२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

लकडाउनका सारथी 'पुस्तक'

काठमाडाैं –  विश्वभर फैलिएको महामारी कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा कार्यालय तथा कामकाज बन्द हुँदा समय बिताउन गाह्राे हुनु स्वाभाविक हो। यस जटिल परिस्थितिमा कतिपय व्यक्ति म्युजिक भिडियो, फिल्म लगायतका मनोरञ्जनात्मक सामग्री हेरेर त कतिपयले विभिन्न विद्धानका पुस्तकहरु पढेर समय बिताइरहेका छन्। यतिबेला थुप्रै व्यक्तिको लागि पुस्तक समय बिताउने सारथी बनेको छ। 

यस समयमा कतिपयले युटुयवमा राखिएका फिल्म हांस्य शृखला साथसाथै फेसबुक म्यासेन्जरमा पनि समय बिताइरहेका हुन्छन्। तर अध्ययनको रुचि हुनेहरुका लागि यो उचित समय भएको ठहर छ। नेपालमा सडक नाटकलाई चिनाउने नाटककार तथा बरिष्ठ साहित्यकार अशेष मल्ल पुस्तक पढेर लकडाउनको समय सदुपयोग गरिहेका छन्। ‘मलाई धेरै थरीका पुस्तक पढ्न मन पर्छ, घरभित्रै बसिरहन परेको अवस्थामा पुस्तकले दिन बिताउन सजिलो बनाएको छ,’ मल्ल भन्छन्, अहिले मलाई आध्यात्मिक किसिमका पुस्तकको मोह बढेको छ, म दैनिक रुपमा आध्यात्मिक पुस्तकको अध्ययन गरिरहेको छु।’

कवि साहित्यकार डा. विप्लव ढकालले पनि लकडाउनमा पुस्तकसँगै रमेर दिन बिताइरहेका छन्। कवितासिर्जना तथा कवितासम्बन्धी विमर्शमा निरन्तर क्रियाशिल रहदैँ आएका उनी अहिले अनुसन्धानमूलक पुस्तक प्रकाशित गर्ने जमर्कोमा पनि जुटेको बताउँछन्। अहिले म ‘साहित्यको समावेशी इतिहास लेखन’ शीर्षकको पुस्तक निकाल्ने तयारीमा छु, डा. ढकाल भन्छन्, ‘हाल म सोही लेखनसँग सम्बन्धित पुस्तकको अध्ययनमा मात्रै सिमित छु।’

नारीवादी लेखिका उषा थपलियाले पनि फूसर्दको समय बिताउन सारथी पुस्तकलाई नै बनाएकी छन्। गत मंसिर महिनामा ‘नारी ! तिमी हारेकी छैनौँ’ नामक पुस्तक प्रकाशित गरेकी उनले अहिलेको खाली समयमा पनि नारीवादी पुस्तककै अध्ययन गरिरहेकी छन्। म दैनिक तीन घण्टा जति समय अध्ययनमा खर्चिने गरेकी छु, उनी भन्छिन्, हाल म पुष्पप्रसाद लुइँटेलद्धारा लिखित ‘इतिहास नेपालमा नारी जागरण अवस्था’ शीर्षकको पुस्तकको अध्ययन गरिरहेकी छु, जसले मलाई खाली समयको सदुपयोगसँगै नारीअवस्थाको इतिहासबारे जान्न बुझ्न सहयोग पु¥याएको छ।’ हरि गौतमद्धारा लिखित ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ नामक पुस्तक सकेर लुइँटेलको पुस्तक पढ्न थालेको थपलियाको भनाई छ।

प्रगतिशिल नाटककार किशोर अनुराग पनि पुस्तक पढेरै लकडाउनका दिनहरु बिताइरहेको बताउँछन्। अहिलेको अवस्था नै घरभित्रै बस्नुपर्ने भएकाले पुस्तक यस समयका लागि उपयुक्त साथी भएको उनको भनाई छ। हाल उनी चक्रब्यु थापाद्धारा लिखित ‘जया’ उपन्यास पढिरहेका छन्। त्यस्तै लोकदोहोरी गायक बद्री पंगेनी पनि खाली समयमा पुस्तक पढ्ने गरेको बताउँछन्।

लाजिम्पाटका २१ वर्षिय नबिन्द्र लामा साहित्यिक पुस्तकहरुको अध्ययन गरेरे लकडाउनका दिनहरु बितारहेका छन्। ‘म अहिले अमर न्यौपानेद्धारा लिखित सेतो धर्ती उपन्यास पढिरहेको छु। उपन्यास राम्रो भएर नै होला पढ्न बसेपछि समय गएको पत्तै हुँदैन, लामा भन्छन्, ‘यो सकेर न्यौपानेकै अर्को कृति ‘गुलाबी उमेर’ पढ्ने विचारमा छु। जे होस् अहिले साहित्यिक पुस्तक समय बिताउने मेरो सबैभन्दा नजिकको सारथी बनेको छ।’

 

प्रकाशित: २९ चैत्र २०७६ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App