दामोदर पुडासैनी किशोर
अनिश्चय छ र पो आनन्द बन्छ जिन्दगी ।
लाङ्दुक, तिमी र म उस्तैउस्तै रूपमा ब्युँझियौं सखारै । पाँडको एक खण्डमा हामी चार भाइ लहरै सुतेका थियौं, अर्को खण्डमा दुई बहिनी चरा जसरी चाँईचाँईचुँईचुँई गरिरहेथे । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ ।
तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, सैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर ।
‘लु हाउहि छुम्’ त्यस्तैत्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट । भ्याभ्या पनि गर्दैछन् । उठेर हेरें । सयौं भेडाका हूल पो रहेछन् । प्रायः सबै भेडाका पिठ्यूँमा दुई पोका बोकाइएका छन् । पछि पचास जति खच्चर पनि भारी बोकेरै उकालो लगिरहेछन् । भेडा होस् वा खच्चर, ढिलो हिंड्नेलाई सिम्केनाले सुइँठयाउन छोडेका छैनन् गोठालाहरूले । अघिल्लो दिन पानीले भिजेका बाटोमा भेडा र खच्चरका खुरले अमूर्त चित्र बनाइरहेछन् । उनीहरूको बँडकौला र लितीले रङ्गको काम गरिरहेछ चित्रहरूमा ।
‘गाडी हुन् यिनीहरू हुम्लाका, यिनीहरूले भारी नबोके नून नभेटेरै मर्नु र्छ गाउँगाउँमा । भोटतिरबाट पनि ल्याइन्छ, सिमकोटबाट पनि ओसारिन्छ’— छिरिङ दाइ बताउनुहुन्छ ।
‘ए त्यसो भए हुम्लाका ट्रक पो रहेछन् यिनीहरू त । खच्चर ट्रक, भेडा मिनिट्रक होइन त ?’— म र दाइ दुवै हाँस्छौं ।
मान्छेको खुशीका लागि मरिमेटेका छन् भेडा र खच्चरहरू पनि । सकुञ्जेल भारी बोक्यो, नसकेपछि कसैको अगेनामा उसिनियो, कसैको थाल र बटुकाबाट बाफ निकाल्यो र मल बनेर माटामा मिसियो । लेकभरिको यार्सागुम्बाका मुहुना टोके पनि के अर्थ, खर्कभरिका पाँचऔंले, कुट्की र पाखनवेद कोपरे पनि के अर्थ । बाँच्नु नै मर्नका लागि, एउटा सूत्र सलबलाइरहेछ तिनका ताँतीहरूमा ।
चिया पाकेको खबर आउँछ । एक काठे लिस्नुबाट झर्छौं हामी । भाउज्यूले चौंरीको घ्यू र सिधेनून हालेको भोटेचिया तयार गरिसक्नुभएको रहेछ । कायोल नामको ग्लासजस्तै काठको भाँडामा चिया पिउन सुरु भयो । कायोल खाली भयो कि भाउज्यूले चिया थपिहाल्ने । अगेना वरिपरि बसेर घण्टौंसम्म चिया थपीथपी खाने भोटे संस्कृतिको विशेषता नै रहेछ । विष्णुजी र मैलेबाहेक अरू साथीहरूले त चियासँगै उवाको छ्याङ् पनि खानुभयो ।
‘बिहानै छ्याङ् ?’— मैले सोधें ।
‘चिसो मेटाउन चिया, थकाइ मेटाउन छ्याङ् राम्रो हो नि’—स्पष्टीकरण भाउज्यूको ।
अन्न अभावको अत्यासमत्यास उग्र छ तिमीमा तर लेकभरि लटरम्म झुलिरहेका यी चियाहरूलाई किन आपूm र अरूको तृप्तिका लागि आत्मोत्सर्ग गराउँदिनौं । आफ्नै आङ्मा गाई हुँदाहुँदै किन मुसा खोज्न भौंतारिइरहिछ्यौ । म चकित छु, तिमीलाई देखेर ।संकटको साँझ बास पाइयो । अब त हिंड्नु नै छ । हामी बिदा माग्ने तर्खरमा छौं ।
कुन क्षणमा कोसँग भेट हुन्छ, कहिले कहाँ पुगेर बस्नुपर्छ कसथाहा छ र अघिल्लो दिन लाङ्दुकमै बास पर्छ भन्ने पनि कहाँ सोचेका थियौं र हामीले । भेट नभएको भए कहाँ चिनजान हुन्थ्यो र छिरिङ दाइको परिवारसँग ।
