‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ -मनुस्मृति
अर्थात् जहाँ वा जुन घरमा नारीको सम्मान हुन्छ, त्यहाँ इष्टदेवता, कुलदेवता, गृहवास्तु देवतालगायत सम्पूर्ण तेत्तीस कोटि देवता खुसी हुन्छन्। तर जहाँ नारीको पूजा हुँदैन, त्यहाँ गरिएका कुनै पनि कर्म असफल हुन्छन्।
यसले के पुष्टि गर्छ भने आदि शक्तिकै रूपमा पूजाआराधना सुरु गरिएका महाकाली, महालक्ष्मी र महासरस्वतीकै स्वरूप हुन् नारी। जसलाई हामीले विभिन्न रूपमा विभिन्न समयमा धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा पूजा गर्ने गरेका छौंं।
दसैं आउँछ, नवरात्रभर नवदुर्गाका रूपमा कन्या पूजा गर्छौं। तिहार आउँछ, महालक्ष्मीको पूजा गृहलक्ष्मीले गर्नुपर्छ भनेर परिवारभित्रकै ज्येष्ठ नारीलाई जिम्मेवारी दिन्छौं। गृहलक्ष्मीले पूजा गर्दा लक्ष्मी स्थिर रहन्छिन् भन्ने धार्मिक मान्यता छ।
यति मात्र होइन, दाजुभाइलाई दिदीबहिनीले पूजा गरेपछि दाजुभाइले दिदीबहिनीलाई उपहार या दक्षिणा दिई ढोग्नुपर्छ भनेर यमुना र यमराजको धार्मिक प्रसंग ल्याएर दिदीबहिनी, भान्जीलगायतलाई सम्मान गर्ने प्रचलन छ।
सरस्वती पूजा आउँछ, विद्यादात्री नारी भनेर नारीकै पूजा हुन्छ। मातातीर्थ औंसी आउँछ, नारीलाई आमाको रूपमा पूजा गर्छौं, सम्मान गर्छौं। यस्तै नारीको सम्मान गर्ने महत्त्वपूर्ण पर्व हो, हरितालिका तीज। अथवा नारी स्वतन्त्रताको पर्व हो, तीज।
परापूर्व कालमा हिमालय पर्वतकी छोरी पार्वतीले आफूले मनले वरण गरेका आशुतोष भगवान् शिवलाई स्वतन्त्र रूपले पतिका रूपमा प्राप्त गरेकी छिन्। आफूले भगवान् विष्णुलाई वचन दिइसकेको भए पनि हिमालय पर्वतले आफ्नी सुकन्या (असल पुत्री) पार्वतीको सम्मान गर्दै भगवान् शिवलाई ज्वाइँ बनाएको पौराणिक इतिहास साक्षी छ।
पार्वतीले महादेव पति पाऊँ भनी व्रत गरेकी र उनको मनोकांक्षा पूरा भएको पवित्र दिन हो, भाद्र शुक्ल पक्षको तृतीया तिथि। जुन हरितालिका तीजका चार दिनमध्ये मुख्य दिन मानिन्छ। पहिलो दिन भाद्र शुक्ल द्वितीयाका दिन छोरीचेलीलाई माइतीले बोलाएर दर (मिठामिठा पक्वान्न) खुवाउने, लत्ताकपडा र गरगहना उपहार दिई सम्मान गरिन्छ।
भोलिपल्ट दिनभर व्रत बस्ने, नाचगान गर्ने, साथीसँगी मिलेर सामूहिक रूपमा पूजाआजा गरी दाम्पत्य जीवन सुखमय रहोस् भन्ने कामनासहित मनोरञ्जन गर्ने प्रचलन रहेको छ।
‘आमाबुवा, छोरीभान्जी, जसले पुज्यो त्यो मानिस’
नेपाली समाजमा प्रचलित यो आहानले पनि के पुष्टि गर्छ भने आमाबुवा भनेको आमाबुवासँगै गुरुबा–गुरुआमा, हजुरबा–हजुरआमा, काकाकाकी, ठुलाबा–ठुल्यामा आदि बुझिन्छ। त्यस्तै छोरीभान्जीसँगै नातिनी, भतिजी, दिदीबहिनीलगायत बुझिन्छ। यी आफन्तलाई जसले सम्मान गर्छ, त्यो मानिस हो।
