२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

त्यो एक दिन

कविता

नुहाङ  राई 

 

एकदिन उनीहरू आए  

ढोका ढकढकाएर  

भने

यसरी सुतेर हुँदैन  

देश बनाउन पर्छ भनेर  

एउटा किताब थमाइराखे  

यो बूढो किताब भित्रको वयस्क तन्नेरी  

अक्षरहरूले मलाई सुत्न दिएन्र

त्यसपछि  

हिँडे म  

तिनीहरूसित  आगो खेलाउन

आगो खेलाउँदा –खेलाउँदै

धेरै साथी आगोमैं बिलाए

कतिको जिन्दगी पानीजस्तो घस्रिने भयो  

कतिको टाउको हराए कतिले ‌हातखुट्टा हराए  

कतिलाई कोचारे यातनागृहमा 

मलाई किताबले  

मानसिक र बौद्धिक रूपले बौलाहा बनाएपछि  

मैले राज्यलाई सरापे

व्यवस्थालाई कराए अनि  

पुलिसलाई ढुंगा हाने  

मेरो अराजक पाइतलामा ठोक्यो  

पुलिसले कठ्ठा बाँसको सुम्लो  

तर,

किताबमा पढेका थिएँ  

यातना भनेको मुर्दाबाट जिउँदोमा अनुवाद हुनु हो  

क्रान्ति भनेको स्वर्गको सिँढी चढ्नु हो  

त्यसैकारण म यातना र कारावासमा रमाए 

धेरै समयपछि म निस्के  

आगोहरू चिसो खरानी भइसकेको थिए

मलाई जागजाग भन्नेहरू  

फूलमाथि  सुतिरहेका थिए ।

      मिरिक दार्जिलिङ

प्रकाशित: २५ कार्तिक २०७७ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App