छिरिङ दाइकोमा बसे पनि लाङदुकका दशबाह्र घर नै त्यस्तै आत्मीय त्यस्तै मायालु होलान् भन्ने अड्कल छ मेरो मनमा ।
मलाई तिमी पनि राम्ररी मन परयौ है लाङ्दुक ।
‘सिमकोट आउँदा यता पनि आउँदै गर्नुहोला । म पनि काठमाडौं आउँदा भेटौंला । छिरिङ कान्छो लोग्ने हो मेरो । जेठो र माइलो लोग्ने त उतै बौद्धतिर बस्छन्’— बहुपति प्रथाको सामान्यीकरण देखिन्छ भाउज्यूबाट ।
‘छोराछोरी कति छन् नि ’— विष्णुजी कोट्याउनुहुन्छ ।
‘तीन लोग्नेबाट तीन वटा छोरा, योचाहिं माहिलाको हो । जेठो र कान्छापट्टिको लामा पढ्न गए’— बारीका स्याउँझैं हँसिली छन् । पत्नीले जुन लोग्नेको भनेर चिनाइ उसैको सन्तान मान्ने चलन रहेछ बहुपति प्रथामा ।
छवटै टाउकामा चौंरीको घ्यू दलिदिनुभयो आमाले । शरीर स्वस्थ होस्, रामो सोच्न आओस्, आँटेको काम पूरा होस्, इज्जत टाढाटाढासम्म पैलियोस्— त्यस्तैत्यस्तै आशीर्वाद दिनुभयो आमाले । बोतलबाट उवाको छ्याङ खन्याउँदै टाउकोभरि दलिदिनुभयो भाउज्यूले । पाहुना बिदाइ गर्ने भोटिया संस्कार रहेछ त्यो ।
‘सर र म्यामले अघि मुखले छ्याङ नखानु भएको होइन, अहिले टाउकाले खाइहाल्यो’— जिस्काउँनुभयो सुमन र विशालले ।
‘एबुदुत’ (राम्रोसँग बस्नुस्) साथीहरुले भन्नुभयो । ‘एबुसोङ’ (राम्रोसँग जानुस्) — आमा र भाउज्यूले भन्नुभयो । हामी हिंड्यौं । छिरिङ दाइको आँगनबाट ओर्लदा बिहानको आठ अङ्कित थियो घडिमा ।
पहिरेका कपडाहरु नसुकेकाले हिंड्न अप्ठेरो छ हामीलाई । तै घामले सुमसुम्याइरहेकोले आनन्द आइरहेछ । तिम्रो शिरमा ताजजस्तै सजिएको पञ्चमुखी हिमालको सेताम्य संसार देख्दा मन त्यसै त्यसै खुशीले कुतकुतिएको छ । तल बाँयातिर सिमकोट बजारले घरिघरि तिमी हामीलाई नियाल्छ । अझ तल दक्षिणतिर खोंचमा खार्पुनाथ छ जहाँ दोज्याम र हुम्ला कर्णाली मिलिरहेछन् । पूर्र्वतिर ठेहे र पश्चिम उत्तरतिर हिल्दूम गाउँहरु गुचुमुच्च बसेका देख्दा तिनीहरुसँग पनि मितेरी लगाउन पाए हुन्थ्यो भन्छ मनले । तिमै्र आँगनमा स्वदेशी र विदेशी मित्रहरुलाई कयौंरात बास बसाउन पाए, तिमै्र खोंच, खोल्सी र पानीढलोमा उम्रेका जरा बूटाको महत्व दर्शाउँदै सुप र तेलको स्वाद चखाउँन पाए, हिउँभन्दा धेरै बर्सन्थ्यो स्वदेशी र विदेशी पैसा । आपूmसँगैको श्रीखण्ड प्mयाँकेर अरुसँग उत्तिसको स्याउला माग्नु कत्रो दुर्भाग्य ।
बाटाहरु जिन्दगी जस्तै छन्— उकाला, ओराला, घुमाउरा र सम्म ।
एकै किसिमका मात्र बाटाहरु हुने हो भने कति निरस हुन्थ्यो होला यात्रा ।
हिल्दूमको ओरालोमा मैले टेकेको ढुङ्गा खस्कियो । घुसमुटिएर दुई बल्ड्याङ खाएँ मैले । जङ्गजीले च्याप्प समातिहाल्नुभयो र मात्र नत्र थङथिलो हुन्थे होलान् मेरा हाडखोडहरू । लड्नुको बेग्लै मजा हुन्छ उठेपछि । त्योभन्दा अप्ठेरा भीरहरुमा केवलकार जोडेर संसारभरका मान्छेहरूसँग पैसा असुलिरहेको देखेथें मैले युरोपको मँ ब्लँ हिमाल र जापानको ओसाका वरिपरि । अप्ठेरोलाई आश्चर्य दर्शाउँन सके पो सोहोरिन्छन् सबैतिरका मान्छे । सरसफाइ र लवाइखवाइले नसजाई आमालाई खुन्द्री बूढीको रूपमा मात्र राख्ने हो भने कहाँ उज्यालिन्छन् र कसैका पनि दिनहरू । ढुङ्गा, माटो, उकालो, ओरालो, वनस्पति, जीव जे भने पनि आश्चर्यपूर्ण छन् तिमीसँग । त्यतिका गहना बगर बनेर गुल्टिरहेका देख्दा उकुसमुकुस बनेको छु म ।
