२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हरिप्रसाद भण्डारीका पाँच लघुकथा

लघुकथा

हरिप्रसाद भण्डारी 

१)  देवता  

 

“सिस्टर, म यहाँ आएको कति दिन भयो ? ” भावुक स्वरमा अञ्जनाले सोधिन् ।

“पन्ध्र  दिन, सात दिन त आइसीयुमै बस्नुभयो ।” शिरदेखि पाउसम्म सुरक्षा कवच लगाएकी नर्सले भनिन् ।

“पन्ध्र दिन ।” सासै सासमा अञ्जनाले भनिन् । यसो भन्दै गर्दा उनका आँखा रसाएर दुई थोपा आँसु तकियामा खसे । बिस्तारै उनको मनमा बाँच्ने आशा पलाउँदै गइरहेको थियो । त्यसैले ती आँसु दुःखका थिए कि खुसीका एकिन गर्न सकिनन् ।

“अञ्जनाजी,  कस्तो छ तपाईँलाई र?”  मायालु आवाज उनको कानमा ठोकियो । सुरक्षा कवचका कारण आगन्तुकको अनुहार ढाकिएको थियो । तैपनि उनले चिनिन्, उनी डां विकास थिए । त्यो मलहम मिश्रित आवाज उनले अस्पताल आएदेखि नै सुन्दै आइरहेकी थिइन् ।

अञ्जना बोल्न नभ्याउँदै डाक्टरले भने, “नआत्तिनोस्, अब तपाई खतरामुक्त हुनुहुन्छ ।”

सुरुको अवस्था सम्झेर अञ्जनाको छाती चरक्क चर्कियो । मनमनै भनिन्, “कति डरलाग्दो रोग । नित्य पूजा गर्ने देवीदेवतासँग प्राण रक्षाको भीख माग्दा पनि पीडा कम भएको थिएन । बाँच्ने आशा मरिसकेको थियो । उहाँहरूले गर्दा नयाँ जीवन पाएँ ।”

“यो औषधि खानुस् ।” नर्सको आवाज सुनेपछि उनी झस्किन् ।

औषधि लिँदै उनले सोधिन्, “डाक्टर साहेबलाई सधै यहीँ देख्छु । घर गएको जस्तो पनि लाग्दैन ।”

“कोरोनाको सङ्क्रमण देखिन थालेपछि उहाँ यहीँ बसेर बिरामीको सेवा गर्नुभएको छ । उहाँले गर्दा धेरै बिरामी निको भएका छन् । उहाँको सेवाभाव देखेर हामीलाई पनि काम गर्न हौसला मिलेको छ ।”

निको भएर घर जाने बेला अञ्जनाले डाक्टरसँग अनुरोध गरिन्, “डाक्टर साहेब हजुरको एउटा फोटो लिन मिल्छ ?”

“किन र ?” अचम्म मान्दै डाक्टरले सोधे ।

“पूजा कोठामा राख्न ।” मायालु आवाजमा अञ्जनाले भनिन् ।

 

२)   इस्  

 

“हामी बलिया छौँ ।”

“इस् ”

“हामी धनी छौँ ।”

“इस् ”

“हामीसँग संसार जित्न सक्ने हतियार छन् ।”

“इस् ”

“हामीले चाह्यौँ भने संसारको जस्तोसुकै शक्तिलाई पनि परास्त गर्न सक्छौँ ।”

“इस् ”

“तँ को होस् इस् इस् भनेर हामीलाई खिसीट्युरी गर्ने रु”

“कोरोना भाइरस अर्थात् कोभिड १९ १”उसले भन्यो ।

 

३) सामाजिक दूरी  

 

“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई र?” असह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो ।

छोरी पनि के कम । रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर बाँचेको तपाईँको देश होइन । यहाँ हामीजस्ता युवतीहरू स्वतन्त्र रुपमा हिँड्न पाउने कानुन छ । म जे गरूँ, जसो गरूँ तपाईँलाई के चासो र?”

छोरीका कुरा सुनेपछि दयारामको मन नेपालतिर फर्कियो ।

अधिकृत स्तरको जागीर, शहरमा घर, दुई चारजना हाइ–हेल्लो गर्ने साथीभाइ र आफन्तहरू । उसले श्रीमतीको डिभी परेको थाहा पाएर खुशीले उफ्रेको घटना सम्झियो । त्यसपछि मनमनै भन्यो, ‘साला त्यस्तो रजगज छोडेर आइयो । अहिले रेष्टुरेन्टमा जुठाभाँडा उठाउनुपरेको छ ।’

त्यस्तैमा कोठाबाट बाहिर निस्कँदै श्रीमतीले भनी, “छोराछोरीहरू आफ्नो खुट्टामा आफै उभिने भैसके । नानीदेखि लागेको बानी अझै छुटेको छैन । यो गनगन कहिलेदेखि छुट्ने होला ?”

