२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इन्द्रजात्रा अनुष्ठान

तेजप्रकाश श्रेष्ठ

संस्कृतको ‘यात्रा’ शब्दको पर्यायवाची शब्द हो, जात्रा। बाजागाजासहितको देवदेवीको मूूर्ति काखमा बोकेर, वा खटमा राखेर, वा रथमा गुुडाएर गरिने सामूहिक यात्रा हो, जात्रा। ‘जात्रा’ शब्दले तामझामका साथ देवदेवीलाई नगर परिक्रमा गराउने भन्ने बुझाउँछ।

एक रमाइलो उत्सव, नेपाली समाजले परम्परादेखि रुचाउँदै आएको चाड, एक मनोरञ्जक धार्मिक तथा सांस्कृतिक अनुष्ठान– जात्राको अर्थ व्यापक छ।  

हुुन त जात्रा शब्दले दुःख, हन्डर, दुर्दशा, बेइज्जतीजस्ता नकारात्मक अर्थ पनि दिन्छ। तर, जात्राको मुख्य अर्थ देवदेवीलाई गराइने यात्रा वा परिभ्रमण हो। त्यसैले जात्रा शब्दबाट देवदेवीलाई बाजागाजासहित मानव लस्करले नगरपरिक्रमा गराएर मनाइने उत्सव भन्ने स्वतः बुझिन्छ। यसका अतिरिक्त मानिसको मनोरञ्जन वा सामाजिक दुुःखसुुख अभिव्यक्त गरिने माध्यम पनि हो, जात्रा। यसै सन्दर्भमा इन्द्रजात्राको पनि विशेष महत्व छ।  

नेपालमा धार्मिक, सांस्कृतिक र सामाजिक रीतिरिवाज, चालचलन, चाडपर्व, मेला, जात्रा आदि स्वच्छन्द रूपमा हुर्किरहेका छन्। देवदेवीको पूजा–आराधना र चाडपर्व मनाउने नेपाली संस्कार पुरानो हो। त्यसमध्ये देवदेवीको जात्रा गरेर सम्मान र भक्तिभाव दर्शाउनु नेपालीको आफ्नै परम्परा हो। नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका यस मामिलामा अझ एक कदमअगाडि देखिन्छ। यहाँका आदिवासी नेवार समुदाय आफ्नै संस्कृति, चाडपर्व र जात्रा मेलामा रमाएर बाँच्ने समुदाय हो। यहाँ धर्म, संस्कृति र मनोरञ्जनका लागि विभिन्न चाडपर्व र मेलाजात्रा मनाउने परम्परा व्यापक छ। यिनै परम्परामा सिंगो नेपाली समाज रमाएको छ। लाग्छ, नेपाली समाजका लागि जात्रा एउटा जीवनशैली नै बनिरहेको छ।  

बर्सेनि सयौँ प्रकारका जात्राको रमझम हुने हाम्रो देशका इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा, बिस्केट जात्रा, कृष्णजात्रा जस्ता जात्रा राष्ट्रिय स्तरका मान्न सकिन्छ। त्यस्तै, उपत्यकाभित्रकै हाँडीगाउँको जात्रा, सातगाउँले जात्रा, टोखाको जात्रा, हरिसिद्धि जात्रा, थानकोटको सिन्दुरजात्रा, थिमीको जिब्रो छेड्ने जात्रा आदि तथा उपत्यकाबाहिरका पनौतीको इन्द्रायणी जात्रा, बनेपाको चण्डेश्वरी जात्रा, जनकपुरको मिथिलाञ्चल जात्रा, पाल्पाको भैरवजात्रा जस्ता देशभर छरिएर रहेका स्थानीय जात्रा हुन्। त्यसमध्ये प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म मनाइने कुमारी रथजात्रासहितको इन्द्रजात्रा एउटा महत्वपूर्ण जात्रा हो।

