३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

आधुनिक कलाका सूत्रधार

काठमाडौं - परम्परागत धारमा बगिरहेको नेपाली कलात्मक धारलाई आधुनिक धारमा डोेर्याउने पुराना कलाकारका कला यतिबेला ओझेलमै छन् । नब्बेको दशकमा आधुनिक धारको कला भित्र्याउन संघर्ष गर्नेहरु केही बिते।

केही युवापुस्तासँग पौंठेजोरी खेल्दैछन् । यतिबेला कला कोर्ने साधन स्रोतको बढोत्तरीसँगै भटाभट आधुनिक कला कोर्ने कलाकार उत्पादन भइरहेकै छन् । तर त्यो बेलाको सकस भोग्नेहरूका कथा बेग्लै छ । आधुनिक कलामा उर्जा भर्ने आठ कलाकारका कला यतिबेला पुल्चोकस्थित विकल्प आर्ट ग्यालरीको शोभा बढाउँदै छ । सत्तरी असीको उमेर छोइसकेका ति कलाकारका कलालाई ब्रोन्टी इशाबेल र सरोज महतोले एकै थलोमा उतारेका हुन् । ‘पानोरमा सिक्स्टीज पायोनियर्स अफ नेपाली मोडर्निज्म’ नाम दिइएको कला प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ ।वत्स गोपाल वैद्यले २०२९ सालताका कोरेको चित्र त्यो बेलाको अमेरिकी आधुनिक कलासँग दाँज्ने गरिन्छ । अमेरिकामा सन १९५० ताकादेखि एकल रंगको अभियान नै चलेको थियो।

मिकस मिडियामा अटाएको गाढा रातो रंगको सतहमाथि रंगीचंगी रंगको घण्टीले नेपालीपन  झल्काउँछ । अझ रातो रंग नेपाली धार्मिक आस्थाको रंग अनि त्यही रंगसँग मन्दिरमा पुजिने पहेंलो केसरी रंगको संयोजन आज हेर्दा पनि अलौकिक लाग्छन् । ‘अस्पिसियस सिम्बोल’ नाम दिइएको त्यो पुरानो चित्र आधुनिक कलाको उर्जाभर्ने नेपाली कालखण्डको सुरुवाती कला मानिन्छ।

उनीजस्तै अर्का कलाकार मनुजबाबु मिश्रका पुराना चित्रले उतिबेलै आधुनिक मानवियताको धार अंगालेको देखिन्छ । मानवीय चिन्तनलाई भावमय बनाउने उनका तैलचित्रले अहिलेको कला पारखीलाई २०१७ सालतिरै डोर्याउँछ । मानिसका भावलाई अलग बनाउन उनले रंगको संयोजनलाई नै अलग धारको आधुनिक तैल कलाबाट प्रस्तुत गरेका छन् । उनका कला मानवीय संवेदनाको अप्राकृतिक रुप मानिने फ्रान्सेलीकलासँग तुलना गरिन्छ । सन १९०० ताका पेरिसमा यस्ता कलाको वेग बढ्दो थियो ।शशिकला तिवारीले पृथ्वीको रंग र सृष्टिको रंगसँग महिला संवेगलाई एकाकार गरेकी छिन् ।आँधीको धारमा जसरी रुखबिरुवा नृत्य गर्छन् त्यसैगरि महिलाका भावना प्रकृतिसँगै नृत्यगर्ने उनले उल्लेख गरेकी छिन्।

हरियो,केही रातो र निलो रंगको गाढापनमा महिलाका आकृतिले त्यो बेलाको महिलाको मानसिक अन्तरद्वन्द्व प्रष्ट्याउँछ । ‘डान्सिङ’ ट्रि र ‘लेडी’ शीर्षकको उनका कला आधुनिकताको महिला कलाको प्रतिनिधित्व गर्न सफल छ ।
स्वर्गीय इन्द्र प्रधानका बिम्बात्मक अमूर्तकलाले नब्बेको दशकको छनक दिन्छ । अमूर्तकलामा अमूर्ततासँगै बिम्बको प्रयोग गर्न सकिन्छ भन्ने पश्चिमा देशमा बहस चलिरहेका बेला नेपालमा प्रधानले बिम्बसहितको अमूर्तकलाको धार अंगालिसकेका थिए । ‘भिजन’ र ‘हेन’ शीर्षकको उनका तैलरंगमा चित्र पनि उत्तिकै आकर्षक छन्।

कृष्ण मानन्धरले अमूर्तकलामै ल्यान्डस्केपको अवधारणालाई नीलो र हरियो रंगको सतहमा नब्बेको दशकमै उतारिसकेका थिए । आधुनिक कलाको धार डो¥याउन उनका त्यो कलाले अहिलेका कलाकारलाई सघाउने विश्वास कलाकारको छ । बिम्बात्मक अमूर्तकलाको अभियन्ता नै बताउने कलाकार गेहेन्द्रमान अमात्यले आफ्ना चित्रमा त्यही खालको भाव पोखेका छन् । उतिबेला यस्तो पनि अमूर्तकला हुन्छ भनेर हियाउनेहरूका माझ उनी अचेल ठाटका साथ जवाफ दिन र चित्रको भाव बताउन खप्पिस छन् । नबुझिनेभन्दा बिम्ब हालेर पारखीलाई सहज बनाउनुपर्ने धारणा उनी राख्छन् ।शशि विक्रम शाहको ‘समून्द्र मन्थन’ तथा ‘बच्चा र आमा’ सहितको सेता घोडाको चित्र निकै चर्चित छ । उनले त्यो पुरानो कला नयाँ पुस्तालाई सिकाउनकै लागि सुरक्षित राखेको बताउने गरेका छन्।

 सेता घोडा विष्णुका दस अवतारमध्येको दसौं अवतार कल्कीको संकेतका रुपमा उनले प्रस्तुत गरेका छन् । उनले मानिसको विविधतायुक्त मानसिकता चित्रण गर्ने ‘इंक अन पेपर’ अन्तगर्तको कला थप आकर्षणयुक्त छ । मसीकै रंगले पनि चित्रमा भाव भर्न सकिन्छ भन्ने उनका पुराना कलाले नयाँ पुस्तालाई सिकाउन सफल छ ।स्वर्गिय कलाकार रामानन्द जोशीले बनाएको अष्टदलको चित्रले हिन्दु, बौद्ध र जैनसँगै जोडिएको धार्मिक मिथक बोल्छ । कमलको पातलाई अनेक रंगमा उनिने अष्टदलले मानवीय समाजको रहस्य खोल्ने विश्वास उनी राख्थे । आत्मिक चित्र बनाउन खप्पिस उनले धार्मिक भाव र आधुनिक भावलाई आफ्ना चित्रमा सुन्दर ढंगले प्रस्तुत गरेका छन् । कला प्रदर्शनी अझै पन्ध्र दिन चल्ने जनाइएको छ ।

 

प्रकाशित: २३ श्रावण २०७५ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App