हरि कट्टेल
रोपेर फुलवारीमा घडी फूल
ढक्कमक्क फुलाउँछन्
केटाकेटीहरू ।
फुलाएर गोदावरी
रंगीन पुतलीहरूलाई
फूलवारीमै बोलाउँछन् केटाकेटीहरू
जब हुन्छु म फूलबारीछेउ
मलाई केटाकेटी र फूल छुट्याउन मुश्किल पर्छ ।
मलाई जून र केटाकेटीको अनुहार उस्तैउस्तै लाग्छ
कहिल्यै धितै नमर्ने हेरेर
न त जाडो न त गर्मी
दुवैले छर्छन् मलिन ज्योत्स्ना उसैगरी
कहिलेकाहीँ त म
जून देख्दा केटाकेटी र
केटाकेटी देख्दा जून भन्दो रहेछु।
बिहानै मिर्मिरेमा चरीले चिरविर गर्दा
तिनै केटाकेटीहरू सम्झन्छु ।
चारपाथे ठेकीमा नेतीले घार्रघुर्र बनाउँदा
तिनै केटाकेटीहरू सम्झन्छु ।
लाग्छ केटाकेटी नभए
नआउँथे यी पुतलीहरू ,
न गाउँथे चरीले गीत ।
केटाकेटीबाहेक कसले पो लाउँदो हो र चरीको जस्तै प्रीत
क्यालेन्डरका पन्नामा
जब देख्छु दशैँ – तिहारको मास
तिनै केटाकेटीहरू सम्झन्छु
लाग्छ नभए केटाकेटी
न मच्चिन्थे यी पीङ दलिनमा
न आँगनीमा गुञ्जन्थ्यो भैली ।
देख्छु
बजारको चटकेले झैँ चटक गर्छन् केटाकेटीहरू
र बनाउँछन् छुट्टै जादुमय संसार एकैछिनमा
एकाएक इन्द्रप्रस्थझैँ बनाउछन् कल्पनको राज्य
र गर्छन् रामझैँ शासन एकैछिनमा
केटाकेटीहरू बनाउँछन् घर बन्दिलो
र भत्काउँछन् फेरि एकैछिनमा
एउटा कुराचाहिँ सुटुक्क सोध्न मन छ
यिनलाई
बनाउन त दलिनको गौँथलीले सिकायो घर
कसले सिकायो तिमीहरूलाई भत्काउन हँ ।
प्रकाशित: २८ कार्तिक २०७७ ०७:१५ शुक्रबार