देवदेवीका राजाको रूपमा इन्द्रलाई देवेन्द्र पनि भनिन्छ। यामअनुसार वर्षा नभए इन्द्रको पूजा गर्दा वर्षा हुने विश्वास गरिन्छ। नेपालमा इन्द्रलाई युगौँदेखि वर्षाको देवताको रूपमा पुजिँदै आएको छ। संस्कृतिविद् हरिराम जोशीले ‘हाम्रो संस्कृति’ (२०३७)मा लेखेका छन्, ‘इन्द्रको पूजा–उपासना मध्यकालीन नेपालमा पनि प्रचलित रहेको कुरा ने.सं. ४९० को दोलखाको अभिलेखमा इन्द्र राजाको प्रतिमा स्थापना गरेको कुरा वर्णित भएबाट जानिन्छ। अर्को, वर्षको बाह्र महिनामध्ये एउटालाई इन्द्रको महिनाको नामले वर्णन गरिएको छ। भाद्र महिनालाई नेपालभाषामा यंला भनिन्छ, त्यस महिनाको देवतालाई यंलाद्यो (इन्द्रदेव) को संज्ञा दिइएको छ। त्यस महिनामा यहाँ विशेषगरी इन्द्रको पूजा औ जात्रा धुमधामले गरिन्छ।’

काठमाडौंको हनुमानढोकाको प्रांगणमा वर्षाका देव इन्द्रको जात्रा काठको लामो लिंगो ठड्याएर उल्लासका साथ शुभारम्भ गरिन्छ। त्यस अवसरमा ठड्याइने लिंगोलाई ‘इन्द्रध्वज’ भनिन्छ। इन्द्रजात्राको अवसरमा इन्द्रध्वज (लिंगो) उभ्याउने सन्दर्भमा एउटा रोचक किंवदन्ती छ।  

प्राचीनकालमा असुर नाम गरेको एउटा दैत्यले इन्द्रलाई ‘स्वर्गको गद्दी छाडिदेऊ, नत्र लडाइँ गर्न आऊ’ भनी हाँक दियो। अन्तमा इन्द्रको र दैत्यको ठूलो लडाइँ भयो। इन्द्रले दैत्यको राज्य जितिलिए। सोही उपलक्ष्यमा आफूले जितेको राज्यमा उनले झन्डा गाडे, त्यसैलाई लिंगो भन्छन्।

प्राचीनकालमा असुर नाम गरेको एउटा दैत्यले इन्द्रलाई ‘स्वर्गको गद्दी छाडिदेऊ, नत्र लडाइँ गर्न आऊ’ भनी हाँक दियो। अन्तमा इन्द्रको र दैत्यको ठूलो लडाइँ भयो। भगवान् नारायणको मद्दतबाट इन्द्रले त्यस दैत्यलाई मारिदिए। दैत्यको राज्य जितिलिए। सोही उपलक्ष्यमा आफूले जितिलिएको राज्यमा आफ्नो झन्डा गाडिदिए। यसैलाई लिंगो भन्छन्। यो लिंगो उभ्याउनुलाई नै इन्द्रजात्रा भन्छन्, (लीलाभक्त मुंनकमी, हाम्रा सांस्कृतिक पर्व र जात्राहरू, २०४३)।  

यसरी विजयोत्सवको रूपमा लिंगो गाडेर जात्रा मनाउने परम्परा परापूर्वकालदेखि नै देखिन्छ। विभिन्न स्रोतअनुसार यो जात्रा कमसेकम उत्तर प्राचीनकालदेखि नै सुरु भएको देखापर्छ। तर, प्रमाणका रूपमा नेपालमा इन्द्रजात्रा शब्द प्रयोग गरिएको अभिलेख भने ने.सं. ५६१ को भक्तपुर तौमढी टोलमा रहेको शिलापत्र पहिलो हो। वंशावलीअनुसार राजा गुणकामदेवले काठमाडौं नगरी स्थापना गरेपछि उनैले इन्द्रजात्रा पनि चलाएको विश्वास गरिन्छ। विभिन्न अभिलेखमा लिच्छिवि कालमा इन्द्रजात्रा गोष्ठी समेत उल्लेख भएको पाइन्छ। यसबाट त्यतिबेलै इन्द्रजात्रा सञ्चालन गर्न गोष्ठी अर्थात् गुठीको समेत व्यवस्था भएको स्पष्ट हुन्छ, जसबाट जात्रा सञ्चालन गर्न आर्थिकभार समेतको व्यवस्था हुने गर्छ।  

