काठमाडौं - राजधानीमा शुक्रबारदेखि सुरु भएको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा दोस्रो दिन कला साहित्यका विविध पक्षमाथि छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेको सम्मिलनमा विदेशबाट ४५ स्रष्टा सहभागी छन्। भानुभक्तको २०५ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भानुभक्तले छरिएर रहेको भाषा, साहित्यलाई नेपाली भाषाको माध्यमबाट एकतामा बाँध्ने काम गरेको औंल्याए।
सम्मिलनको पहिलो दिन नेपाली भाषाको बारेमा पि.एच.डी गरेका बेलायती नागरिक माइकल हटले नेपाली भाषामै सम्बोधन गरी विश्वमानचित्रमा नेपाली भाषा साहित्यको उचाइ बढ्दो रहेको उल्लेख गरे। बेलायती अनुसन्धाकर्ता ब्रायन हड्सनले नेपालबाट बेलायत फर्कदा लगेका १३ नेपाली कृति अझै पनि बेलायतको विभिन्न संग्रहालयमा सुरक्षित रहेको उनले सुनाए । दोस्रो दिन शनिबार भने विभिन्न तीनसत्रमा सम्मिलन अघि बढेकोे थियो । रुसी सांस्कृतिक केन्द्रमा भएको पहिलो सत्रमा चारवटा कार्यपत्रमाथि बहस गरिएको थियो । पहिलो कार्यपत्रका रुपमा ‘नेपाली कला संस्कृतिको फैलदो आकाश’ विषयमा प्राज्ञ ठाकुर प्रसाद मैनालीले नेपाली कला संस्कृतिको विविध आयाम केलाए।
युरोपका फादर बुल्केले ‘राम कविता’ भन्ने उतिबेलै उल्लेख गरेपनि अहिलेको पुस्ताले त्यो थाहा पाएका छैनन् । विश्व आदिकविकै रुपमा उनलाई तुलना गर्दा पनि फरक पर्दैन। भारतमै पनि रविन्द्रनाथ टैगोरको स्थानमा भानुभक्तको चर्चा हुने गरेको छ।
उनको कार्यपत्रमा नेपाली कलाको ऐतिहासिक पक्ष, नेपाली कलाको व्यवसायिकता, नेपालको राष्ट्रिय संस्कृति, सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने सुधारहरू लगायका विषयमा उनले चर्चा गरे। ‘सातौ शताब्दीमा भृकुटीले तिब्बतमा नेपाली कला फैलाइन् त्यसपछि तेह्रौं शताब्दीमा अरनिकोले चीनमा नेपाली कला वृहत बनाए’ मैनालीले भने,‘ १९ औं शताब्दीमा वेलायती अनुसन्धानकर्ताले आधुनिक कलाकोे वकालत गरे। १९९१ मा जुद्धकला पाठशाला खुलेपछि नेपालमा परम्परागत धारसँगै आधुनिकता मौलाएको होे।’ उनको कार्यपत्रमाथि भारतका डा.करण सिंह र प्रा.डा. बासुदेव त्रिपाठीले टिप्पणी गरेका थिए। त्यस्तै कार्यपत्रमाथि समीक्षात्मक टिप्पणी गर्ने काम प्राज्ञ विष्णु प्रभातले गरेका थिए।
सिक्किम विश्वविद्यालयकी प्रा.डा.कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ विषयमा प्रस्तुत गरेको कार्यपत्र सत्रको दोस्रो कार्यपत्र थियो।
उनले आदिकवि भानुभक्तको साहित्यिक योगदानलाई विश्व साहित्यफाँटले कसरी लेखाजोखा गरेको छ भन्ने बारेमा वृहत अध्ययन समेटिएको कार्यपत्रमा उल्लेख गरिन्। उनले प्राचीन रामायण अध्ययन परम्पराहुँदै रामायणको विदेशी भाषामा अनुवाद तथा आधुनिक जमानाको प्रविधिसम्म भानुभक्तको लेखनी पुगेको कार्यपत्रमा उल्लेख गरेकी थिइन्। ‘युरोपका फादर बुल्केले ‘राम कविता’ भन्ने उतिबेलै उल्लेख गरेपनि अहिलेको पुस्ताले त्यो थाहा पाएका छैनन्,’ लामाले भनिन् ,‘विश्व आदिकविकै रुपमा उनलाई तुलना गर्दा पनि फरक पर्दैन।’ भारतमै पनि रविन्द्रनाथ टैगोरको स्थानमा भानुभक्तकै चर्चा हुने गरेको उनले कार्यपत्रमा उल्लेख गरेकी छिन् । विभिन्न कालखण्डमा भानुभक्त र उनको रामायणमाथि लेखिएका पुस्तक र उनलाई सम्झने तौरतरिकाको सिलसिलेवार प्रस्तुति रोचक थियो । उनको कार्यपत्रमाथि लक्ष्मण न्यौपानेले समीक्षात्मक टिप्पणी गरेका थिए।
