२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नियाग्रा फल्स र क्यानाडा

संस्मरण

ठूलो छोरा मनिष इलिन्वाई स्टेटको स्याम्पेन भन्ने ठाउँमा काम गर्दथ्यो र २ वर्षको नाति र १ वर्षको नातिनी थियो । अमेरिका जाँदा हामी सधै त्यही जान्थ्यौ र बस्थ्यौ । सन् २००७ को जुलाई महिनामा छोरा बुहारीले नियाग्रा फल र क्यानाडा भ्रमण गर्ने योजना बनाएका रहेछन्  । हामी धेरै खुसी भयौं र जाने तरखरमा लाग्यौ । जाने ठाउँ र शहरहरूमा छोरा बुहारीले पहिले नै बस्ने होटेलहरूमा कोठाहरूको आरक्षण गरिसकेका रहेछन् । जाने अघिल्लो दिन छोराले सातआठ जना बस्न मिल्ने भ्यानको बन्दोबस्त गरी लिएर आयो । आठदश घण्टाको यात्रापछि हामी नियाग्रा फल भएको स्थानमा पुग्यौ । होटेलमा पुगेर सबै सामान राखेपछि फ्रेस भएर फल हेर्न निस्कियौ ।

साँझ पर्न अझ दुईतीन घण्टा नै बाँकी थियो । हामी क्यानाडा साइडपट्टि थियौ । त्यस्तो विशाल पानीको झरना देख्दा हामी सबै उत्साहित भइरहेका थियौ । मानिसहरूको ठूलो भिड लागेको थियो । कालो, सेतो फुस्रो र पहेलो छाला भएका तथा न्याप्टे, च्याप्टे, थ्याप्चे चुच्चे र त्रिभ्रेहरू सबै आफ्नाआफ्नै भाषाहरूमा आपसआपसमा कुरा गर्दै तँछाडमछाड गर्दै सबैभन्दा अगाडिको लाइनबाट हेर्ने दाव गरिरहेका देखिन्थे । हामी पनि त्यस्तै भिडको बिचमा थियौ । पारि  युएसएपट्टिको भागमा अन्दाजी १–३ भाग र यता क्यानाडा पट्टि २–३ भागको पानी बगेको जस्तो देखिन्थ्यो । पारिपट्टि मानिसहरूको भिड पनि कमै देखिन्थ्यो । मुनि पानीमा  टन्न यात्रुहरूले भरिएका सानासाना पानी जहाजहरू ओहोरदोहोर गरिरहेका देखिन्थे । जहाजमा बस्ने सबै दर्शकहरूले निलो रङ्गका पातलो बर्सादी लगाएका थिए । झरनाको छेउ कुइरीमण्डल देखिन्थ्यो । साँझमा होटेल फर्कियौ । मलाई के. एफ. सी. को चिकेन खाना मन लाग्यो । छोराले जि. पि. एस. गन्तव्य पहिल्याउने साधनमार्फत सबैभन्दा नजिकको दुकान पत्ता लगाई ल्याइदियो र डिनर गरयौं ।

 भोलिपल्ट वबिहान होटलबाट चेकआउट भयौं । छोरा बुहारीले हामीलाई त्यही हिजोकै ठाउँमा छाडिदियो अनि हामी पुनः रमाईरमाई हेर्न थाल्यौ । हामी पनि तल बर्लि जहाजमा बसी झरनाको दृश्य नजिकबाट अवलोकन गर्न चाहन्थ्यौ । टिकट काटी निलो बर्सादी ओढी हामी पनि जहाजभित्र बस्यौ । जहाज कुइरीमण्डल भित्र पस्यो दृश्य अति रमाइलो थियो, फर्कदा हामीले लगाएकोबाट पानी तर्किरहेको थियो । बर्सादी नभएको भए हामी सबै निथ्रुक्कै भिज्ने  रहेछौ । जाँदा खिचेको फोटो फर्कदा पायौ र पैसा तिरी सम्झनाका लागि राख्यौ । माथि आएको एकछिनपछि छोराबुहारी पनि बच्चाहरूलाई जुपार्क देखाई फर्किए अनि हामी त्यस दिनको हाम्रो गन्तव्यस्थल मन्ट्रेलतर्फ लाग्यौ । भ्यानको यात्रा भए पनि हामीलाई धेरै रमाइलो लाग्यो । फ्रान्स र जर्मनीको कन्ट्री साइड हुँदै यात्रा गरेको सम्झना आयो र यू.एस.ए.को कन्ट्री साइडभन्दा धेरै आकर्षक र रमाइलो लाग्यो । सडकको स्तर पनि निकै बेस लाग्यो । हरेक  सुविधायुक्त भएका गाउँगाउँका बस्तीहरू पनि धेरै रमाइला देखिन्थे । हामी नेपालका गाउँलेहरूलाई यस्ता ठाउँहरू देख्दा ईर्ष्या त लाग्ने नै भयो।

