२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

लोग्ने अनि बाध्यता

लघुकथा

मीरा प्रसाईं

भिनाजुले पार्वती दिदीलार्ई सधै पिटेको देखेकी  थिई सिमानाले । छोरा नजन्माएको भनेर सधै यातना दिइरहन्थे उनी । भिनाजुको उग्र रूप देखेर कुनामा घन्टौसम्म लुकेर बस्थी सिमाना । दिदी असल थिइन् आँखैमा राखे पनि नबिझाउने लोग्नेको ज्यादती र अन्यायको विरोध दिदीले कहिल्यै गरिनन् । दिदी भन्थिन्, ‘उहाँको स्वभाव नै त्यस्तै हो नानी । म सहनशील छु । भैगो नि ।’

सिमाना बिहे गरेको पाचँ वर्षपछि आज दिदीलार्ई भेट्न आएकी हो । गढेका र चाउरिएका दिदीका आँखा निराश थिए । सुन्दरताको नमुना पार्वती दिदी त बूढी जस्ती भएछिन् । सिमानालाई उकुसमुकुस भयो दिदीको अनुदितस्वरूप देखेर । सिमानाले दिदीसँग धेरैबेर दुखसुखका कुरा गरी । रातको एक बजेसम्म पनि भिनाजुको अत्तोपत्तो थिएन । दिदीले सबै कुरा भनोस् भन्ने चाहन्थी ऊ  तर दिदीका ओठले केही नभने पनि आखाँले सबै भनेका थिए ।

सिमानाले भनी, ‘ पार्वती दिदी , तेरो बूढो त्यस्तो ज्याद्रो छ । कति कुट्छ, अन्याय गर्छ , के तँलाई त्यस्को माया लाग्छ त ? नढाँटी भन है मलाई । पार्वतीले भनिन्, ‘ के गर्नु नानी , लोग्ने छोडेर माइत जाऊँ, भन्छन् घर गरेर खानुपर्छ छोरी । छोरीका लागि पनि सहनुपर्छ । छुट्टिएर संघर्ष गरौँ त, एक्ली आइमाइलाई हेर्ने दृष्टिकोण र व्यवहार नै फरक भैदिन्छ । कोठा केहीबेर जिउँदा मान्छेको मसानघाटजस्तो भयो। पार्वती दिदीले भनिन्, ‘ लोग्नेको माया त लाग्दैन । छोराछोरीका लागि भए पनि माया गरेझै गरेर नौनी घस्नुपर्ने बाध्यता छ नानी ।’

यसो भनी रहँदा उनका आखाँमा बादल मडारिइसकेको थियो । सिमानाले भनी, ‘ कति प्रतिशत नारीहरू देखावटी प्रेम गरेर लोग्नेसँग जीवन बिताउँदै छन् होला हगि दिदी ।’

प्रकाशित: १८ भाद्र २०७७ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App