१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लकडाउनकाे सदुपयाेगः कोहि चित्र कोर्दै, कोहि अध्ययनमा व्यस्त

काठमाडौं - 
‘रक्तबिज जस्ता छन्
मेरा सोचहरु, खसिरहने अनि जन्मिरहने 
फूलसँग आकार, आकारसँग रुप फुलेर हरियाली छाएको छ
आ, आज त बसन्त हो क्यारे
फरक उमेरका ढुंगासँग
अराजक, उमेर सोध्नु मन थिएन
तै पनि त्यो बगैँचामा 
युद्धका कथा भएका कारण 
अनकन्टर, रजनिश जस्तो, 
कृष्ण जस्तो भएको छ
त्यो बगैँचामा।’

चित्रकलालाई साहित्यसँग जोडेर अघि बढाउन रुचाउने चित्रकार सुन्दर लामाले लकडाउनको समयमा होम क्वारेन्टाइनमा बसी रचेको रचना हो यो। साहित्य र चित्रकलालाई एकैपटक प्रस्तुत गर्न रुचाउने उनले लकडाउनमा ‘बगैँचा’ शीर्षकको कविता तयार गरेका छन्।

साथै कविताअनुसारको स्केच पनि तयार पारेको बताउँछन्। पुराना पुराना कलाकारका गीतहरु सुन्दै खाली समयमा कविताको स्वरुपबारे अध्ययन गरिरहेको उनको भनाई छ। उनले ६ महिनाअघि बौद्धस्थित तारागाउँ म्युजियममा पनि ‘सुसेलीरहेको मान्छे’ शीर्षकको कवितासँगै सम्बन्धित चित्रकला प्रदर्शनीको आयोजना गरेका थिए।

देश लकडाउन भएको दुई साता बितिसकेको छ। यस समयमा चित्रकला प्रदर्शनीका कार्यक्रमहरु नभए पनि सुन्दरजस्तै अन्य कलाकार पनि चित्र कोर्न र अध्ययन गर्नमै व्यस्त देखिन्छन्। 

बरिष्ठ चित्रकार रमेश खनाल लकडाउनको समयमा पनि चित्र कोर्नमै व्यस्त देखिन्छन्। आफ्नै घरमा स्टुडियो भएका कारण काम गर्नलाई लकडाउनले त्यति असर नगरेको उनको भनाई छ। ‘लकडाउन कहिलेसम्म हुने हो थाहा छैन, लकडाउन भयो भन्दैमा हामीले काम गर्न छोड्नु हुँदैन,’ खनाल भन्छन्, ‘बिहानको समय योगा, दिउँसो चित्रकलाको काम र बेलुका आर्टिकलहरु लेखेर मैले लकडाउनका दिनहरु बिताइरहेछु।’

चित्रकार रोशन भण्डारीले चित्रकलासँग सम्बन्धित पुस्तक पढेर र चित्र कोरेर दिनहरु बिताइरहेका छन्। कोरोना भाइरसको त्रासलाई कम गर्न आफूले आफैंलाई व्यस्त गराइरहेको उनी बताउँछन्। उनले यस समयमा ‘इन्द्रियको सार’ शीर्षकको चित्र बनाएका छन्। उनको चित्रले वर्तमान समयमा विगतलाई पुन जिवित बनाउन खोजेको जस्तो देखिन्छ।
ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीका क्युरेटर मनिषलाल श्रेष्ठ पनि चित्रकलाको काममा व्यस्त भएको बताउँछन्। अहिले काम गर्न  प्रसस्त समय पाएकाले नयाँ नयाँ काम निकाल्ने प्रयास गरिरहेको उनी बताउँछन्। 

देश लकडाउन भएसँगै चित्र कोर्नमै व्यस्त छन् चित्रकार एरिना ताम्राकारका दम्पती। खाली समयको सदुपयोगसँगै आफ्नो कामले पनि निरन्तरता पाउने भएकाले हाल घरलाई नै स्टुडियो बनाएर काम गरिरहेको एरिना बताउँछिन्। ‘हामीले चाहेर पनि यस्तो आरामदायी तरिकाले काम गर्न पाएका थिएनौं,’ आगामी दिनमा पनि पाउने छैनौं, उनी भन्छिन्, ‘कामलाई निरन्तर रुपमा अघि बढाउन लकडाउन त हाम्रा लागि अवसर बनेको छ।’ लकलडाउनका समयमा कलामा पनि लकडाउनकै विषयवस्तु आएको उनले बताइन्। 

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताउँछिन्। उनी पनि अहिले चित्रकलाकै काममा आफूलाई केन्द्रित गरेको बताउँछिन्। अर्की चित्रकार विधाता केसीले लकडाउनको समय किताब पढ्ने र फिल्म हेरेर बिताइरहेकी छन्।

प्रकाशित: २७ चैत्र २०७६ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App