पोतिएको माटो, जुन उनीहरूको होइन
यी हुन् सप्तरी र सिरहामा बसोबास गर्ने मुसहर समुदायका बालबालिका। जसका बाबुआमा पुस्तैनी हरुवा/चरुवा हुन्। जिन्दगीभर बाबु/बाजेले लिएको ऋण तिर्नमै आफ्नो पसिना चुहाउने यो समुदायका केटाकेटी यसैगरी धुले जीवन बिताउँछन्।
विद्यालय उनीहरूका लागि ‘नजाने गाउँ’ हो। गइहाले पनि छाडिदिन्छन् मन लागेका बेला। त्यसैले दिनभर माटोमा खेल्नु यिनीहरूको रहर र बाध्यता दुवै हो। विडम्बना उनीहरूको अनुहारमा पोतिएको माटोसमेत उनीहरूको होइन। मतलव, यी सबै भूमिहीनका सन्तान हुन्।
यिनीहरू केहीले सम्पन्न छन् त अभावै–अभावले। तर, पनि अनुहारमा भने चमक भेटिन्छ, सायद बालपनाले हुन सक्छ। पक्का छ, यिनीहरू पनि दुःखी हुनेछन् जतिबेला आफ्नो पैतालादेखि टुप्पीसम्म पोतिएको माटोमै आफ्नो एकरत्ति हक छैन भन्ने बुझेपछि। आशा गरौँ, यी केटाकेटीले बुझ्नुअघि नै ‘समाजवादोन्मुख सरकार’ले यो समस्या समाधान गर्नेछ।