप्रतिनिधि चुन्न पाउनुपर्छ भन्ने माग गरेका थिए। भारतमा ‘पुना प्याक्ट’का नामले उक्त सम्झौता परिचित छ। त्यस दर्मियान ठीक त्यसैगरी नेपालमा खद्दरधारी निधिले शासकसँग निर्भीकतापूर्वक उक्त माग राखेको पाइन्छ।
०२१ मा जनकपुरमा पञ्चायतको कार्यक्रममा बोल्दै निधिले भने, ‘ऐन–कानुन लेख्दैमा देशमा परिवर्तन आउन सक्दैन।त्यसको इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ ।’ उक्त सन्दर्भ स्मरण गर्दै पत्रकार राजेश्वर नेपालीले निधिमा गान्धीमा जस्तै निर्भीकता रहेको बताउँछन्। २००९ सालमा गान्धीवादी समाजसेवी तुलसी मेहरले जनकपुरको बसहियामा गान्धी आश्रमको स्थापना गरे। उक्त आश्रम स्थापनामा निधिको पनि योगदान रह्यो। बसहिया निवासी रामचन्द्र शर्माका अनुसार, निधिले पनि राजनीति र समाजसेवालाई एकसाथ निरन्तरता दिए।
०२८ सालमा पञ्चायत सरकारले नयाँ शिक्षा लागू गर्दा उनले मातृभाषामा शिक्षाको ग्यारेन्टी गर्न माग गरे।साथै निधिले उक्त शिक्षानीतिकोे खुलेर विरोध गरे। गान्धीले सन् १९३७ मा बर्धा शिक्षा सम्मेलनमा मातृभाषासहितको शिक्षाको पक्षमा आवाज उठाए।साथै आधारभूत तहको शिक्षा राज्यले निःशुल्क ग्यारेन्टी गर्नुपर्ने प्रस्ताव पारित गरे। भारतको इतिहासमा ‘बर्धा एजुकेसन कन्फ्रेन्स’को छुट्टै महत्व छ।त्यसैले भन्न सकिन्छ, गान्धी क्रियाकलापबारे निधिमा गहन अध्ययन पनि थियो ।
निधि २००७ सालको क्रान्तिको सफलतासँगै महोत्तरी जनसरकारको प्रधानमन्त्री बने।पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा प्रस्तुत गरिरहे। ०१५ सालको निर्वाचनमा उम्मेदवार बनेर विजयी भए। पहिलोपटक २००४ सालमा जेल परेका निधि जीवनमा १२ पटक जेल परे। संयोग गान्धी पनि जीवनमा १२ पटक जेल परेका थिए। पारिवारिक स्रोतका अनुसार निधिका पिता राजेश्वर निधि पनि गान्धीवादी रहेको जानकारी हुन्छ।उनले पनि तत्कालीन समयमा शिक्षाको प्रसारका लागि विद्यालय स्थापना गरेका थिए। जनकपुरको नगराइन र जदुकोह भन्ने स्थानमा (२००४ सालमा) विद्यालय स्थापना गरेका थिए। प्रा. नवेन्द्र निधिका अनुसार जदुकोहको उक्त विद्यालयको नाम अहिले राजेश्वर निधि उमावि बन्न पुगेको छ।
हजुरबुवा पनि तत्कालीन समयमा गान्धीको आदर्शबाट प्रभावित रहेर समाजसेवा र शिक्षाको प्रसारमा लागेको विमलेन्द्र निधि बताउँछन्। राजेश्वर तत्कालीन समयमा नेपालबाट गान्धीआश्रम पुगेका नेपाली महावीर गिरीका समकक्षी रहेको जानकारी हुन आएको छ। उनै महावीरसँग राजेश्वर सन् १९३० को दशकमा गान्धीलाई भेट्न साबरमती समेत पुगेका थिए।महावीर नेपालबाट गान्धीआश्रम पुगेकी कृष्णमैया गिरीका सुपुत्र हुन्। सन् १९३० मा गान्धीले नेतृत्व गरेको दाण्डीमार्च (नमक सत्याग्रह) का मुख्य सहभागी ७९ मध्ये गिरी एक हुन्। मूर्धन्य गान्धीवादी अनुयायी स्व.नारायणभाइ देसाईका अनुसार गिरि र भाइ धर्मवीर गान्धीको सान्निध्यमा हुर्किएका नेपाली थिए। उनीहरूका बारेमा सोधखोज हुन बाँकी छ।
परिवारका अनुसार राजनीतिमा क्रियाशील रहे पनि महेन्द्र नारायण कृषि कर्ममा सहभागी हुन्थे। गाउँमा सिँचाइका लागि पैनी, कुलो, नहर बनाउन जुट्थे।गान्धीको आत्मनिर्भरताको सिद्धान्तले उनी निर्देशित रहे। कर्मबाट आत्मशुद्धि हुन्छ भन्ने गीताको सार उनले बुझेका थिए। गान्धीले भनेका छन्, ‘अन्न, वस्त्र, आरोग्य र शिक्षामा’मा आत्मनिर्भर हुन सके दुनियाँमा कसैको गुलाम हुनुपर्दैन ।’ समाजवादकोे सपना बाँड्ने हाम्रो नेतृत्वले गान्धीको उक्त चिन्तन मात्र मनन गर्न सके सुशासन प्रत्याभूत गराउन नैतिकबल जागृत हुने थियो ।
निधि ‘सादा जीवन, उच्च विचार’युक्त जीवन बाँचे।त्यसैले कर्म र व्यवहारले निधि सच्चा गान्धीवादी थिए भन्न कर लाग्छ।संयोग उनको निधन (०५६ मा) गान्धीकै (७९ वर्ष) उमेरमा हुन पुग्यो। भलै गान्धीको निधन हत्याबाट भयो, तर निधिको निधन स्वाभाविक (हृदयघातबाट) थियो।
(लेखक, अहिंसा र गान्धी विषयका अध्येता हुन् ।)
प्रकाशित: १५ फाल्गुन २०७७ ०७:१८ शनिबार