१) बौद्धिक खेती
म कृषक हुँ । ऊ मेरो साथी हो । कहलिएको बुद्धिजीवी हो । खरो वक्ता मानिन्छ । ऊ सकारात्मक कुरा कहिल्यै गर्दैन । समाज विकासको निगेटिभ धार उसको विषयवस्तु हो । किनभने आम मान्छे निगेटिभ कुरा मन पराउँछन् ।
‘जसोजसो मल्खु उसोउसो ढल्कु’ उसको सिद्धान्त देखिन्छ । एउटा घटनामा एउटा सिद्धान्त प्रयोग गर्छ । अर्को घटनामा त्यही आफ्नो सिद्धान्तको मोरो काढ्छ ।
एक दिन मैले उसलाई सोधेँ– समाजमा सकारात्मक कुराहरू पनि होलान् नि?
‘छन्’ उसले जवाफ दिएथ्यो ।
‘अनि ?’ मैले सोधेँथेँ ।
ऋनि उसले मलाई नै प्रश्न गरेथ्यो –तपाई खेतीमा मल हाल्नुहुन्छ कि हुन्न?
ज्वाफ दिएको थिएँ – हाल्छु नि, जुन मल हाल्दा खेती धेरै हुन्छ, त्यही मल हाल्छु ।
उसले मेरो अनुहारमा हेरेरै भन्यो –किटनाशक पनि हाल्नुहुन्छ होला नि?’
मैले सहज उत्तर दिएकोथेँ –हाल्छु नि, नत्र त खेती कहाँ सप्रन्छ र ?
ऊ आक्रामक भएथ्यो – किटनाशक र विषादि हाल्दा जनताको स्वास्थ्य बिग्रन्छ भन्ने कुरा थाहा छ नि?
मैले विस्तारो भनेथेँ – ‘छ ।’
ऊ गर्जेथ्यो –अनि जानीजानी किन हाल्नुहुन्छ त त्यस्ता चिज?
मैले लाचारी व्यक्त गरेथेँ –के गर्नु, नत्र त खेतीमा खर्च नै उठ्दैन ।
उसले मलाई सम्झाएथ्यो –हाम्रो पनि यो खेती हो, बौद्धिक खेती । जुन माल बिक्री हुन्छ त्यही उत्पादन गर्नुपर्यो नि । त्यही माल बेच्नुपर्यो नि । सकारात्मक नकारात्मकको के मतलब । हामीले खानुपरेन?
म चुप लागेको थिएँ । बरु हाम्रो वार्ता सुनिरहेको एउटा मान्छे पो बोल्यो – र्यालसिँगान खानुभन्दा त बरु भोकै मर्नु राम्रो होइन र महाशयहरू?
२) खोर्सानीको बुटो
उहिलेको कुरा हो । म ५ कक्षामा पढ्थेँ । स्कूल टाढा थियो । खेतीपाती राम्रो थिएन । खानलाउनकै त दुःख थिएन । तर, नगदको पउलता थिएन ।फि तिर्न, पुस्तक किन्न, कपी किन्न भने नगद निकाल्न गाह्रो थियो । किनकि हामी धेरै भाइ र बहिनी थियौँ । परिवार ठूलो थियो । आमाले एउटा ठूलो गह्रामा खोर्सानी रोप्नुभएको थियो । तिनताक खोर्सानी बेच्न हँुदैन भन्ने मान्यता थियो । तर , आमाले त्यो कुरा मान्नु भएन । खासमा यो सन्तानका लागि आमाले गरेको विद्रोह नै थियो ।
मलाई अझै सम्झना छ कि तिनताक आमालाई गाउँका मान्छे भन्थे –
हेरहेर बाहुनी भएर खोर्सानी बेच्छिन् मचान–घरेकी बुहारी । कलीयुग लागेको ।
म आमालाई खोर्सानी रोप्न, गोड्न, टिप्न सघाउँथेँ । मधेसको ठाउँ, गर्मी प्रचण्ड हुन्थ्यो । आमा र म दुवै पसीनाले निथ्रुक्क भिजेका थियौँ । खोर्सानीको बुटोमा पानी छर्कैको हुनाले बुटाभरि पानी थियो । अनि मैले आमालाई सोधेथेँ –आमा, यो खोर्सानीको बुटोले पनि हाम्रोजस्तै पसिना काढ्छ ?
