काठमाडौं – गायक हेमन्त रानाले गाएको गीत ‘साइँली’को नामबाट निर्माण गरिएको फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी चैत १५ गते रिलिज हुने फिल्मको ट्रेलरमा एक युवक कसरी वैदेशिक रोजगारीमा जान बाध्य हुन्छ भन्ने देखाइएको छ।
ट्रेलरमा बाबुको ऋण तिर्नका लागि छोरा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई देखाइएको छ। फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङले फिल्ममा ट्रेलरको भन्दा ठूलो कथा रहेको खुलाए। ‘फिल्म साइँलीमा काम गरेर म निर्देशक तथा लेखकको हिसाबले सन्तुष्ट छु। मैले अहिलेसम्म बनाएका फिल्महरूमा सामान्यतया सामाजिक विषयबस्तुलाई कमेडी ढंगले प्रस्तुत गरेको छु। तर त्यो भन्दा साइँली केही फरक छ’, उनले भने, ‘हामीले साइली गीत भन्दा फरक संरचनामा फिल्म बनाएका छौं।’
गायक हेमन्तले आफुहरूको सन् २०१३ मै जीएच इन्टरटेनमेन्ट कम्पनी दर्ता गरेदेखि नै ‘साइँली’ नाममा फिल्म बनाउने योजना रहेको बताए। ‘हाम्रो तीन मिनेटको गीतले संसारभरी जुन किसिमको इस्यु बनायो। त्यहीकारण यसैलाई एउटा सामाजिक कथाबस्तु बनाएर फिल्म किन नबनाउने भन्ने सल्लाहले साइँली बनाएका हौं’, गायक हेमन्तले भने। जीएच इन्टरटेनमेन्टमा गायक हेमन्त र नायक गौरव पहारी आबद्ध छन्।
फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको अभिनय रहेको छ। विशाल गुरुङ र मोहन राना मगर निर्माता रहेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता छन्।
प्रकाशित: २१ फाल्गुन २०७५ ०२:३० मंगलबार