२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्पृश्यता एक सामाजिक रोग

अस्पृश्यता, एउटा सामाजिक रोग हो। विश्वका अधिकांश देशमा यसको प्रभाव देखिन्छ, तर पश्चिमा देशमा रहेको भेदभाव छुवाछुत हाम्रो सन्दर्भमा भन्दा केही फरक प्रकारको भए पनि चाँडै त्यसको प्रभावलाई न्यून तुल्याउन सफल भए। खासगरी सिन्धुघाँटीबाट प्रवेश गरेका आर्यको प्रभाव गंगा–जमुना नदी आसपासमा विकास हुँदै गर्दा यस खण्डमा अस्पृश्यताको कलंकित छाया नराम्रोसँग पर्न गएको पाइन्छ। सिन्धुबाट प्रवेश गरेका कारण युनानीले उच्चारण गर्दा उनीहरूको जिब्रोले ‘स’लाई ‘ह’ उच्चारण गर्ने हुँदा यस भूखण्डमा बसोबास गर्नेलाई उनीहरूले हिन्दु भनेको तथ्य उजागर हुन आउँछ। आज हिमवत खण्डको पृष्ठ स्थलको रूपमा रहेको आजको आर्य समाजको प्रभाव रहेको स्थललाई हिन्दुस्तान भनी संसार गरी चिनिँदै आएको छ।

हाल नेपालमा जारी २०७२ सालको संविधान मातहत बनेका कानुनले नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने गहुँगोरो वर्ण, लामो नाक भएका ब्राह्मण, क्षेत्री, दशनामी, कामी, दमाई, सार्की तथा वादी समुदायलाई खसआर्य भनी परिभाषित गरेको छ। नश्लीय दृष्टिकोणले भारतको गंगा जुमना नदी किनारमा विकास भएको आर्य सभ्यतालाई वैदिक आर्य भनिन्छ भने हिमवत खण्डमा इरानको खसिस्लानदेखि क्रमशः पूर्वतर्फ बसाइँ सर्दै सभ्यता विकास गर्दै अघि बढेको आर्य समाजलाई खस आर्य भन्ने गरिएको छ। हिमवत खण्डका आर्यको शरीर तथा अनुहारको बनोट तल्लो तटीय क्षेत्रका आर्यसँग मिल्दोजुल्दो भए पनि नश्लीय हिसाबले फरक जातिका हुन्। सुमेरु पर्वतमालाको २४०० किमि लामो हिमवत खण्ड र त्यसको वक्ष भागमा रहेको भारत वर्षको आर्य समाजको धार्मिक तथा सांस्कृतिक प्रभाव स्वाभाविक रूपमा पर्न गएका कारण कतिपय राम्रा–नराम्रा दुवैखाले रीतिथिति, चालचलन अन्तर्घुलित हुँदै हामीमा पर्न आएको देखिन्छ।

ईपू १५०० आसपासबाट ईपू १००० मा लिखित सर्व श्रेष्ठ ऋग्वेदमा तत्कालीन समाजलाई कार्य विभाजन गर्दा कर्मको आधारमा ब्राह्मणलाई मुख तथा शिर भागको प्रतीक, दिमागी कार्यको जिम्मा (पठनपाठन शिक्षादिक्षा) लगाइयो भने भुजाको प्रतीक क्षेत्रीलाई बलबाहु, बल ताकत, सुरक्षा, राज्य सञ्चालन आदिको पर्यायको रूपमा परिभाषित गरियो। त्यस्तै, खेती किसानी, राज्यलाई कर तिर्ने, पोषण गराउने वर्गको रूपमा वैश्यलाई चित्रण गरियो, भने समाजमा सेवा कार्य गर्न, परकल्याणको कार्य गर्ने, सीपयुक्त कार्य गर्ने, समाजको आवश्यकता पूरा गर्ने वर्गलाई शूद्रका रूपमा परिभाषित गरियो।

समय क्रममा ऋग्वेदको यो परिभाषा स्थिर रहन सकेन। तत्कालीन शासक वर्ग ब्राह्मण र क्षेत्रीहरूले उत्तर वैद्धिक काल (ई. पूर्व १०० देखि ६०० सम्म आइपुग्दा नै ऋग्वेदकालीन वर्ण व्यवस्था तोडी जन्मको आधारमै जात कायम हुने बनाइसकेका थिए। कर्मको आधारमा विभाजित वर्ण व्यवस्था स्वतः जन्मको आधारमै हुने भएबाट वर्ण विभाजनलाई उत्तर वैदिककालमा जातमा रूपान्तरण गरियो।