आमा मेरो अबोध बालापन देखेर हाँस्नुभएको थियो र भन्नुभएथ्यो – हो यसले पसिना काढ्छ र पो त फल्छ । फलेपछि पैकारीले किन्छन् र पैसा दिन्छन् । अनि पो त तिम्रो फिस तिर्ने हो नि, दसैँमा नयाँ लुगा लगाउने हो नि ।
म दसैँमा नयाँ नाना लाउन पाउने लोभमा रोमाञ्चित भएको थिएँ ।
समय बित्यो । म बेलायतमा छु । आमाको असियौँ जन्मदिन थियो । मैले आमालाई फोन गरेँ र क्षमकुशल सोधेँ ।
भलाकुसारीपछि फोन राख्ने बेलामा आमाले भन्नुभयो – बाबु, खोर्सानीको बुटोले अझै पसिना काढिरहेको छ ।
३) ओत
उहिले धनपति सेठ चोकमा तरकारीवालासँग दलाली गरेर आधा दाममा किन्थे । ज्यामीलाई काममा लगाउँथे र कम पैसा दिन्थे। कुहेको सामान पनि बेच्थे । तौलमा पनि ठग्थे । रिक्सा, ठेला आदिलाई आधा पैसा दिन्थे र आफूलाई बाठो ठान्थे । उनले यसैगरी उसैगरी पैसा कमाएथे । जग्गा जोरथे । चार तले घर बनाएथे ।
छिमेकी दुखिया चमारले एकदिन सोधेथे –बडका घर बनाइहाल्नुभो सेठजी । खुब बढियाँ छ ।
उनले जुँघामा ताउ लाउँदै भनेथे –जिन्दगीमा मरिलाने के छ र ?अलिकति हात खुकुलो पारेको नि । एउटा अलि गतिलो ओत लाग्ने ठाउँ त चाहियो नि दुखिया । तिमीहरू पो झुप्रामै काम चलाइहाल्छौ ।’
समय बित्यो । उनी वृद्ध हुँदै गए पनि सम्पत्ती आफ्नै कब्जामा राखे र छोराहरूलार्ई अंश दिएनन् ।
किचलो भयो । छोराबुहारीहरूले मुद्दा हाले । घर चार भाइ छोराको भागमा पर्यो । उनी बेघर भए । एउटा एकतले टिनको घर बनाएर बसे । परिवारका हेला भए ।
समय फेरि पनि बित्यो । बुढी बितिन् । उनी निसहाय भए । र ढुट्टीमाटी पारेर बाध्य भएर वृद्धाश्रम गए ।
वृद्धाश्रममा पुगेका धनपतिलाई वृद्धाश्रममै बसिरहेको दुखियाले देख्यो र आश्चर्य मान्दै भन्यो –सेठजी, तपाई पनि यहाँ !