जात्रा विधि
काठमाडौं उपत्यकामा इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म आठ दिन मनाइन्छ। पहिलो दिन हनुमान ढोका परिसरमा लिंगो गाडेर जात्रा सुरु गरिन्छ। त्यस अवसरमा ठड्याइने लिंगो काभ्रेको नालाको वनबाट विधिपूर्वक बलिपूजा गरी आठ दिनअघि नै बाजागाजासहित तानेर हनुमानढोका दरबार अगाडि ल्याइन्छ। जात्राका अवसरमा नगरका टोलटोलमा घरघरबाट बाहिर ल्याएर विभिन्न देवदेवीका मूर्ति सजाइन्छन्। खासगरी हाथुद्यः (भैरवहरू) लाई पूजाका लागि चोकचोकमा प्रदर्शन गरेर राखिन्छ। विशेषतः इन्द्रचोकको आकाश भैरव र हनुमानढोकाको श्वेतः भैरवलाई आकर्षक रूपमा सिँगारिने गरिन्छ। फूलमाला आदिले सिँगारिएका आकाश भैरवको अगाडि आँगनमा समय्बजिको थुप्रो पनि आकर्षक रूपमा सजाइन्छ। हनुमानढोकाको श्वेतः भैरवमा पनि तान्त्रिक विधिपूर्वक पूजा गरी समय्बजि र जाँडरक्सी प्रसादको रूपमा बाँड्ने रोचक परम्परा छ।  

मरुटोलमा काष्ठमण्डप अगाडि अग्लो मचानमा इन्द्रदेवको मूर्ति सजाइन्छ। त्यो मूर्ति इन्द्रदेव हात्तीमा चढेर मत्र्यलोक आउँदाको स्मृति झल्काउने खालको हुन्छ। यसको तात्पर्य आमाको व्रत सफल पार्न हात्तीमा चढेर इन्द्रदेव पारिजात फूल लिन आएको वा चोर्न लागेको प्रसंग दर्शाएको मानिन्छ। यस सन्दर्भमा एउटा रोचक किंवदन्ती यस प्रकार छ।

