नानुमैया दाहाल
१
कुनै मृत्यु प्वाँखजस्तै मूल्यहीन हुन्छ
कुनै मृत्युले आफन्तको सम्म दिल छुन्छ
जब हुन्छ दुनियाँमा कुनै अमर मृत्यु
पीडा थाम्न नसकेर सिङ्गो देश रून्छ ।
२
ऐन, कानुन मिचेर ऊ सुशासनको कुरा गर्छ
दिशाहीन छ कार्यशैली समृद्धिको स्वप्ना छर्छ
गर्छ सधैं वारिबाट पारि जाने यात्राको बयान
भत्काइसक्यो पूल आफैंले खै कसरी नदी तर्छ रु
३
मालिक र नोकर दुवै नभएको सुन्दर हुन्छ फूलको देश
मालीप्रति उच्च सम्मान रहेको सुन्दर हुन्छ फूलको देश
बराबर मलजल पा’का हुन्छन् बिना विभेद फूलहरूले
सुगन्ध र लाल सौन्दर्य छाएको सुन्दर हुन्छ फूलको देश ।
४
सृष्टिकर्ता हो नारी उहीमाथि दमन छ
ममताकी खानी हो नारी उसकै प्रेम अमन छ
पराधीन छ जीवन उसको दासी भै बाँच्नु पर्दछ
तैपनि सहन्छे नारी उहीमाथि विष वमन छ ।
५
निरंकुशताको जन्जिर तोड्ने शहीदको खुन प्यारो
अध्यारोमा ज्योति छर्ने पूर्णिमाको जून प्यारो
समाजमा भा’का सबै खाले विभेदको अन्त्य गर्न
एक भै जुट्न अह्वान गर्ने बासुरीको धुन प्यारो ।
६
परिवर्तनका नाराले
विश्वास गरे साराले
अहिले सबै वाक्क छन्
तिम्रो वेढंगी पाराले ।
७
हिमाल, पहाड, तराइले मैत्रीभाव गाँसे राम्रो
एकताको विकल्प छैन संकीर्णता मासे राम्रो
हाम्रो श्रम, उसको सीप अनि तिम्रो योजनामा
आत्मनिर्भरताको पथ निर्माण गरी हाँसे राम्रो ।
प्रकाशित: ५ भाद्र २०७७ ०९:०२ शुक्रबार