अन्जना पौडेल अनुश्रुति
अघिल्लो दिन फोन गरें, भाउजूले फोन उठाउनुभयो । उहाँले बुबासंग सोधेर मलाई भन्नु भो, ‘बुबासंग भेट्न बिहान एघार बजेतिर आउनुस् न । म प्रायः कलेजमा क्लास सकिएपछि बुबाको घरमा जाने गर्दथें ।
रगतको नाता सम्बन्ध आफ्नो ठाउँमा छ नैं । तर, भावनाको नाता यति प्रगाढ भयो कि बुबा म जानेबित्तिकै हौसिदै खुसी भएर कवितामै बात मार्नुहुन्थ्यो ।
आई कहिल्यै पनि नसकिने चैतवैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रित नौलाख मेरा
क्यै काम नौलो नगरी नजाउँ
अकालमा हे ममरी नजाउँ ।
अहिले कोरोना महामारीको अनुभव, मृत्युबारे चिन्तन कस्तो छ होला बुबाको सोध्न जाने सुरमा थिएँ । हजुरसंगै गएँ , सपना र योजना–रातभरि निद लागेन, सत्य नहोस् भनेर कामना गरें, तर जति रोएँ पनि बिउँताउन सकिएन बालाई ।
श्रीमानले भन्नुभो –माधव बुबा त जानुभएछ नि सानु । साँझ पाँच पचपन्न बजे यो संसार छोडेर जानुभएछ ।
समाचारमा आइसकेको रहेछ, बिमारी भएर कोठा र ओछ्यान नैं साथी भैरहेको बेलामा कुनै समाचार र सामाजिक संजालमा आँखा गएन । लमजुङका गहना, यो देशका सान, मान अनि गौरव यसरी सुटुक्कै हामीलाई छोडेर जानुभएको खबर त सुरुमा मिथ्याजस्तै लाग्यो ।
यो खबर सुनेर नौनाडी गलेर आए, भावविह्वल भएँ, स्तव्ध भएँ, मर्माहत भएँ । आँखा चिम्म गरें, संसारै अँध्यारो, शून्य , महाशून्य लाग्यो ।
अनि मोवाइल हेरें, संजालभरि फैलिएको रहेछ समाचार ।
हरे ऋतम्भरा महाकाव्यको अन्तिम सर्ग पनि पूरा गर्न दिएन ईश्वरले । उफ् हे ईश्वर तेरो लीला अपरम्पार छ ।
आज र राति के देखें सपना मै मरिगएको
कहाँ हो कहाँ बादलबीच मै रोइरहेको
कस्तो अकस्मातको निधन, कस्तो बेखबरको निधन । न कुनै विमारी न कुनैं अस्पताल । उहाँले आफ्नो निधनबारे पनि पूर्व जानकारी पाउनुभएको जस्तो । उहाँको गीतका प्रत्येक शब्दहरूमा सुने, देखें, जुन गीत निधनपछि मात्र बजाउने उहाँको इच्छा रहेछ र मृत्युअघि नसुन्ने बाचा गर्नुभएको रहेछ –
सुन्दर सृष्टि निहारी सुखैले चिम्लुँ नयन
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर
भुईंमा बिनापवन
त्यसरी होओस् मरण
।
लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएर हाल काठमाडौको लैनचौरमा बस्दै आउनुभएका माधव घिमिरे बुबाले सदा मलाई छोरीको व्यवहार गर्नुभयो ।
लमजुङकी चेली भएकाले पनि बढी सामीम्य रह्यो बुबासंग मेरो । विभिन्न साहित्यिक कार्यको सिलसिलामा जबजब उहाँलाई भेट्न पुग्थें । उहाँ खुसी हुँदै मलाई स्नेहले अंगाल्दै मेरी चेली आइन् भनेर दंग पर्नुहुन्थ्यो –
कति कामले आयौ चेली मेरो घरमा
केके लेखिल्यायौ भन तिमीले रहरमा
कहिलेकाहीँ कवि हिरा परियार र मसंगै जान्थ्यौं उहाँलाई भेट्न । तर, उहाँमा कहिल्यै उचनीच, छुतअछूत र भेदभावको तिलसम्म भेटिएन । समान व्यवहार थियो बुबाको हामी दुवैप्रति ।