पुराणकालमा एकपटक स्वर्गका राजा इन्द्रकी आमा वसुन्धरा, जसलाई डाकिनी पनि भनिन्छ, ले गणेशको व्रत बस्ने मनसुवा गरिन्। त्यस व्रतका लागि पारिजात फूल चाहिने भयो। पारिजात फूल मत्र्यलोकको कान्तिपुरमा मात्र पाइने थाहा पाएर आफ्ना छोरा इन्द्रलाई फूल ल्याउन अह्राइन्। इन्द्र मत्र्यलोकमा आई बगैँचामा पारिजात फूल टिप्न थाले। नसोधी आफ्नो बगैँचामा फूल टिप्ने चोरलाई मालीले पक्रेर डोरीले बाँधेर राखे। धेरै समयसम्म छोरा नफर्केकाले इन्द्रकी आमाले विचार गर्दा मत्र्यलोकको कान्तिपुरमा बाँधेर राखेको थाहा पाइन्। मान्छेको रूप लिएर उनी मत्र्यलोकमा आइन्। त्यसपछि माली र यहाँका मानिसले पारिजात टिप्ने त स्वर्गका राजा इन्द्र भएको थाहा पाए। उनीहरूले क्षमा त मागे, तर इन्द्रलाई छोड्न दुई सर्त अघि सारे। त्यतिबेला उपत्यकामा धान र गहुँ नपाक्ने भएकाले किसानहरू साह्रै हैरानीमा थिए। त्यसैले उनीहरूले धान र गहुँ पाक्नका लागि चाहिने बादल र हुस्सु जगात तिनुपर्र्ने र अर्को आफ्ना मरेका पितृको मुख हेर्न स्वर्ग लैजानुपर्ने सर्त थिए। यी सर्त स्वीकार गरेर इन्द्रकी आमाले छोरालाई छुटाइन्। कान्तिपुरका जनता पनि उनीहरूकै पछि लागेर दहचोक डाँडासम्म पुगे। त्यहाँ रहेको दहमा स्नान गर्न लाग्दा इन्द्रका आमाछोरा अलप भए। अलपत्रमा परेका नगरवासीले डाकिनी अर्थात् वसुन्धराले आफ्नो वचन पु¥याउँछिन् भन्ने विश्वास छाडेनन्। त्यही विश्वासका साथ प्रत्येक वर्ष यसै दिन श्रद्धालुहरू इन्द्रदहमा स्नान गर्न पुग्ने गर्छन्। त्यसैबेलादेखि काठमाडौंमा हुस्सु लाग्न थालेको मानिन्छ।  

यसै अवसरमा आ–आफ्ना पितृको स्मरण गर्दै बत्ती बाल्दै देशाटन गर्ने परम्परा पनि छ। भाद्र शुक्ल वामन द्वादशीको साँझ दीपयात्रा (मतछोयेके) गरिन्छ। त्यस बेला प्राचीन काठमाडौं नगर क्षेत्रको वरपर परिक्रमा गरेर आफ्ना पितृको सम्झना गरिन्छ। चतुर्दशीको दिनमा साँझ डाकिनी जात्रा हुन्छ। वर्षभरि जुन–जुन घरमा आफन्त दिवंगत भएका छन्, ती घरका सदस्य डाकिनी जात्रामा सहभागी हुन्छन्। डाकिनीलाई स्वर्गतिर फर्कन लागेकी इन्द्रकी आमा वसुन्धराको स्वरूप मानिन्छ। लामो बाँसको घारोमा बत्तीहरू बोकेर उनैको पछिपछि जात्रामा सहभागी हुने गरिन्छ। यसरी बत्ती बालेर हिँड्ने कार्यलाई ‘बँ मत’ अर्थात् ‘धेरै बाँसको बत्ती’ भन्ने गरिन्छ। यस ‘बँ मत’ बत्तीलाई स्वर्गको बाटो उज्यालो पार्ने बत्तीका रूप मानिन्छ। राति नै डाकिनी जात्रामा सहभागी बनेर दहचोक डाँडामा अवस्थित यंकी दह (इन्द्रदह)मा गएर स्थान गरी फर्कने परम्परा छ।  

जात्राकै क्रममा भाद्र शुक्ल द्वादशीदेखि नै आठ दिन हनुमानढोकाअगाडि देवी नाच, महाकाली नाच, लाखेनाच, टालाङ्ंकिसी नाच, दश अवतार नाच आदि प्रदर्शन गरिन्छ। मूलतः देवी नाच, महाकाली नाच, दश अवतार नाच आदि बेलुका नचाइन्छन्। लाखेनाच आदि दिउँसो नचाइन्छन्। यसरी इन्द्रजात्राको रौनक अझै बढाइन्छ।  

