९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘कोरोना कहरका बीचमा भगाउँदै डर, लागियो मेट्न रहर’

(कालो बादल मडारिइ रहेको छ  

आज दिन काट्न पनि गाह्रो भयो

बिहान दिउँसो साँझ छाक काट्न पनि गाह्रो भयो

कहिले बाढी, कहिले पहिरो, भुइँचालो नि आयो

यो साल त झन् कोरोनाले विश्वलाई नै रुवायो ।)

उक्त हरफ पोखरास्थित त्रिभुवन शान्ति नमुना विद्यालयमा अध्ययनरत छात्रा भुमिका पौडेलको कविताबाट लिइएको हो । कक्षा ९ मा अध्ययनरत पौडेलले विश्व बाल कविता महोत्सवमा अहिलेको यस कोरोना महामारीसँग सम्बन्धित ‘गरिबको कथा’ शीर्षकको कविता प्रस्तुत गरेकी छन् । उनको कविता शैली थिएटरको अफिसियल युट्युब च्यानल बाट प्रसारण जेठ ३१ गते प्रसारण भएको थियो ।  

शैली थिएटर र ईसानको सहकार्यमा पहिलो पटक आयोजना गरिएको ‘विश्व बाल कविता महोत्सव २०७७’ मा पौडेल जस्तै विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीका कविता प्रसारण भइरहेका छन् । शैली थिएटरले आफ्नो अफिसियल युट्युब च्यानल बाट जेठ ३० गतेदेखि नियमित कविता प्रसारण गर्दै आएको छ ।  

विद्यालय स्तरको कविता प्रतियोगिता भएकाले शैक्षिक सत्र २०७६ मा एसइई दिएका वा सो भन्दा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएको आयोजनको भनाई छ । आयोजकका अनुसार महोत्सवमा देश र देश बाहिर बाट गरेर जम्मा एक सय २२ कविता सामेल भएका थिए । बैशाख ३१ गतेसम्म कविता आउने अन्तिम मीति सकिए संगै सम्पुर्ण प्रक्रिया पुर्याएर आएका ८७ कविता मात्र प्रतियोगितामा समावेश भएको र हालसम्म २० वटा कविता प्रसारण भइसकेको महोत्सव संयोजक सरस्वती अधिकारिले बताइन् ।

१६ दिनसम्म भित्रमा कविता प्रसारण गरेर सकिने र त्यसको एक हप्ता भित्रमा नतिजा प्रकाशित गरिने समेत अधिकारीले जानकारी दिइन् । उनका अनुसार नतिजा घोषणासंगै पुरस्कार राशी पनि तोकिनेछ भने पुरस्कार वितरणको काम शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवमा गरिनेछ ।

लकडाउनको समयमा बालबालिकालाई सिर्जनात्मक हुन प्रेरित गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव निर्देशक तथा शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बताए । ‘महोत्सवमा नेपाल र नेपाल बाहिर रहेका नेपाली बालबालिकालाई लक्षित गरेता पनि देश भित्रबाट जुन हिसाबले विद्यार्थीको सहभागिता भयो देश बाहिरबाट त्यति भएन,’ अध्यक्ष बुढाथोकी भन्छन्, ‘यो हाम्रो लागि एउटा अनुभव पनि हो, हामीले नेपाली भाषामा मात्र कविता आह्वान गरेकाले विदेशमा बस्ने बालबालिकालाई सहभागी हुन अप्ठ्यारो परेको हुन सक्छ । हामीले त्यसको महसुस गरेका छौं ।’

नेपालको सन्दर्भमा भने सातै प्रदेशबाट कविता आएको उनले बताए । साथै बाह्य देशको सन्दर्भमा भारतबाट ६ वटा र अमेरिकाबाट १ वटा गरी जम्मा ७ वटा मात्रै कविता आएको उनले जानकारी दिए ।

झापामा रहेर प्रदेश संयोजकको जिम्मेवारी निभाएकी प्रदेश १ कि संयोजक सृष्टि आचार्य भन्छिन्, ‘यस्तो परिस्थितिमा हामीमाझ जति कविता उपलब्ध भए हामी त्यसमै खुसी छौं, बालबालिकाको सिर्जनशिलता र साहित्यप्रतिको लगाव देखेर हामी सन्तुष्ट हुने ठाउँ धेरै छ ।’ आगामी दिनमा नेपाली कविताको भविष्य नै यिनै बालबालिकाको हातमा भएकोले यस्ता किसिमका महोत्सव र प्रतियोगिताले बलियो आधार खडा गर्ने र आगामी दिनमा पनि यस किसिमका महोत्सवको आयोजना गर्न आवश्यक रहेको उनले बताइन् ।

प्रकाशित: १ असार २०७७ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App