‘लाएर माया मुटु रित्तिदैन’ भनेर हामी दुवैलाई आशीर्वाद दिदैं कविता सुनाउनुहुन्थ्यो ।
आँगनीछेउ गाइने गाउँछ दिलको सवाई
अछूत भाइ हृदय छुन्छ सारंगी बजाई
सबैको एकै हाड र मासु रंग र रोगन
देहमा दिल दिलमा ईश्वर अछूत नभन
बालकैदेखि मेरी आमाको मुखबाट ‘गौरी’ सुन्दै हुर्किएकी म शान्ति र कान्ती दिदीहरूलाई भेट्दा पनि भावुक हुन्छु ।
यी रोए पनि दुख लाग्छ यिनले संझे कि आमा भनी
यी हाँसे पनि दुख लाग्छ यिनले बिर्से कि आमा भनी
गौरी, मालतीमंगले, आफ्नै बाँसुरी आफ्नै गीत, राजेश्वरी, राष्ट्रमाता, अश्वथामाजस्ता लोकप्रिय र कालजयी कृतिका सर्जक राष्ट्रकवि माधव घिमिरे बुबाले मलाई सधैं हौस्याउनुहुन्थ्यो – लमजुङको हावापानीमा जन्मे, हुर्केकी छोरी हौ तिमी, हिम्मतीली भएर अघि बढ, अवश्य सफलताले तिम्रो शिरमा अवश्य चुम्नेछ । यो प्रेम, यो स्नेहले म पुलकित हुन्थें ।
‘साँच्चैं प्रेम कसैको कमजोरी कमजोरी हुनु हुँदैन, हिम्मत हुनुपर्छ । कमजोरीले मानिसलाई सिध्याउँछ, हिम्मतले सदा मानिसलाई प्रगतिमार्गमा लम्कन सघाउँछ ।’
राष्ट्रप्रेमी राष्ट्रकविले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्दै सदा गुनगुनाउनुहुन्थ्यो ।
‘कहिल्यै पीरमा नबस्नु है, पीर परयो भने झ्यालबाहिर नजर लगाउनु। हिमाल, पहाड, बादल र रुखविरुवा, पात हेर्नु अनि खुसी हुनु । मलाई हौस्याउनुहुन्थ्यो– छोरी खूब पढ्नु , प्रगति गर्नु, कविता लेख्नु, यो स्वर्गजस्तो देश नेपाल हेरेर’–
गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जयजय हे नेपाल
सुन्दर शान्त विशाल
संधै तौरताजा रहने र हंसीमजाक गर्ने बुबाको अनुहार झलझली संझिइरहें । रातभरि निद्रा लागेन । आज कुशेऔंशी, बुबाको मुख हेर्ने दिन, कस्तो विडम्बना आजै अन्त्येष्टि उहाँको ।
हजुर यस धर्तीमा नरहे पनि हजुरले पुस्तौपुस्तालाई आफ्ना अजर अमर कृतिहरू उपहारस्वरूप छोड्नुभएको छ । हजुर सदा अमर रहनुहुनेछ बुबा, हर नेपालीको मनमनमा ।
भावविह्वल भएकी छु, स्तव्ध छु, मर्माहत भएकी छु । आफैं विमारी भएर घरमा थन्किइरहेकी छु । आखिरीमा आज अन्तिम श्रद्धाञ्जली दिन पनि जान सकिनँ । साह्रै स्तव्ध र मर्माहत छु । पीडाबोध रनथनिएकी छु ।
आँखाभरिको आँसु र मुटुभरिको वेदना खोई कसलाई सुनाऊँ र । जुन घाउले दिएको पीडा देखाउन मिल्दैन, बस् मुटुभित्रै महसुस गर्न सकिन्छ । न त रोएर नैं सकिन्छ न त धोएर नैं पखालिन्छ ।
१०२ वर्ष, अझ भनौं एउटा युग अस्ताएको छ या यो आकाशबाट, यो धर्तीबाट ।
अन्तिम सम्बोधनसहित राष्ट्रकवि माधवप्रसाद घिमिरे बुबाप्रति अश्रुपुरित श्रद्धाञ्जली अर्पण गर्दछु ।
फूलको थुंगा बहेर गयो गंगाको पानीमा,
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।
प्रकाशित: ३ भाद्र २०७७ ०९:०२ बुधबार