हिन्दु धर्मभित्र सबैभन्दा आलोचित विषय नै जातीय विभेद हो। विभेदकै आधारशिलामा हिन्दू वैदिक सनातनी धर्म टिकाउने जुन दुस्साहस गरियो, आज त्यही विभेदलाई हटाउन हिन्दु समाजलाई फलामको चिउरा बनिरहेको छ।

यसै बिन्दुबाट समाजमा शासक र शासितको वर्ग विभाजन भयो। जसको आधारमा शासकीय शक्ति भएकाले निर्धोलाई विभेद गर्न सुरु भयो। कालान्तरमा गएर छुवाछुतको रूपमा सारा शासित पीडित तथा विभेदीकरणको सिकार हुन पुगे। आज आम आर्य समाजभित्रको जोडदार कलंकको रूपमा अस्पृश्यता (छुवाछुत) रहँदै आएको छ। आर्य समाजको विकास क्रमको यी बितेका ३५०० वर्षभित्र समाजमा व्याप्त हुन आएको यो कलंकित चलनले अन्य विकसित देशका सामु आर्य समाजले शिर झुकाउन बाध्य तुल्याएको छ।

उत्तर वैदिककालको अन्ततिर जन्मिएका बुद्धले वैदिकले सिर्जना गरेको छुवाछुत तथा वर्णाश्रमका विरुद्ध जेहाद छेडे पनि कालान्तरमा उनको प्रयास पर्याप्त नभएको प्रमाणित हुन्छ। बुद्ध तथा बौद्ध धर्म नै पछि गएर छुवाछुतको कोपभाजनमा परी भारत खण्डबाटै विलीन हुन पुग्यो। ईश्वी सम्वत्पछि स्थापित सबै भारतीय शासकले अस्पृश्यतालाई मलजल नै पु¥याए। कैयौँ अकालमै जीवन घुमाउनुप¥यो भने बाँचेकाले पनि सन्तानदर सन्तानसम्म नारकीय जीवन बिताउनुप¥यो, भारत वर्षमा मुगलको आक्रमण भएपछि त झन् धार्मिक अस्पृश्यता समेतको प्रवेश हुन गयो भने अंग्रेजहको प्रवेशसँगै रंगभेदको नयाँ स्वरूपको अस्पृश्यता समेत भोग्न बाध्य भए। आधुनिक कालको भारत वर्षमा ईसं १८९७ मा जन्मिएका दलित नेता बाबा साहेब अम्बेडकरको समयबाट पहिलोपटक अस्पृश्यता बारेमा जोडदार आन्दोलन मात्र उठेन कि दलितलाई संवैधानिक रूपमै अधिकार सम्पन्न बनाउन बाध्य तुल्यायो। तसर्थ, भारत वर्षका पछिल्ला ३५०० वर्षमा छुवाछुतको विभेदीकरणले विश्व कृतिमान नै कायम ग¥यो।

पश्चिमा देशमा पनि हुने खाने र गरिब, मालिक र श्रमिक, बहुसंख्यक र अल्पसंख्यक विजयी र विजितका बीचमा विभेद थियो, अन्याय अत्याचार रहे पनि हाम्रो आर्य समाजमा जातको कठोर अस्पृश्यता रहेन तथापि वर्ण भेदमा पारेर अधिकारबाट वञ्चित गर्ने, बँधुवा मजदुर बनाएर बेच्ने आदि घटना पश्चिमा समाजमा पनि रहेकै थिए, तर उनीहरूले समाज विकाससँगै यस्ता घटनालाई कानुनद्वारा निरुत्साहित गर्दै लगे भने त्यसको ठीक विपरीत हाम्रो भूखण्डमा रहेका आर्य सभ्यतामा कानुनद्वारा नै विभेदको जालोलाई कसिलो बनाउँदै लगियो। यसै मेसोमा निर्माण भएका उपनिषद् तथा मनुस्मृति नै मुख्य कानुनका रूपमा प्रयोग गरियो र सम्पूर्ण आज्ञा ईश्वरको हो भन्ने झूटा आधार खडा गरी समाजलाई अन्धविश्वासमा चुर्लुम्मै डुबाउने कार्य भयो। जुन कुरा प्रथाका रूपमा हाम्रो समाजमा यसरी जकडियो कि त्यसविरुद्ध करिब २५०० वर्ष कसैले बोल्ने हिम्मत नै गरेन वा बोलेको कुरा लागू गर्नै सकेनन्। जसको परिणाम स्वरूप हाम्रो समाजमा व्याप्त सामाजिक रोगका रूपमा अस्पृश्यताको कलंकित टीका लगाइरहेछौँ। संसारमा प्राणी धेरै प्रजातिका भए पनि उनीहबीच विभेद छैन, तर हामी मानिस भएर पनि एक प्रक्रियाबाट जन्म जरामरण भए पनि यिनै बीच विभेदको पर्खाल खडा गरेर हामीले हाम्रो समाजलाई चरम दूषित तुल्यायौँ।

