२२ असार २०८१ शनिबार
image/svg+xml
कला

चुँदी रम्घामा बन्यो रामायण भवन

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब तीन करोड रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो।

भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रुपमा विकास गर्न भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ। विसं २०५२ मा सोसमिति गठन गरिएको हो। नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए। यसअघि सो संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो। अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ।

भवन निर्माण पूरा भए पनि रामायणमा भएका श्लोकहरु, रामायणसम्बन्धी तस्वीर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ। रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ। भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताए। भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणधीन संरचनाको संरक्षण र सम्वर्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको उनले जानकारी दिए।

सङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा रहेको छ। रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायतका जोखिम रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले भने।  

राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ। सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्च्याउने काम गर्न नहुने नगरप्रमुख गौलीले बताए।रासस

प्रकाशित: २४ आश्विन २०७७ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App