घोडा, चौंरी र भेडाहरू जतासुकै चरिरहेछन् । शान्त पाखाहरूमा वस्तुभाउको सल्बलाहटले एउटा तरङ्ग फैलिंदै छ ।
‘छ्याग्भुलो’ (नमस्कार) — मैले अलिअलि जानेको हुम्ली शब्दमा अभिवादन गरें ।
एक दाइ र एक दिदी ढुङ्गा चिनेर बाटो बनाइरहनुभएको रहेछ । दाइले पनि हात जोरेर बोल्नुभयो— ‘छ रिङ छ्याग्लामा कोञ्ज्याग्ला ल (तपाईको नमस्कार भगवानसम्म पुगोस्) ।
‘यबु होता ?’ — मैले केके न हुम्ली भाषा जानेझैं फेरि बोलें । त्यसपछि मसँग हुम्ली भाषाका कुनै शब्द थिएनन् । दाइदिदीलाई भने मैले राम्रैसँग हुम्ली बोल्न आउँदो रहेछ भन्ने लाग्यो क्यार ।
‘यवु’ (सन्चै) — त्यसपछि उहाँहरूले बेल्नु भएको केही बुझिन । गाउँ छेउमै त्यस्तरी बाटो बिग्रिएको छ । गाउँले कसैले बाटो बनाएनन् । बाटो बनाउनु र बाटो देखाउनु जस्तो ठूलो धर्म अरू केही छैन । अस्ति मात्र पनि एक गोरखाली यहींबाट चिप्लेर घाइते भए, झुमा र झोपा त कति मरिसके, देवता पुज्नुभन्दा बाटो खन्दिएको बेस । त्यसै भएर हामी बूढाबूढी नै यो काममा लागेको । तिमीहरूको धर्म पनि अलिकति चोर्छौं होला हगि हामीले ?’ दाइ हाँस्न थालेपछि सबै अरथ्याउनुभयो साथीहरूले ।
‘जिन्दगीमा कसले देखाएको बाटोमा हिंड्नुपर्छ, कसलाई बाटो देखाउनुपर्छ, टुङ्गो कहाँ छ र’— सोचें मैले । अरुले देखाएको बाटोमा हिंड्नुभन्दा आफैले नयाँ बाटो बनाएर अरूलाई डोरयाउनु सक्नु कत्रो सफलता— थप सोच सङ्ग्रालियो ।
आम्मै कति राम्री’— आँखै सामुन्ने तस्वीरझैं उभिएकी बुराउँसे देखेपछि लोभिएँ म । ‘अघिसम्म लाङ्दुक राम्री, अहिले बुराउँसे ।’
‘सर पनि, ‘घाम देखे घाम राम्रो, जून देखे जून राम्रो’, हिमाल देखे हिमाल राम्रो, नदी देखे नदी राम्रो, बादल, अँध्यारो, उज्यालो सबै राम्रो । यत्तिको सँगै हिंडियो कुनै बेला केही नमीठो र नराम्रो मान्नुभएको देखिन’— मेरो बारेमा आकलन विष्णुजीको ।
‘जिन्दगीका हरेक भेटमा खुशी हुन सक्नुपर्छ विष्णुजी नत्र त दुःख बढिहाल्छ नि । प्रकृतिका हरेक कित्तामा रमाउन नसक्नेहरूको भागमा परिरहन्छ पीडा । म अप्ठ्याराहरू माझमा खोज्न चाहन्छु खुशी’— दर्शनको एक झोंक्का निकालें मैले ।
छोर्तेनका लहर छन् बाटाहरूमा । बौद्ध मन्त्रहरू कोरिएका छन् तिब्बती भाषामा । भोकले पिल्सिरहेका ती बस्तीहरूमा ढुङ्गामा छोर्तेन कुँद्नुको औचित्य पुष्टि हुन्छहुँदैन, अलमलमा छु म । संस्कारको झीरमा उनिएपछि मुस्किलै पर्छ निस्कन जो कोहीलाई पनि ।
छ्वाङछ्वाङ ती खोलाहरू खसिरहेछन्, पाइलापाइलामा । खोई तिनको सदुपयोग र सदुपयोग नगर्ने हो भने कहाँ चपाउन मिल्छ र सुनलाई पनि ?