हिन्दु धर्मभित्र सबैभन्दा आलोचित विषय नै जातीय विभेद हो। विभेदकै आधारशिलामा हिन्दू वैदिक सनातनी धर्म टिकाउने जुन दुस्साहस गरियो, आज त्यही विभेदलाई हटाउन हिन्दु समाजलाई फलामको चिउरा बनिरहेको छ। जातीय विभेदभित्र घुलित गरिएको अन्धविश्वासलाई एकैपटक ध्वस्त बनाउन कति कठिन भएको छ भन्ने कुरा भारतीय समाजमा व्याप्त कु्रीति बाटै छर्लंग हुन्छ।  

हाम्रो नेपालकै सन्दर्भमा हेर्दा मित्र राष्ट्रबाट उपहारस्वरूप प्राप्त सबैभन्दा कुरूप कुप्रथा नै जातीय विभेद रहेको छ। नेपालका खसआर्य शासक करिब १४÷१५ औं शताब्दीसम्म पनि बौद्ध धर्मावलम्बी थिए, त्यसै गरी प्रजा पनि। भारत वर्षमा मुगल आक्रमणपछि वैदिक आर्यको सांस्कृतिक प्रभाव एकैचोटि नेपालमा आक्रमण ढंगबाट पर्न गयो।  

नेपाल उपत्यकाका शासक जयस्थिति मल्ल (जो वैदिक आर्यका सन्तान थिए नै त्यसको पक्ष पोसक समेत थिए) १६औं शताब्दीमा चार वर्ण ६४ जातको विभाजन गराए। काठमाडौंको नेवार सभ्यतालाई विभाजित गर्ने कार्य भयो। नेपालका अन्य जाति (मतवाली) हरूमा जातीय विभेद करिब–करिब शून्य छ। गुरुङ जातिमा रहेको चार थर र १६ थरको विभेद पनि राणाकालमै समाप्त भयो। भने अन्य जनजातिमा जातीय विभेद शून्यप्रायः छ, तर राणा शासनकालमा ब्राह्मणलाई अग्राधिकार प्राप्त विभेदकारी नियम कानुन बनाई लागू गरियो। २००७ सालसम्म खसजातिमा रहेको जातीय विभेदको जरा निकै गहिरो रहे पनि हालका दिनमा ती जरा क्रमशः खलबलिन थालेका छन्। हाम्रो तराई मधेसमा व्याप्त वैदिक आर्यले अन्तर्घुलित गरेको जातीय विभेद र अन्धविश्वासको जरा निकै गहिरोसँग जकडिएको छ। जसलाई खलबल्याउन मधेसी समुदायबाटै विभेदीकरण विरुद्ध, अस्पृश्यता विरुद्ध अन्धविश्वासको जगमा टिकेको रुढीवादलाई उखेलेर फ्याँक्न जरुरी छ। भर्खरै रुकुममा घटेको जातीय विभेदको विभत्स घटना तथा नेपालको तराईमा समय–समय बाहिर आउने छुवाछुतका शृंखलावद्ध घटनाले हाम्रो समाजको कुरूप अनुहार दर्पणमा देखाइरहेछन्।

जातीय विभेद र अन्धविश्वासी रुढिवादलाई धर्मसँग जोड्नु अर्को पाखण्ड हो। तथापि आज हाम्रो समाजमा कानुनले निषेध गरिसकेपछि त्यस्ता कार्यले मानिसको जीवनको प्रत्येक आयाममा केही न केही प्रभाव पारिरहेको छ। तसर्थ समाजका अगुवा, राजनीतिक कार्यकता तथा सरकारका प्रतिनिधिले यस्ता कुरीतिविरुद्ध स्पष्टसँग आफ्नो धारणा राख्नुपर्छ। साथै समाजका प्रत्येक सुझबुझ भएका मानिसले तथाकथित दलितको सर्वस्वीकार्यतामा बुद्धि गर्दै कानुनले दिएको अधिकारको निर्बाध उपयोग गर्ने वातारण तयार पार्न सक्नु नै आजको प्रथम कर्तव्य हो।

प्रकाशित: १७ श्रावण २०७७ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App