इन्द्रजात्राको अर्को महत्वपूर्ण पाटो हो, कुमारी रथजात्रा। इन्द्रजात्राकै क्रममा भाद्र शुक्ल चतुर्दशीको दिनदेखि काठमाडौंको वसन्तपुुर गद्दीबैठक अगाडिबाट जीवितदेवी कुमारीको रथजात्रा सुरु हुन्छ। यो क्रम इन्द्रजात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीको दिनसम्म नै कायम रहन्छ। यस अवसरमा भव्य कलात्मक रथमा जीवितदेवी कुमारीलाई विराजमान गराई नगरपरिक्रमा गराइन्छ। जीवितदेवी कुमारीका साथै जीवितदेव गणेश र भैरवको रथ पनि तानिन्छन्। जात्राका क्रममा पहिले गणेश, त्यसपछि भैरव र अन्तमा कुमारीको रथ तानिने परम्परा छ।  

छानेशैलीको रथमा ठूलाठूला चारवटा पांग्रा, बीचमा एउटा लामो धःमासिं (सत्तरी अर्थात् बिम) जडिएका हुन्छन्। त्यसमाथि गजुरसहितको छानेशैलीको देवकक्ष र त्यसको बाहिरपट्टि चारैतिर खुला कौसीजस्तो स्थान रहन्छ। देवकक्षभित्र जीवितदेवी कुमारी र पुजारी बसेका हुन्छन् भने बाहिर कौसीजस्तोमा अन्य सहयोगी रहेर रथ डो-याउने कार्य गर्छन्। रथलाई सयौँ जनाले मोटो लठारोले तानेर जात्रा अगाडि बढाइन्छ। गणेश र भैरवको रथ पनि कुमारीको रथकै आकार–प्रकारका हुन्छन्, तर कुमारीको रथभन्दा केही सानो हुन्छ।  

भाद्र शुक्ल चतुर्दशीको दिनमा वसन्तपुरको गद्दी बैठकअगाडि कुमारी, गणेश, भैरवलाई रथमा आरोहण गराइन्छ। सो दिन जात्रा हेर्न पहिले राजारानी समेत आउँथे भने अहिले राष्ट्रपतिको उपस्थितिले परम्परा धान्न थालेको छ। त्यस दिन गुरुजुको पल्टन र बाजागाजासहित रथजात्रा गर्दै काठमाडौंका तल्लो टोल अर्थात् मरु, चिकँमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेनस्थान हुँदै एक फन्को मारेर गद्दी बैठक अगाडि नै पु-याइन्छ।  

भोलिपल्ट पूर्णिमाको दिनमा काठमाडौंको माथिल्लो टोलहरू प्याफल, नरदेवी, बांगेमुढा, न्हैकन्तला, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुगेपछि श्वेतभैरव अगाडि पुग्दा जाँडरक्सीको प्रसाद बाँड्ने रोचक परम्परा छ। श्वेतभैरवको मुखबाट झारिएको जाँड प्रसादको रूपमा ग्रहण गर्न श्रद्धालुहरू तँछाडमछाड गरिरहेको दृश्य झन् रोचक देखिन्छ। अनि गद्दी बैठकअगाडि रथ पु¥याएर त्यो दिनको जात्रा सकिन्छ।  

त्यसपछि आश्विन कृष्ण चौथीको दिनमा अन्तिम दिनको जात्राको रूपमा माथिल्लो टोलहरू प्याफल, किलागल, इन्द्रचोक, हनुमानढोका हुँदै गद्दीबैठक र कुमारीघरकै छेउमा रथहरू बिसाएर जात्रा समापन गरिन्छ। त्यसै साँझ राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका ग्रहण गरेपछि कुमारी जात्राको साथै आठदिने लामो इन्द्रजात्रा पनि सकिन्छ।

