२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

विद्यार्थीले कोरेका चित्र प्रदर्शनीमा

काठमाडौं – बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्। हरियाली वनजंगल, नदी र बुद्धका आकृतिसँगै जोडिएको सुन्दर हिमालका चुचुराहरु हेर्दै आकर्षक देखिन्छन्।

कक्षा ६ देखि १० मा अध्ययरत विद्यार्थीहरुले तयार गरेका ती चित्रकलाहरु व्यवसायिक कलाकारले कोरेझैं लाग्छ। स्वामी विवेकानन्द कल्चर्ल सेन्टर र क्वालिटी काठमाडौं स्कुलको आयोजनामा सोमबारदेखि सुरु भएको प्रदर्शनीमा १८ स्कुलका ५४ जना विद्यार्थीले कोरेका चित्रकला प्रदर्शनमा राखिएका छन्। विद्यार्थीहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन, देशसँगको सांस्कृतिक सम्बन्ध र गो ग्रिन विथ ड्रिम गरी तीन विधामा चित्रकला तयार गरेका थिए। विद्यार्थीको क्षमता अभिवृद्धि गर्न आयोजित प्रदर्शनीमा फरक विधाबारे जानकारी पाइने क्वालिटी काठमाडौं स्कुलकी प्रिन्सिपल एन्जिला बिष्टले बताइन्। कलासम्बन्धी प्रशिक्षण लिइरहेका विद्यार्थीको चित्रकला छनोट गरेर प्रदर्शनीमा समेटिएको उनले जानकारी गराइन्। ‘विद्यार्थीको क्षमता अभिवृद्धि गर्न आयोजित यो प्रदर्शनीमा फरक विधाका चित्रकलाहरु समावेश भएका छन्। विद्यार्थीहरुले तयार गरेको चित्रकलामध्ये उत्कृष्ट छनोट गरेर प्रदर्शनीमा राखिएको हो,’ उनले भनिन्।

चित्रकलासम्बन्धी प्रशिक्षण लिइरहेकी एन्जेलिना डोङले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्धको आकृतिमा ठूलो आकारको आँखा कोरेकी छिन्। अर्का पियुस प्रसाईले ‘गो ग्रीन विथ अ ड्रिम’ शीर्षकलाई लक्षित गर्दै हरियो रंगले मुटुको आकृति कोरेका छन्। जसको भित्री भागमा विभिन्न किसिमका जनावरको आकृति देखाइएको छ। त्यस्तै, बन्दना राईले हरियो जंगल र नदीलाई आफ्नो कलामा समेटेकी छन्।

एडी वर्देवाले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर जीवित देवी कुमारी र बुद्धको आकृतिसँगै सुन्दर हिमाललाई चित्रमा उतारेका छन्। समिक्षा प्रधानले लुम्बिनीको काखमा गौतम बुद्ध आनन्दले सुतिरहेको अवस्थालाई कलामा समेटेकी छन्। नेपालको झण्डा, गैंडाको आकृति र विभिन्न मठ–मन्दिरलाई रौनक महर्जनको चित्रमा समेटेका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरिएको चित्रहरुमा मठ–मन्दिर, जनावर र हिमाली दृश्यलाई विद्यार्थीहरुले क्यानभासमा उतारेका थिए। ‘हाम्रो संस्कृति’ नामक चित्रकलामा विवाह, नाचगान र परम्परालाई उजागर गरिएको छ भने ‘गो ग्रीन’ सँग लक्षित चित्रहरुमा गाढा हरियो रंगको प्रयोग गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App