समयमा नै होटेल पुग्यौ र आराम गरयौ । भोलिपल्ट नास्तापछि शहर घुम्न निस्कियौ । सबै कुरा चालचलन र व्यवहार अमेरिका जस्तै भए पनि टुरिष्टहरूलाई गरिने व्यवहार यहाँ धेरै राम्रो थियो । युरोपको कुनै शहर घुमेको याद आउँथ्यो । प्राय सबै जना फ्रेन्च भाषा बोल्दा रहेछन् । अमेरिकाको भन्दा ट्याक्स ज्यादा लिए पनि पछि अवकाशित जीवन र सरकारले दिँदो रहेछ । ट्राफिक लाइटमा कन्फ्यूज भई गल्ती भए पनि तुरुन्तै प्रहरी आएर सम्झाइदिएको देख्दा अमेरिकाका जस्तै यहाँका प्रहरी पनि त्यत्तिकै सतर्क बस्दा रहेछन् भन्ने विश्वास भयो । ओलम्पिक खेल भएको स्थान गयौं र सुन्दर शहरको अवलोकन गरयौं । पार्कमा बसी रिफ्रेसमेन्ट गरयौ, केटाकेटीहरूसंग खेल्यौ र प्रफुल्ल चित्त लिई होटेल फर्कियौ । बिहान हामी क्यूबेकतर्फ लाग्यौ । जुलाईको महिना भए पनि गर्मीको अनुभव हामीलाई बिलकुलै थिएन । क्यूबेकमा घुम्न निस्कदा त केही चिसो अनुभव गरेकाले ज्याकेट लगाउनै पर्ने अवस्था मेरो भएको थियो ।

क्यूबेक मन्ट्रेलभन्दा भिन्न किसिमको लाग्यो । यहाँ पनि टुरिस्टहरू प्रशस्त आउने गर्दा रहेछन् । प्राय सबै टुरिस्टहरू  मन पराउने एउटा यस्तो स्ट्रिट रहेछ जहाँ ट्राफिक प्रवेश निषेध गरिएको रहेछ । सडकैभरि मेला लागेको जस्तो देखिन्थ्यो । हाम्रो जात्रामा हुने भिडजस्तै हुँदो रहेछ । विभिन्न किसिमको खेल, नाचगान भई नै रहँदो रहेछ । प्रदर्शनकर्ताहरूको पनि पालैसंगको समयमा स्थान पाएका हुँदा रहेछन् । निर्धारित समय सकिएपछि फर्किनुपर्ने हुँदो रहेछ । मेरो खुट्टा दुःख्ने कारणले गर्दा सबै ठाउँहरूमा पैदल पुग्न  नसकिएकाले  मेरो कारणले गर्दा छोराछोरीले ती स्थानहरूको अवलोकन गर्न नपाएकोमा मलाई जरुर दुःख लाग्दथ्यो । स्कटल्याण्डको एडिनवशमा घुम्दा पनि मेरो कारणले अरूहरू पनि जानैपर्ने स्थानहमा जान नपाएकोमा मलाई दुःख लागेको थियो ।

क्यूबेक शहरको छेवैमा अवस्थित तर पानीले छुट्याएको एउटा टापु जस्तो स्थानको यात्रा खुबै रमाइलो थियो । त्यहाँका मानिसहरूको आनन्दित स्वर्गीय बसोबास देख्दा सबैलाई ईर्ष्या हुन स्वभाविकै थियो टापुको मध्य भागमा खेती गरिएका किसानहरूका फारमहरू र पानीको छेउमा विभिन्न किसिमका आकर्षित आवासीय भवनहरूले त्यस सानो टापुको सुन्दरता बढाइरहेको थियो ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App