१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

प्राचीन मूर्ति संरक्षणमा मूर्तिकला सिकाइ

भरतपुरमा आयोजना भइरहेकोे बुद्ध मूर्ति बनाउने तालिमका सहभागी। तस्विरः सविता/नागरिक

चितवन – अमित लामा साम्बुलिङ गुम्बाका लामा हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २० नयाँबजारका उनी बौद्ध धर्म बारे अध्ययन गरेर लामा बनेका हुन्। उमेरले २१ वर्षमा हिँड्दै गरेका अमितमा लामा कामसँगै मूर्ति बनाउने कलामा पोख्त हुने चाहना छ। बुद्धका मूर्ति पुज्ने कामसँगै मूर्ति बनाउन पनि सिक्ने इच्छा पुरा गर्न यतिबेला तालिममा व्यस्त छन्।

तालिमपछि नयाँ मूर्ति बनाउने कलासँगै पुराना मूर्तिको संरक्षण र मर्मत गर्ने कलामा सक्षम हुने अमितको योजना छ। ‘तालिमबाट सिकेको सीपलाई प्रयोग गर्दै जानेछु’, उनले भने, ‘गाउँघरमा पनि कला सिकाउँनेछु।’ उनीसँगै चितवनका बौद्ध धर्मालम्बीका गुरु (लामा) र अनुयायी गरी १८ जना तालिममा सहभागी छन्। प्राचीन मूर्ति संरक्षणका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजनामा तालिमको व्यवस्था गरिएको हो। 

खाइपा (मूर्ति बनाउने मान्छे) स्थानीय ठाउँमा उपलब्ध हुन् भनेर तालिमको आयोजना गरेका हौं। तालिमले नयाँ मूर्ति बनाउने र पुराना मर्मत गर्नुपर्ने मूर्तिको संरक्षण गर्न सक्ने जनशक्ति उत्पादन गर्नेछ।

चितवनका विभिन्न गुम्बासँग आबद्ध रहेका व्यक्तिहरू तालिममा सहभागी छन्। २०७२ सालको महाभूकम्पले भूकम्प प्रभावित जिल्लाका गुम्बा र गुम्बामा रहेका बुद्ध मूर्तिलगायतका संरचनामा क्षति पुर्‍याएको छ। भूकम्पले क्षति पुगेका धेरै मूर्तिको मर्मतसम्भार अझै पनि हुन नसकेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नगेन्द्रकुमार गुरुङले बताए। भूकम्पले देशभरका ३१ वटा जिल्लामा एक हजार ३ सय २० वटा गुम्बामा क्षति पुर्‍याएको छ। गुम्बामा रहेका मूर्तिमा पनि क्षति भएको छ। 

गुरुङले भूकम्पले चर्किएका, भाँचिएका मूर्तिको मर्मत गर्न कुशल कालीगढको समेत अभाव रहेको बताए। ‘खाइपा (मूर्ति बनाउने मान्छे) स्थानीय ठाउँमा उपलब्ध हुन् भनेर तालिमको आयोजना गरेका हौं। एउटै मूर्ति खरिद गर्न लाखौं खर्च गर्नुपर्छ’, उनले भने, ‘तालिमले नयाँ मूर्ति बनाउने र पुराना मर्मत गर्नुपर्ने मूर्तिको संरक्षण गर्न सक्ने जनशक्ति उत्पादन गर्नेछ।’

उनले पुराना मूर्तिहरू नेपालको प्राचीन सम्पत्ति भएकाले संरक्षण गर्नु जरुरी रहेको बताए। उनका अनुसार सोही अनुरुप गुम्बा विकास समितिले देशका विभिन्न स्थानमा तालिम गर्दै आएको छ। भूकम्पले भाँचिएका र क्षति पुगेका मूर्तिसमेत थोरै खर्चमा बनाउन सकिने उनी बताउँछन्। उनका अनुसार तालिम अवधिभर बुद्धका विभिन्न खालका मूर्ति बनाउन सिकाइने छ। 

तालिमका प्रशिक्षक छेवाङ लामाले टुटेफुटेका मूर्तिको मर्मत गरेर संरक्षण गर्ने कला सिकाइने बताए। नेपालमा प्राचीन मूर्ति बारेमा संरक्षण गर्ने दक्ष जनशक्तिको अभाव भएकोले तालिमबाट जनशक्ति उत्पादन हुने लामाको विश्वास छ। उनले तालिममा कालो माटोबाट बुद्धको मूर्ति बनाउन सिकाईने जानकारी दिए। तालिममा निःशुल्क सिक्ने व्यवस्था गरिएको छ। 

भरतपुरमा आयोजना गरिएको १५ दिने मूर्ति बनाउने तालिम फागुन १९ सम्म सञ्चालन हुनेछ। तालिम अवधिभरमा प्रत्येक सहभागीले एउटा र सामूहिक रूपमा एउटा मुख्य मूर्ति तयार गर्ने छन्। मुख्य मूर्ति गुम्बामा राख्न दिइने छ। 

प्रकाशित: ९ फाल्गुन २०७५ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App