५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अधिकारीको फोटो उत्कृष्ट

धादिङमा पहिलो पटक आयोजना गरिएको फोटोग्राफी प्रतियोगितामा विजयी फोटोपत्रकार। तस्बिर : सरिता/नागरिक

धादिङ - धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगितामा पत्रकार सीताराम अधिकारीले खिचेको फोटो उत्कृष्ट भएको छ।  

नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङले आयोजना गरेको प्रतियोगितामा समावेश भएका ८३ जनाको १ सय ५८ फोटोमध्ये अधिकारीले खिचेको फोटो प्रथम भएको हो। अधिकारीले जिल्लाको सल्यानटारका कुमाल समुदायले परम्परागत कोलमा तेल पेल्दै गरेको फोटो खिचेका थिए।

प्रतियोगितामा गणेश ढुङगाना दोस्रो र प्रमिला गिरी तेस्रो भएका छन्। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले क्रमश : २५ हजार, २० हजार र १५ हजार नगदसहित ट्रफी, र प्रमाणपत्र प्रदान गरे।

प्रतियोगितामा समावेश भएका फोटोलाई टप २५, टप १० हुँदै उत्कृष्ट ३ फोटो छनोट गरिएको थियो । कृषि, पर्यटन, मानवीय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यका आधारमा उत्कृष्ट फोटो छनोट गरिएको निर्णायक मण्डलका सदस्य राजन काफ्लेले जानकारी दिए। राससका फोटो पत्रकार प्रदिपराज वन्त, स्वतन्त्र फोटो पत्रकार राजन काफ्ले र कान्तिपुर दैनिकका वरिष्ठ फोटो पत्रकार शालिकग्राम तिवारी रहेको निर्णायक मण्डलले प्रतियोगितामा उत्कृष्ट फोटो छनोट गरेको हो।

फोटो पत्रकारितालाई चुस्त दुरुस्त बनाउँदै लैजाने योजना अनुरुप विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमको अवसरमा जिल्लामा पहिलो पटक प्रयोग गरिएका विभिन्न मोडलका क्यामराको प्रदर्शनी पनि गरिएको फोटो पत्रकार संघ धादिङका उपाध्यक्ष मनिष दुवाडीले जानकारी दिए। जिल्लाको पहिलो फोटोग्राफर लेख श्रेष्ठ र पहिलो फोटो पत्रकारका रुपमा राजेन्द्रप्रताप शाहलाई सम्मान गरिएको थियो।

प्रकाशित: १२ आश्विन २०७५ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App