यो जात्रा मनाइनुमा यस्तो किंवदन्ती रहेको छ।  

मध्यकालीन राजा त्रैलोक्य मल्ल साक्षात् तुलजा भवानीसँग बसेर त्रिपासा समेत खेल्थे। भवानीसँग भेट्न एउटा गोप्य कोठा थियो। त्यहाँ राखिएको यन्त्र छोरी मान्छेले हेर्नु र छुनु हुँदैनथ्यो। राजाकी गंगादेवी नामकी चुलबुले छोरी थिइन्। एक दिन उनी गोप्य कोठाभित्र पसेर त्यहाँ रहेको देवीस्वरूप स्थापित हीराको यन्त्र उठाएर हेरिन्। फलतः अर्को दिन देवी प्रकट भइनन्, बरु आकाशवाणी भयो, ‘राजन्, अब म तिम्रो सामु प्रत्यक्ष आउन सक्दिनँ। तिम्री छोरीले हिजो मेरो प्रतीक यन्त्र छोइन्। अब म शाक्य जातिकी एउटी कन्याको रूपमा मात्र भेटिनेछु।’ यस प्रसंगमा अर्को लोककथन पनि छ, एकपटक त्रिपासा खेलिरहँदा राजाले भवानीको अति सुन्दर रूप देखेर आशक्त भएर आफूलाई ट्वाल्ल हेरिरहेको चाल पाएर भवानीले प्रत्यक्ष दर्शन दिन छाडेकी हुन्। जे भए पनि त्यसपछि एउटी शाक्य कन्यालाई कुमारी मानेर पूूजा गर्ने चलन चलेको मानिन्छ।  

त्यस घटनाको धेरै वर्षपछि काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल एकपटक सत्ताच्युत भएका थिए। तुुलजा भवानी कुमारीको कृपाले उनी फेरि राजा बन्न सफल भए। तर राजा भएपछि उनले देवीको कुनै वास्ता गरेनन्। क्रुद्ध भएकी देवीले सपनामै भनिन् ‘यो राज्य अब तेरो रहने छैन।’ राजा जयप्रकाश साह्रै डराए। देवी कुमारीसँग माफी माग्न थाले। कुमारीलाई खुसी पार्न उनले पूजापाठ लगाए। क्षमा पूजा गराए। उनले आफ्नै दरबारअगाडि कलात्मक कुमारीघर निर्माण गराए। त्यहाँ जीवित कुमारीलाई सुबिस्तासाथ बस्ने चाँजोपाँजो मिलाइदिए। साथै, उनैले प्रत्येक भाद्र शुक्ल चतुर्दशीको दिनमा कुमारीको रथजात्रा चलाए। उनले धेरै वर्ष राज्य गर्न भने पाएनन्। गोर्खाका राजा पृथ्वीनारायण शाहबाट उनी सत्ताच्युत भए। नयाँ राजा पृथ्वीनारायण शाहले पनि जीवितदेवी कुमारीलाई श्रद्धापूर्वक पूजाआजा गर्ने प्रथा नियमित राखे। अहिले पनि पहिलेदेखि प्रचलनमा रहेको इन्द्रजात्राका साथसाथै कुमारी जात्रा पनि हरेक वर्ष धुमधामले मनाइने प्रथा कायमै छ।  

तर सरकारको संस्कृति र परम्पराप्रति अदूरदर्शी क्रियाकलाप (गुठीमाथिको हस्तक्षेप, संस्कृतिप्रतिको उदासीनता आदि) ले आक्रान्त बनेका सांस्कृतिक धरोहर जात्रा पर्वहरूलाई यस वर्ष कोभिड–१९ (कोरोना भाइरस)को प्रकोपले झन् थिलथिलो पारेको छ। यस्ता हाम्रा सांस्कृतिक धरोहर जात्रा तथा चाडपर्व नराम्ररी गाँजिएका छन्। घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा, बिस्केट जात्रा, भोटोजात्रा जस्ता महत्वपूर्ण जात्रा कोरोनाग्रस्त भएर रोकिए भने यस इन्द्रजात्राको पनि के हविगत ! तर यसपटक भव्यताका साथ जात्रा मनाउन नपाए पनि जीवन्त संस्कृति इन्द्रजात्रा अर्को वर्ष अझै जीवन्त बनेर उल्लास छर्न आउने छ भन्नेमा विश्वस्त छौँ, विश्वस्त रहौँ।

प्रकाशित: १३ भाद्र २०७७ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App