४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

क्यानभासमा महिला संघर्षको कथा

काठमाडौं – ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा महिलाको विभिन्न आकृतिका चित्रहरू झुन्डाइएका छन्। सेतो, हरियो र रातो रंगको प्रयोग गरेर तयार गरिएका ती चित्रमार्फत महिलाको विभिन्न भावहरू प्रस्तुति गरिएको छन्।

गत भदौ १८ देखि सुरु भएको चित्रकार प्रमिला बज्राचार्यको एकल चित्रकला प्रदर्शनीमा महिला र पुरुष बीचको समानता देखाइएका छन्। प्रदर्शनीमा १५ वटा चित्रकला समावेश गरिएका छन्।

यो चित्रकार बज्राचार्यको १२ औं एकल कला प्रदर्शनी हो। ‘चित्रकलाले मानिसको जीवनको विभिन्न पक्ष समेट्ने गरेको छ। महिला र पुरुषलाई रथको दुई वटा पांग्रासँग तुलना गरिएपनि वास्तविकता फरक छ। मैले महिला र पुरुषबीचको समानतालाई चित्रमार्फत प्रस्तुत गरेको छु, ’उनले भनिन्, ‘मलाई महिलाको विषयमा केन्द्रित रहेर चित्र कोर्न मनपर्छ।’

प्रदर्शनीमा राखिएको एक चित्रमा महिलाको शिरभन्दा पछाडि रहेको सूर्यको उपस्थिति अर्थपूर्ण रहेको छ। सूर्य नजिक देखिएपनि वास्तवमा मानिस र पृश्वीभन्दा टाढा रहेको यथार्थ चित्रमा हेर्न सकिन्छ। मानिसले बाँचुन्जेल गर्ने संघर्ष उस्तै भएपनि महिला र पुरुषबीचको विभेदमाथि चित्रकार बज्राचार्यले प्रश्न गरेकी छिन्। साथै, महिलाको कोमलता र सकारात्मक भावले उनीहरूलाई भावनात्मक रूपमा आत्मीय बनाइदिएको अभिव्यक्ति चित्रमार्फत प्रस्तुत गरिएको छ। विनासकारी भूकम्पको समयमा कोरिएको अर्को चित्रकलामा उनले महिलाको आकृतिलाई वातावरणसँग तुलना गरिएको छ। गरगहनासँग महिलाको निकटता दर्साउन उनले कलात्मक भाव समेटेकी छिन्। क्यानभासमा गरगहनामा सजिएकी सुन्दर महिलाको सुख र रहरहरू पुरा नहुँदा छटपटिएको पीडा दर्साउने प्रयास गरेकी छिन्।

उनले महिलाको जीवनलाई सिउँडीसँग तुलना गरेकी छिन्। ‘सिउँडी र महिलाको जीवन उस्तै लाग्छ। कारण, सिउँडीले बाँच्नको लागि गरेको संघर्ष र महिलाले जीवन भोगाइमा भिन्नता छैन,’ उनले भनिन्। महिलाको सुन्दरताबाहेक विचार र धैर्यताको क्षमताको कदर उनले चित्रमार्फत गरेकी छिन्। ‘महिलाले जीवनको गरेको संघर्ष र सिउँडीको कथाले मलाई प्रभावित गरेको छ। महिला भएर महिलाको भावलाई क्यानभासमा समेट्न सजिलो भएपनि कथावस्तु फरक भएको अनुभव गरेको थिए,’उनले भनिन्। उनले महिलाको भावअनुसारको रंगहरू प्रयोग गरिएको दाबी गरिन्। उनका अनुसार चित्रकलामा प्रयोग गरिएको निलो रंगले ताजापनलाई, रातोले रिस र राग र सेतोले सकारात्मक सोचको प्रतिनिधित्व गरेको छ। आँखाले सबैभन्दा पहिला मानिसलाई आकर्षित गर्ने हुँदा उनले चित्रमा महिलाको आँखा साना र ठूलो अर्थात् अन्य चित्रकारको भन्दा भिन्न खालले प्रस्तुत गरेकी छन्। प्रदर्शनी आगामी असोज ११ सम्म चल्नेछ।

प्रकाशित: ९ आश्विन २०७६ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App