दयाराम केही बोलेन । अपराधीजस्तै घोसेमुन्टो लगाएर सोफामा बसिरह्यो ।

छोरी बोली, “बुबा अबदेखि मेरो बारेमा टिकाटिप्पणी गर्ने वा मलाई असल बाटो देखाउने साहस नगर्नु होला, भन्द्या छु ।”

श्रीमतीले थपी, “सकेको काम गर्नु, चूप लागेर बस्नु । बुढेसकालमा किचकिच गरेको राम्रो हुँदैन ।”

दुईतिरबाट आएका तीखा शब्दबाण काट्न दयारामलाई हम्मेहम्मे परयो । केहीबेर सोचेपछि उसले भन्यो, “चारैतिर कोरोना भाइरस फैलिएको छ । मान्छे मर्ने क्रम जारी छ । यस्तो बेलामा सामाजिक दूरी कायम गर्दा राम्रो हुँदैन र ?”

 

 

४)  अञ्जली

 

अञ्जली हातमा मोवाइल खेलाउँदै बैठक कक्षमा आई ।

उसले सधैँ घर बस्दा लगाउने हल्का टीसर्ट र खुला पाइजामा लगाएकी थिई । अनुहारमा कुनै मेकप थिएन ।

बैठक कक्षमा छ जना मानिसहरू थिए । अञ्जनीका बुबा, काका र अरु चार जना अपरिचित व्यक्तिहरू ।

बैठक कक्षमा प्रवेश गर्नासाथ उसले सबैलाई सामूहिक नमस्कार गरी । खाली सोफामा बसी र मुस्कुराउँदै बोली, ‘ मेरो नाम अञ्जली, भर्खर स्नातक पुरा गरेकी छु । उचाई पाँच फुट चार इन्ची, तौल ४३ किलो, कपाल कालो, अनुहार गहुँगोरो । पढाइ बाहेक भान्सा र घरका अन्य काम गर्न जानेकी छु । अहिलेसम्म कहीँ, कतै, कसैसँग मेरो मायाप्रीति बसेको छैन ।’

त्यै बेला फोनको घण्टी बज्यो । उठाउँदै बोली, ‘ शान्ता एकैछिन् ल, केटा पक्षबाट मलाई हेर्न आउनुभएको छ । एकछिन्पछि कुरा गरौँला ।’

फोन राखेपछि उसले मुस्कुराउँदै सबैका अनुहारमा हेरी । उनीहरुको अनुहार निचोरेको कागतीजस्तै देखियो । बुबा र काकाको अनुहार त झन् वर्षन लागेको बादलजस्तै बनेको थियो ।

उसले नजिकै सोफामा बसेको केटातर्फ सङ्केत गर्दै सोधी, ‘ हजुर नै हो मलाई हेर्न आउनुभएको ।’

केटो अकमकियो । केही बोलेन । आफ्नो बुबातर्फ हेरेर लामो सास फेरयो ।

केटो नबोलेको देखेपछि उसैले भनी, ‘ मै मात्रै बोल्नेभएँ । खैर, आजसम्म मलाई हेर्न आउनुभएको तपाईँ दशौँ केटा हो । सुरुसुरुमा म निकै राम्री भएर पेश भएँ तर कसैले राम्री भनेनन् ।’

मुस्कुराउँदै उसले भनी, ‘ कसैले हाइट पुगेन भने । कसैले केटाभन्दा अग्ली भने । नाक अलिकति टेडो, पतला ओँठ, एउटा दाँत नमिलेको यस्तै यस्तै खोट देखाए । मन नपरेपछि अनेकौँ आरोप लगाउँदा रहेछन् मानिसहरू । त्यसैले आज सामान्य पोशाकमा आएकी हुँ । मेरो वास्तविकता यही हो । हेर्नोस्, राम्ररी हेर्नोस्, जाँच्नोस् ।’

भित्तातिर फर्केर लामो सास फर्दै भनी,  ‘हामी नारीहरु खसी बोका सरह जोखिन्छौँ, नापिन्छौँ ।’

अर्को दिन केटाको म्यासेज आयो, ‘ मलाई तिमी मन परयौ । विवाहको कुरो छिन्न आउँदै छौँ । अस्तिकै जस्तो पोशाक लगाएर बस्नु ।’

 

५) भुँडी  

 

“बन्दाबन्दीले गर्दा तपाईँको भुँडी त ह्वात्तै बढे छ नि है श्यामजी ”आफ्नो भुँडीलाई टेबुलमा अडाउँदै हाकिमले भन्यो ।

आफ्नो भन्दा दुई गुना ठूलो हाकिमको भुँडीतिर हेर्दै र ङिच्च दाँत देखाउँदै श्यामले भन्यो, “हजुर ”

प्रकाशित: १० भाद्र २०७७ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App