काठमाडौं – बेलायतमा बस्दै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बुको कथासंग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा कवि बैरागी काइँला, गायक आनन्द कार्की, गीतकार गंगाराज मुकारुङ, संस्कृविविद डा. भक्त राई, कवि तथा कथाकार बिना थिङलगायतले सार्वजनिक गरे।
कार्यक्रममा काइँलाले जानु प्रतिभाशाली साहित्यकार भएको बताए। कवि थिङले ‘नउघ्रेको जून’का सबै कथाहरू सामाजिक धरातललाई टेकेर लेखिएका यथार्र्थवादी पाएको बताइन्। संस्कृतिविद राईले जानुका गीतहरू अब्बल रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, सचिव टीका चाम्लिङ र गीतकार संघका महासचिव शुभ मुकारुङले जानुको लेखनको प्रशंसा गरेका थिए।
कथासंग्रहमा २० कथा र एल्बममा १० गीत समाविष्ट छन्। जानुले केही फुरेको खण्डमा रेल वा गाडीमा यात्रा गर्दागर्दैको अवस्थामा मोबाइलमा लेख्नु पर्ने स्थितिमा आफूले सिर्जनाहरू गर्ने गरेको सुनाइन्।
कार्यक्रममा एल्बमभित्रको एउटा गजल ‘कैयौं प्यासी रातहरू’ र एल्बममा नसमेटएको गीत ‘गर्नु छ एउटा कुरा’माथि बनेको म्यजिक भिडियो प्रदर्शन गरिएको थियो।
प्रकाशित: ६ मंसिर २०७५ ०३:०९ बिहीबार