दामोदर पुडासैनी किशोर
पाहुनाहरू घरभेटी जस्ता
र , घरभेटीहरू पाहुना जस्ता
देखिन्छन्
लिम्बुहरूको गाउँमा
पारि डाँडातिरबाट
पाहुना झुल्केको थाहा पाएपछि
पूरै गाउँले तयारी गर्न थाल्छ धान नाचको
अलैंचीका पातहरू फटफटाउँदै
खुशीले बुद्रुकबुद्रुक आँगन ,पिंढी र मझेरीतिर नाच्न थाल्छन्
कुखुरा , सुँगुरका पाठा र बाघे कुकुरहरू
कि कुहिरो कि बादल नाच्न थाल्छ
गाउँको वल्लो कुना र पल्लो थुम्कोतिर
कयौं वर्षपछि छोराछोरी फर्कन लागेको थाहा पाएर
नाकको बुलाकी हल्लाउँदै
लिम्बुनी दिदीले खुशीको आँसु झारेझैं
बिहान साँझ तपतप तप्किन थाल्छन्
छानाका नीला जस्ताहरू
पाहुना भेटेपछि पाहुनासँग मन साटासाट गर्दै
पाहुना र आफ्ना सबै आँधीबेहरीहरू बगाइदिन्छन्
तिनै शीतका थोपाहरूमा लिम्बु र लिम्बुनीहरू
लिम्बु गाउँमा पाहुना लाग्नेहरूले
अलिकति आगो, अलिकति पानी र केही मीठो जवानी
साँचेर जानुपर्छ
फर्कंदा दोब्बर हुन्छन् ती सबै कुराहरू
डाँडापारिबाट पाहुना जानेका लागि
एउटै घर हो लिम्बु गाउँ
उत्तिसघारीको घरमा छिरे पनि हुन्छ
अलैंचीबारीको घरमा छिरे पनि हुन्छ
लिम्बु गाउँमा
खेतका सिँढी रूपे गराहरू पनि छन्
शिखर शैलीकै बारी र चौरहरू छन्
पाहुना जानेहरूले
तिनै खन्ने खोस्रने जाँगर लिएर गए हुन्छ
फर्कंदा मायाको कोसेली ल्याउने ढाकर लिएर गए हुन्छ
तिमीहरू
वेसी र समावेशीका कुरा गर्छौ
जात र समाजका कुरा गर्छौ
लिम्बु गाउँमा
सबै जातले एउटै जात बनेर पाहुना सजाउँछन्
र ,
सबै जातका पाहुनालाई
एउटै जात बनाएर बिदा गर्छन्
कठोर पहाडलाई काटदै ,ताछ्दै र रँगाउँदै
फूलका पत्रहरूभन्दा सुन्दर
इन्द्रधनुषी घरहरू बनाएका छन्
ईन्द्रेनी मनका लिम्बुलिम्बुनीहरूले
मनमा कुनै कसर छ भने
पाहुना लाग्न जानेहरूले
तलतल बगरतिरै जलाएर उक्लिनुपर्छ
आदाँबाकै लागि हो हाम्रो घरसम्म आउने बाटो
तरेबानै हो नि हाम्रो ज्यूँदो ईश्वर
भन्दै च्याब्रुँ र नेग्राको तालमा
लिम्बु गाउँले हाक्पारे गाउँन थालेपछि
कुन तरेबाले सुख पाउँछ र
नाच्ने गाउँने आदत छैन भनेर
बरू उँधौली– उँभौलीको पर्ममा
नबिर्सनु है कसैगरी पनि
भन्ने निवेदन गर्छ दुई हात जोडेर
आँखामा अलैँचीपाते हरियाली
र, मनमा लिम्बु मनको पवित्र रोशनी
थपिन्छ, पक्कै थपिन्छ
लिम्बु गाउँको पाहुना बनेर फर्केको बेला ।
प्रकाशित: २६ कार्तिक २०७७ ०७:१० बुधबार