‘हिमवत् खण्डको भाषाको उद्भवः नेपाली भाषाको महत्व र वर्तमान स्थिति’ शीर्षकमा प्रा.डा.माधव प्रसाद पोखरेलले तेस्रो कार्यपत्र प्रस्तुत गरेका थिए। उनका अनुसार संसारका ७ हजार बढी भाषाको लगत भएको इथ्नोलगका आधारमा भोट वर्मेली भाषाको संख्यामात्रै ४५० बढी छ । हिमादी भेगमै १५० बढी, चीनमा १ सय बढी, नेपाल र म्यानमारमा करिब ८०, भुटानमा २०, बंगलादेशमा करिब ६ वटा र पाकिस्तानमा करिब एकदुई भाषा बोलिने अनुमान छ।
‘हिमवत् खण्डका भाषा भने मुख्य चार परिवार मिलेर बनेका छन्, ’ उनले सुनाए, ‘भारोपेली आर्यपरिवारको मूल थलो युरोपको कृष्ण सागर र कश्यप सागरको उत्तरतिर अनि युराल पहाडको पश्चिमतिर मानिन्छ।’ त्यस्तै भोट चिनियाँको थलो तिब्बत र छिङहाइको मालभूमि, आग्नेय परिवारका भाषा समग्र प्रशान्त महासागरमा छरिएका पाइन्छ । द्रविड परिवारका भाषाको मूल थलो भूमध्य सागर मानिन्छ । उनको कार्यपत्र अनुसार संसारको ८७ मातृभाषा कुनै पनि भाषा महापरिवारमा पर्दैन । दक्षिण एसियामा यस्ता तीन भाषा छन्। हिमालको निहाली, पाकिस्तानको बुरुसास्की र नेपालको कुसुण्डा जातिले बोल्ने भाषा तिनमा पर्छन् । उनले खस भाषाका रुपमा नेपाली भाषाको उदयको पनि चर्चा गरेका थिए। नेपाली भाषाको प्रयोगमा उतारचढावसँगै पहिचानको द्वन्द्वले नेपाली भाषामा पारेका असरसमेत उनले कार्यपत्रमा समेटेका थिए । उनको कार्यपत्रमाथि डा.जगमान गुरुङले टिप्पणी गरेका थिए। अन्तिम कार्यपत्रका रुपमा ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ शिर्षकमा प्रा.डा.जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा नेपाली भाषासँगै मैथली भाषा, नेपाल भाषा, तामाङ ,भोजपुरी , लिम्बू ,अवधी, थारु , मगर , गुरुङ, राई लगायत विभिन भाषाको साहित्यिक अवस्थाको सार प्रस्तुत गरिएको थियो । कार्यपत्रमा गिरीले साहित्य सृजनामा व्यापकता, साहित्यमा गुणस्तरको अभिवृद्धि, विचारको प्रवाह, विश्व साहित्यको विकास, समाजको रुपान्तरण, भाषिक उत्थान, विकास निर्माण, राष्ट्रिय पहिचान, आर्थिक समृद्धि, मानवीय संवेदना अभिवृद्धिका निम्ति साहित्यआ िविषय समेटेका थिए । उनको कार्यपत्रमा प्रा.डा.व्रतराज आचार्यले टिप्पणी गरेका थिए।
यस सत्रको प्रमुख आतिथ्यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। उनले भाषाको माध्यमबाट नेपालको एकिकरण गरिकसैको उपनिवेश बन्नबाट भानुभक्तले बचाएको स्मरण गरे। ‘भाषा संस्कृतिको नामबाट विभाजन गर्ने हैन जोड्ने र तुन्ने काम गर्नुपर्छ,’ उनले थपे, ‘कतिपय अवस्थामा उब्जेको विवादले जोड्ने हैन टुटाउने काम भएको छ।’
दोस्रो दिन कार्यपत्रसँगै बहुभाषिक कवि गोष्ठी पनि भएको थियो। जसमा २० भाषामा कविले आफ्ना कविता सुनाएका थिए । साँझ भएको हास्यव्यङ्ग्य साँझमा कलाकार मनोज गजुरेल, सीताराम कट्टेल, लक्ष्मण गाम्नागे र राजा राजेन्द्र पोखरेलले हास्यव्यङ्ग्य कला प्रस्तुत गरेका थिए।
आइतबार भने चन्द्रागिरी पर्वतमा सिर्जनायात्रा हुने आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जनाएको छ। सम्मिलनका संयोजक राजेन्द्र सुवेदीले नेपाली र नेपाल बाहिरका कविताको वाचनसँगै कलाकारले कविताको भाव अनुसार चित्र कोर्ने जानकारी गराए। आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्मिलन सकिने छ।
प्रकाशित: ३१ असार २०७५ ०७:१७ आइतबार