१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘आस्थालाई विवादित नबनाऔं’

काठमाडौं – गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि कलाकारहरू उनको पक्ष र विपक्षमा तर्क गरिरहेका छन्। नेपाली संगीत र संगीतकर्मीहरू आवद्ध विभिन्न संस्थामा जिम्मेवार भूमिका निवार्ह गरिरहेका स्रष्टाहरू यस विषयमा नबोलौं भनेर तर्किरहेका छन्। प्रहरी जवान रमिता श्रेष्ठले ड्युटीका क्रममा आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिएलगत्तै गत आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। गायिका आस्था राउतको अपरिपक्व व्यवहारले यस किसिमको घटना भएको संगीतकर्मी सन्नी महत बताउँछन्। प्रहरी जवान र गायिका राउतबीचको गलत बुझाईका कारण घटना विवादित भएको तर्क उनले गरेका छन्। ‘सामाजिक सञ्जाल फेसबुथाले देखाएको आक्रोश र उनले बोलेका शब्द सुन्दा उनीको गल्ती देखिन्छ,’ उनले भने, ‘सार्वजनिक भएको फुटेजमा हेर्दा उनी र प्रहरी जवानको उत्तिकै गल्ती देखिन्छ। आम नागरिकमा यो घटना आस्थाले नित्याएको हो। उनले निवेदन दिएर समस्याको समाधान गर्न सक्थिन्।’ गायिका राउतले फेसबुकमा दिएको अभिव्यक्ति प्रहरी संगठनलाई मात्र नभएर संगीत क्षेत्रमाथि व्यंग्यात्मक प्रहार भएको उनले बताए।

गायिका कोमल वली भिडियो विमानस्थलको भिडियो हेर्दा दुवैको गत्ती देखिने हुँदा विवादित बनाउन नहुने तर्क गर्छिन्। ‘कलाकार पनि मान्छे हो। गल्ती मान्छेबाटै हुन्छ। उनले आफ्नो गल्ती स्वीकारेर माफी मागेपछि पक्राउ पुर्जी जारी हुनु चाँहि दुर्भाग्यपूर्ण हो,’ उनले भनिन्, ‘विमानस्थलको सुरक्षाका विषयमा आस्था संवेदनशील नहुनु आश्चर्य लाग्ने कुरा हो। कारण सांगीतिक कार्यक्रममा विभिन्न देश भ्रमण गरिसकेकी उनलाई यताको सुरक्षा व्यवस्था संवेदशील हुन्छ भन्ने ज्ञान भएकोझैं देखियो।’ उनका अनुसार कलाकार राष्ट्रको गहना हुन भन्दैमा सबैसँग परिचित हुन्छन् भन्ने छैन। ‘फेसबुकमा उनले बोलेको अपशब्दप्रति माफी मागिसकेको हुँदा प्रहरी संगठनले उनलाई माफ गरिदिए उत्तम हो। यो घटनाले कलाकार र संगीतकर्मीलाई एउटा पाठ सिकाएको छ,’उनले भनिन्।

गायक प्रमोद खरेलले गायिका राउतको घटनापछि संगीतकर्मीको निम्ति बोल्ने संस्था अभाव रहेको अनुभव गरेका छन्।

‘यो घटनापछि श्रोताले माया दिएको संगीत क्षेत्र विचरा अवस्थामा रहेको आभाष भएको छ। आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा उनले सिक्किमबाट प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेकी छन्। घटनाको अनुसन्धान दुइपक्षीय हुनुपर्छ। एकाध व्यक्तिगत घटनालाई समग्र कलाकार र प्रहरी संगठन जोडिनु दुर्भाग्य हुनेछ। आस्था यस घटनाबाट विक्षिप्त पक्कै छिन। आम नागरिक सरह उनले पनि दण्ड भोग्लिन्,’फेसबुकमा उनले लेखेका छन्,‘प्रहरीले उनलाई थप मानसिक तनाव दिनुको सट्टा सचेत र परिपक्व बनाउनु पर्छ। आशा गरौं उनी र प्रहरी जवानले हात मिलाएको तस्बिर सामाजिक सञ्जालमा देख्न पाइयोस।’ अर्का गायक राजेशपायल राईले विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको तर्क गरेका छन्। ‘विमानस्थलमा शाहरूख खानलाई त चेक गरेको थियो। त्यो सुरक्षामा खटिएका प्रहरीको अधिकार हो। विमानस्थलको चेकजाँचमा पेयपदार्थ बोक्न पाइदैन्। हामी कलाकारले माया र घृणा दुवै सहनुसक्नु पर्छ,’ उनले फेसबुकमा लेखेका छन्।

यसअघि प्रहरी जवान रमिता श्रेष्ठले ड्युटीका क्रममा आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिएलगत्तै अनुसन्धानको निम्ति पक्राउ गरिने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविद्र बोगटीले दिएका थिए। गायिका राउतविरुद्धको आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ। गत साता गायिका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जानेक्रममा चेकिङ हुँदा प्रहरी जवान श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत आक्रोश पोखेकी थिइन्। भद्रपुरमा ओर्लिएलगत्तै गाडीबाट फेसबुक लाइभ गरिएको सो भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो। सो भिडियोमा गायिका राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी थिइन्।

प्रकाशित: ८ माघ २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App