उनले जवाफ दिए –जिन्दगीमा मरिलाने के रहेछ र दुखिया, श्वास नजाउञ्जेल ओतै लाग्ने कुरा त रहेछ नि ।
४) विवेकी कुकुर
सोह्रौँ तलामा भएको आफ्नै एपार्टमेन्टको झ्यालबाट तल हेरिरहेको थिएँ । लुप ४१० मा गाडी कुदिरहेथे । यत्रो शहरमा मान्छे नदेख्दा र खाली गाडी मात्र देख्दा जङ्गलको एकान्त महसुस भएको थियो । दिक्क मानेर लिफ्टबाट तल झरेँ । नजिकैको पार्कमा गएँ । पार्कमा बुढाबुढी, केटाकेटी थिए । वयस्क पनि थिए । टिनेजर पनि थिए । धेरै जना कुकुर डोर्याएर हिँडिरहेका थिए । मजा के थियो भने ती पनि कोही कसैसँग बोल्दैन थिए । एकप्रकारले गाडीजस्तै थिए । बरु गाडी कराएको आवाजआउँथ्यो । उनीहरू बोल्दैनथे । बोले पनि यति बिस्तारै बोल्थे कि साउती मारेझैँ देखिन्थ्यो ।
एउटी अधबैँसे महिलाले एउटा सेतो रङको भुन्टे कुकुर बोकेकी थिई । उसले त्यो कुकुरलाई के भनी कुन्नि, कुकुर त उसको वरिपरि परिक्रमा गर्न थाल्यो । फेरि कुकुरलाई काखमा राखी । उसले जिब्रो निकाली । कुकुरले उसको जिब्रो ल्यापल्यापी चाट्यो ।
मलाई आश्चर्य लाग्यो । अनि मैले उसलाई सोधेँ –यो कुकुर निकै मायालु रहेछ हगि ।
उसले उसको कुकुरको तारिफ सुनेर होला मलाई भनी –हो एकदम लभ्ली छ । मेरो त यो घरमा साथी नै हो।
‘घरमाकोही छैनन् र ?’ मेरो प्रश्न थियो ।
उसले भनेकी थिई – म डिभोर्सी हुँ । ७ वर्ष भयो डिभोर्स गरेको । छोराछोरी आफ्नै संसारमा छन् । घरमा त यो ‘जेडी’ र म मात्र ।’
अनि मैले पनि भनेथेँ– कोही मान्छे नै साथी बनाउनु नि किन यो कुकुरलाई यत्रो विधि?
उसले झन् मजाले भनीथी – हाहाहा,यो मान्छेजस्तो होइन नि, यो ‘जेडी’ जतिबेलासम्म मसँग छ, अब्बल, विश्वासिलो र आज्ञाकारी छ ।
५) धुन्धुकारी
म केटाकेटी नै थिएँ । घरमा पुराण लागेको थियो । बनाइएको मण्डपको अलि परतिर हाँडी र फुर्को बाँधेर एउटा बाँसको गिँडलाई गाडिएको थियो । त्यसलाई पनि रङ्गीचङ्गी बनाइएको थियो । पुराण सकिने तरखरमा थियो सायद । मैले आमालाई सोधेको थिएँ –आमा, त्यो बाँसलाई किन अलग्गै गाडिएको ?
आमाले भन्नु भएथ्यो –त्यो धुन्धुकारी हो । पुराण लाउने, भन्ने र सुन्न आउने मान्छेको पाप त्यो धुन्धुकारीले खाइदिन्छ । पाप पखाली दिन्छ अनि मान्छे धर्मात्मा बन्छ ।
पुराण सकिएको रात मैले सुटुक्क त्यो धुन्धुकारीलाई उखेलेर मन्त्री ठुलाबाकोमा पुर्याएर मालतीको फूलको बोटमा अडेस लगाइदिएको थिएँ ।
बिहान उठ्दा मन्त्री ठुलाबाको घरमा हल्लाखल्ला भइरहेको थियो ।
‘यो धुन्धुकारीलाई यहाँकुनचाहिँ छुल्याहाले ल्यायो ?’ मन्त्री ठूलाबा बहुलाएझैँ कराइरहेका थिए ।
सबै उपस्थितको मुखमा त्यही कुरा थियो ।
आमा, बुवा र म पनि के भएछ भनी मन्त्रीका घरमा हेर्न गएका थियौँ ।
मन्त्रीले हाम्रा बालाई सोधेका थिए –ए कान्छा, लु भन्, कसले ल्यायो तेरो घरको धुन्धुकारी यहाँ मेरा घरमा?
हाम्रा बा बोल्नुभएकै थिएन । मैले अघि सरेर भनेको थिएँ –मैले ।
मन्त्री ठूलाबाले कराएर भनेका थिए –तेरा, फुच्चे, के भनेर ल्याइस् हँ यो धुन्धुकारी ?
अनि मैले बालसुलभ उत्तर दिएथेँ –ठूला बा, यो धुन्धुकारीले सबैको पाप खान्छ अरे । सबै जना हजुरलाई पापी भन्छन्, अनि हजुरको पाप खाओस् भनेर पो ल्याएको त ?
(‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट ...!)
प्रकाशित: १० फाल्गुन २०७७ ०४:४१ सोमबार