बुराउँसे गाउँको माझमा पुग्दा अंशुझैं खुलेको छु म पनि । भिरालोमा अडिएका थेप्चे घरहरू । घर वरिपरि फापर र चोतीले ढाकेका बारीका पाटाहरू । घर अघिल्तिर लटरमम्म फलेका स्याउका रुखहरू । मान्छेहरू पाँडबाट हेरिरहेछन् , बाटा बाटा कुदिरहेछन् । भित्रको व्यथा नबुझ्दासम्म असाध्य सुन्दर देखिन्छ गाउँ ।
‘हामीलाई स्याउ बेच्ने हो, बहिनी ?’— उकालो र भोक दुवैलाई शान्त पार्ने जमर्को मेरो ।
‘बेच्ने छैन, खान्या भए दिन्छौं’— कति सरल छ बहिनीको जवाफ ।
हम आँटो खान्या, फाटो लाउन्या’ ले दिएको के खान्या हौ र गोरखालीले ‘हामी पीठो खाने, फाटेको लाउनेले दिएको सरकारी कर्मचारीले के खान्थ्यौ र ?’ — अर्की बहिनी स्याउको स्याउलाले मुख छेक्दै हाँसिन् ।
आऊ पो गाला मारौं’, क्यान टिप्दो हौ स्याउ’ ‘आऊ कुरा गरौं ! किन स्याउ टिप्छयौ ? ’ — अलि छेडखान छ जङ्गजीको बोलीमा ।
स्याउ टिप्दै छन् एकै बोटबाट पाँच छोट्टी । उनीहरूले बाह्र दाना स्याउ दिए । हामीले डिलमा बसेर चपायौं । पैसा दिन खोज्यौं, अहँ लिन मानेनन् ।
‘खाना खायौ ? – मैले सोधें ।
‘स्याउ पाएपछि के को खाना खानु, बरु यहीं पनि सकिन आँट्यो र पो । घरमा आँटो छैन, स्याउ सकिएपछि के पो खाने हो’— बहिनीहरूका छातीका वेदनाहरू फुत्रुक्क ओर्लिए हाम्रा कान र मनमा । उनीहरूको छाक धान्ने मेलो पो लुटेछौं हामीले । थक्कथक्क लाग्यो मलाई । घरमा खाने खानेकुरा छैन । बारीमा फलेको फलफूल बेच्नु बेइज्जती ठान्ने कस्तो चलन । आङ ढाक्ने धराहरू जीर्ण छन् पाँच छोट्टीहरूको । एउटीले झुत्रो पोते पहिरेकी छिन्, दुईवटीले ‘अठुर्नी’ (पचास पैसे सिक्का) , ‘सुकी’(पच्चीस पैसे सिक्का) र ‘पाँचनी’ (बीस पैसे सिक्का) को माला लगाएका छन् । सबैले नाम मात्रको चोली लगाएका छन् । कम्मरमा ‘ठेटुवा’ (पेटिकोटजस्तै फरिया) लगाएका छन् । अर्धानु छन् सबै कपडाहरू । लाज ढाक्न लगाएका हुन् परिधान तर प्वालप्वालबाट निस्केका छन् लाजका गहनाहरू । लाज ढाक्न स्याउका सेउलाको आड लागेका स्पष्ट बुझ्यौ विष्णुजी र मैले ।
विकसित मुलकुमा खात नै खात कपडाले थिचिएर निसास्सिएका मान्छेहरू नो प्यान्ट्स सबवे राइड’ ‘प्यान्ट नलगाई सडकमा हिँड्ने’ अभियान चलाइरहेछन् । उनीहरू नाङ्गा तिघ्रा प्रदर्शन गर्छन् । छोटा र फरक ढङ्गका कपडामा सजिने मान्छेहरूको होडबाजी चलिरहेछ । भड्किलो कपडाको कारण नारीहरू बलात्कारको शिकार हुने पुरुष टिप्पणीको विरोधमा उत्रनेको संख्या पनि बढेकै छ संसारभरि । उनीहरूले अनुमतिबिना महिला शरीरको खुला भाग छुन नपाइने उद्घोषमा अर्धनग्न शरीर देखाउँदै ‘स्लट वाक’ अभियान चलाइरहेछन् ।
