२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
कला

फोटोमा पचास वर्षअघिको पाटन

काठमाडौं – परम्परागत नेपाली लोक बाजा, कला र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन पाटन संग्रहालयले ‘ट्याडिस्नल म्युजिकल इन्स्टुमेन्टस एन्ड फोटो एक्जिबिसन’ को आयोजना गरेको छ। संग्रहालयको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीमा सुनील उलक र विदेशी फोटोग्राफरहरूले पाटन दरबार क्षेत्रको ३० वर्षसम्म (१९६२–१९९१) खिचेका २४ वटा फोटो राखिएका छन्।

गत मंसिर २६ देखि सुरु भएको प्रदर्शनीमा फोटोग्राफर उलकले प्राचीन र हालको अवस्थाको सम्पदालाई तुलनात्मक शैलीमा प्रस्तुत गरेका छन्। ‘भूकम्पपछि धेरै सम्पदा पुनर्निर्माणको चरणमा छ । प्राचीन सम्पदा विभिन्न समयमा पुनर्निर्माण हुँदा केही परिमार्जन भएका छन्,’ उनले भने। प्रदर्शनीमा दमःखी, का, मृदंगना, बाँसुरी, सारंगी, शंख, ढोलक, कोन्चा खिन, नेकु, धिमे र झ्याली जस्ता ४२ प्रकारमा परम्परागत बाजाहरू राखिएका छन्।

ड्युग हलले विसं. २०२५ सालमा खिचेको खर्पन बोक्दै हिँडेको किसानको फोटोले परम्परागत खेती प्रणालीको झलक दिएको छ। राजा त्रिभुवनका पालामा नेपाल भित्रिएको मोटरको बोकेका मानिसहरूको ऐतिहासिक फोटो समेत प्रदर्शनीमा राखिएको छ। पाँच दशक अवधिमा काठमाडौं उपत्यकामा आएको परिर्वतन फोटोमार्फत प्रस्तुत गरिएको छ।

काठमाडौं विश्वविद्यालय, दफा भजन खल, मृृदंगना दफा भजन, ज्यापू समाज, हिरण्य महाविहारलगायतका स्थानबाट बाजा संकलन गरेको संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए। ‘परम्परागत नेपाली बाजा संरक्षण र प्रवद्र्धनमा पाटन संग्रहालय निरन्तर लागि परेको छ,’ उनले भने। नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा आयोजित प्रदर्शनीमा सांस्कृतिक सम्पदा र बाजाहरूको जर्गेनाको निम्ति सरकारलाई झकझकाएको उनले बताए।

प्रकाशित: २३ पुस २०७६ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App