हो, हाम्रो सनातन धर्मसंस्कृतिलाई पनि केलाउँदा विभिन्न पक्ष र तिथिमा विभिन्न पर्वहरू आउँछन्, जसमा कहिले बुवाआमालाई पुजिन्छ भने कहिले गुरु–गुरुआमा, भान्जाभान्जी, चेलीबेटीलगायतलाई पुजिन्छ। यी पर्वहरूको धार्मिक महत्त्व त छँदै छ साथै सामाजिकताका नजरले हेर्ने हो भने यी पर्व अत्यन्तै व्यावहारिक र वैज्ञानिक पनि छन्।
उल्लिखित पर्वहरूमध्ये हरितालिका तीज बाबुआमाले छोरीचेलीलाई, दाजुभाइले दिदीबहिनीलाई, दिदीले बहिनीलाई, मामामाइजूले भान्जीलाई, भदाहाले फुपूहरूलाईलाई सम्मान गर्ने पर्व हो। यसले सबै दृष्टिकोणले सम्पूर्ण नारी जातिकै सम्मान गरेको तथ्य पुष्टि हुन्छ।
साथै यस पर्वले सामाजिक प्रपञ्चमा बाँधिएर पराई घर या पतिगृह गई नयाँ व्यावहारिक जीवनको सुरुवात गरेकी छोरीचेली र माइतीको सम्बन्धलाई नजिक गराइदिन्छ। बाल्यकालका साथीसँगीसँग भेट गर्ने सुनौलो अवसर प्रदान गर्दछ।
यस पर्वले सामन्ती युगसँगै सुरु भएको पुरुषप्रधान समाजमा पिल्सिएका नारीलाई माइतीघरको उन्मुक्त वातावरणमा खुलेर नाच्न, गाउन र आफ्ना उत्कण्ठित भावना व्यक्त गर्ने अवसर जुराइदिएको छ। तसर्थ यो पर्व नारी स्वतन्त्रताको वा नारी सम्मानको एक उत्कृष्ट उदाहरण हो।
यो पर्वमा विशेष रूपले व्रतलाई प्राथमिकता दिइएको छ। पानी पनि नपिई व्रत बस्नुपर्ने विधान शास्त्रले गरेको छ। शरीर विज्ञानले हप्तामा नभए १५ दिनमा भए पनि एक दिन उपवास गरे पाचन प्रक्रियामा सबलता आउने बताएको छ। तर यस्तो खाले उपवास अशक्त, रोगी, बालबालिका, बुढापाकालाई शास्त्रीय विधानमा अनिवार्य गरिएको छैन।
सक्नेलाई पनि गर्नैपर्छ भनेर धार्मिक अतिवाद शास्त्रमा लादिएको छैन। गृहस्थ आश्रममा सबैभन्दा नजिकको र महत्त्वपूर्ण नातासम्बन्ध दाम्पत्य सम्बन्धलाई मानिन्छ। गृहस्थमा जो एक्लो जीवन बिताउनु भनेको नारकीय जीवनसरह नै मानिन्छ।
तसर्थ अविवाहित कुमारीहरूले असल वा चरित्रवान् पति पाऊँ भनेर, विधवा महिलाले यो जीवनमा जस्तो अर्को जीवनमा एक्लो जीवन बिताउनु नपरोस् र विवाहित महिलाले आफूअगावै श्रीमान्को इहलीला समाप्त नहोस् वा पतिको आयु वृद्धि होस् र आजीवन सौभाग्यवती रहन पाइयोस् भन्ने कामना गर्दै यो व्रत बस्ने प्रचलन छ। यसरी व्रत गर्नु भनेको पुरुषको आयु वृद्धिका लागि मात्र होइन भन्ने स्पष्ट हुन्छ।
यसरी के पुष्टि हुन्छ भने अनादि काल वा सत्ययुग वा वैदिककालमै नारी स्वतन्त्रता थियो, नारीप्रति सम्मान थियो। पश्चवर्ती सामन्ती युगसँगै पुरुषप्रधानता देखियो र लैंगिक विभेदमा नारीहरू परेको इतिहासले प्रस्ट्याउँछ। त्यही परम्परा वा वैदिक परम्परालाई निरन्तरता दिँदै आएको पर्व हो हरितालिका तीज पनि। र, यो पर्व समग्रमा नारीवादी पर्वको उदाहरण हो भनेर भन्दा दुई मत नहोला।
प्रकाशित: २२ भाद्र २०८१ ०८:११ शनिबार