खान अन्न छैन, जाडो थेग्न कपडा छैन, लाज ढाक्ने कुरा अझ पर छ हुम्लामा । उता गायिका वियोन्सेको कपालको स्टाइल र प्वाइन्टेड हिल जुत्ता, नायिका क्रिस्टन स्टुवअर्टको अफेयर, स्टार आर्नोल्ड र स्टालोन जस्ता एक्सन हिरोहरूको कपालको स्टाइल, केट विन्सलेट र स्याम मेन्डिस, हेली बेरी र एरिक बेनेट, जुलिया रोबर्टस् र बेञ्जामिन ब्रटका प्रेमिल क्षणलाई ठूलाठूला अक्षर र तस्वीरमा माला उन्छन् संसारभरका संचार माध्यमहरूले । गोल्ड, प्लेटिनम, सिल्भर र कपरका क्रिम र लोसनले फेसियल गराउन ब्युटि पार्लर र स्पामा धाउनेहरुको भीड छिचोलिनसक्नु छ हाम्रै शहर बजारमा । शहरीयाहरूले एकपटक फेशियल गर्ने खर्चले हुम्ली दिदी–बहिनीहरूको कैयौं छाक खाना टर्छ । जाडो र लाज ढाक्ने कैयौं जोर कपडाको जोहो हुन्छ । यसलाई न सरकारले नै हेरेको छ न अरू क्षेत्रका जनताहरूले नै । कतै खानै नपाएर र कतै खाना नै नपचेर मर्ने अवस्था रहेसम्म के काँचुली फेरोस् देशले । उमेरले दिएका गहनाहरूलाई अलिकति छोपछाप नपारी असरल्ल छाड्ने बाध्यताको अगाडि गाँस, बास र कपासका अभियानभन्दा बाहेकले के अर्थ राख्न सक्छ र यो दुनियाँमा ।
तोर्पा होउ वा लाङ्दुक, हिल्दुम होउ वा बुराउँसे तिम्रो विपन्नतामा भित्रभित्रै भुटभुटिएको छु म । यति सुन्दर शरीर छ तिमीहरूको, डाँडाकाँडालाई जीवन दिन सक्ने यति उत्साही आँट छ तिमीहरूको । तैपनि तिमीहरू केही नभएझैं उजाड बनिरहेछौ, कोही नभएझैं उदास देखिइरहेछौ ।
पचास वर्षअघि तिमीभन्दा गएगुज्रेको थिइन् भन्थे जापानकी आन्नाका, मैले भेट्दा सम्वृद्धिका गहनाले गजधम्म थिइन् मोरी । तीस वर्षअघि दालचामल भेट्नु दन्त्यकथाको राजकुमार भेटेझैं मान्थिन् रे दुबहीले, मैले भेट्दा उड्ने, गुड्ने र पौडने महलहरूमा संसारको स्वाद चाख्दै रहिछन् । सय वर्ष अघिसम्म एक्लो संसारमा उकुसमुकुस बनिरहेकी न्युयोर्क नानी आँसुको ओसले टाक्सिरहिथिइन् भन्थे बुझ्नेहरूले, मैले भेट्दा घाम, पानी, हावा, हिउँ जतासुकै खुशी छरिरहिथिन् । तिमीचाहिं नचुलिने कारण के छ र नचम्कने कुरा के छ र ? अरूको मुख ताकेर हुँदैन तिमी आफैं आफ्ना लागि उठ्नुपर्छ अब, हुम्ला ।
उदास मनमा उकालो चढ्नु जस्तो नमजा अरू केही हुँदैन, हामी केहीबेर उकालो चढेर तलतिर झ¥यौं ।
फेरि भेटियो हुमाने खोला । फेरि हिंडियो डालेचुकको जंगल नै जंगल । हुमाने एउटाबाट मात्र बिजुली झिक्ने हो भने कति छिट्टै हराउँथे तिम्रा दुःखका दिनहरू । डालेचुकको मात्र सर्वत, वाइन र सोमरस व्यवस्थित रूपमा बनाउने हो भने कत्ति छिट्टै फालहालेर आउँथे होलान् सुखका क्षणहरू । आफ्नै नाइटोमा बिना बोकेर सुगन्ध खोज्न हिंडिरहेकी तिमीलाई छाम्दा म हिल्दूम खोलाभन्दा दुःखित बनेर तलतल झरिरहेछु ।
‘सरको अनुहार र ब्यबहारमा दाइ भेटिरहेछु मैले । दाइको स्नेहमा उज्यालो लाग्दैछ संसार’— मेरो मौनतामा रङ्ग दिन खोज्नुभयो विष्णु बहिनीले ।दाइ बन्नुको खुशी हिउँ जसरी फैलियो । ‘बहिनी पाउनु मायाको खानी भेट्नु हो, संसारमा आड भेट्नु हो उत्साहको, हिमालमा बहिनी भेट्नु हिमदेबी भेट्नु भैरहेछ’— बहिनीको मायाले फैलियो उमङ्ग मेरो शरीरभरि ।
मास्तिरबाट एक हूल चौंरी आँखै नहेरी फालहाले । हामीलाई बाटोमै कुल्चिमिल्ची पार्लान् जस्तो भयो । हाम्रा अङ्गअङ्गमा सिङले दूलो पार्लान् भन्ने डर लाग्यो । धन्न डालेचुकको रुखरुखमा छेकियौं र पो बाँचियो बाबै । तिनीहरू तलतिर झरेपछि भुतभुताउनुभयो विशालीले —
‘गाईको दूध गाईकै गोबर
गाईकै छाला चाल्नु
माया गरी घरमा पाल्नु
मौका परे फाल्नु’
‘अघि गाईले झण्डै सुप्लीठ्याङ बनाएको थियो, अहिले कविता भट्टयाउँछ’— हाँस्नुभयो सुमन भाइ ।
‘बाँचेपछि त हो नि कसैले केही गर्ने मरेपछि लम्पसारबाहेक के हुन्छ र’— सरल जीवन–दर्शन छ, विशालजीको ।
हामी सिमकोट बजारनेर पुग्दा प्रहरीको एक डप्फा उकालो चढिरहेको भेटियो । ‘रल्लिङ हिमालमा औषधि खोज्न गएका दुई जना लेक लागेर मरे भन्ने खबर आयो, उद्धारका लागि हिंडेका’— डफ्फाका नाइके बोले ।
‘लौ हामीलाई हिजो बोलाउनेहरू अस्ताएछन् क्यार, कहिल्यै नफर्कने गरी’— एकाएक बादलले ढाक्यो निमाको अनुहारमा ।
‘औषधि जोहो गरेर जिन्दगीलाई हिउँ जस्तो उज्यालो पार्न त चढे नि त्यहाँ, मर्ने थाहा पाएको भए किन जान्थे होलान् त्यो अनकनटार हिमालमा’— हामी सबैको अनुहारमा एकाएक पैmलियो कालो कुहिरो । मृतसञ्जीवनी बुटीहरू बटुलेर संसारलाई चखाउन खोज्नेहरू नै भोक र ठण्डीले मरेका छन् हिमालहरूमा । आफ्नोविरुद्ध उचाइ चढिरहनेलाई सहेको छैन मृत्युले पनि ।
मृत्युको छायामा खुशी मनाइरहेछ जिन्दगीले । भरभराएको आगोलाई यस क्षणसम्म नै छलिरहेछ मृत्युले ।
प्रकाशित: ३ आश्विन २०७७ ०५:४८ शनिबार