सर्जक/समीक्षक अनिता कोइराला नेपाली आख्यानमा ‘उज्यालो औँसी’मार्फत् उदाएकी छन्। कोइरालाकृत औपन्यासिक कृति पढ्दै जाँदा पात्र महत्त्वपूर्ण देखिए पनि त्यसलाई विषयले उछिनेको छ। विभिन्न घटनाले घचघचाए पनि विचारले सारलाई बुनेको छ। यो आफ्नै देशको समग्र परिवेश, आफू बाँचेको कालको बेहाल अनि भद्दा राजनीतिक परिस्थितिको गहिरो अन्वेषणमा केन्द्रित छ।
अभिव्यक्तिको शैली मध्यकालीन स्वैरकल्पना भए पनि कथ्य विषयको थैली भने आजकै छ। उपन्यासमा कोइराला विगत र वर्तमानलाई जोड्न अनि भविष्यका तगारा फोड्न माहिर छन्। लौकिक घटनाको घानलाई अलौकिक कलाले पेलेर पाठकको गला अवरुद्ध गर्न कोइरालाको कलम सशक्त साबित भएको छ।
उनी पुरातन रूढि मान्यताका बार भत्काउँदै नूतन वैचारिक सार बीजारोपण गर्न खप्पिस छन्। यथार्थलाई अतिकल्पनाले सिँगार्ने अनौठो बान्की बोके पनि तथ्यलाई बङ्ग्याएकी छैनन्। उपन्यासको शैली स्वैरकल्पनाले विचारलाई मर्न र लेखनको उद्देश्यलाई झर्न दिएको छैन। बरू उल्टै पाठकलाई सोच्न अनि सच्चिन बाध्य बनाएको छ।
राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपालको वास्तविकता हो। व्यक्ति हत्याको शृङ्खलाले नेपाली समाज विशृङ्खल बनेको र त्यसले बालमथिङ्गल खलबलाएको तथ्य उपन्यासको मूल कथ्य बनेको छ। यसमा एक्काइसौं शताब्दीको समाज बर्बरतातिर होइन, सभ्यतातिर उन्मुख हुनुपर्ने कुरामा जोडदार आवाज उठाइएको छ। कोइरालाले सबैमा अँध्यारोबाट उज्यालोतिरको यात्राका निम्ति संस्कार, शिक्षा र सत्सङ्गको आवश्यकता बोध गराएकी छन्। उनले सहरमा बसेर सड्नुभन्दा गाउँमा गएर चेतना छर्नु महान् कार्य भएको कुरा उद्घोष गरेकी छन्।
जसरी कस्तूरीले आफ्नो नाभिबाट आएको बास्ना थाहा नपाएर सारा जंगल भौंतारिइरहन्छ, त्यसैगरी हामी मानिस पनि आफ्नो क्षमता बुझ्न नसकेर बिचमै अलमल मात्र होइन, कुहिराको काग भएका छौं। यो अवस्था औंसीको अन्धकार हो। आफूले आफैंलाई चिन्न सके मात्र औंसीको अन्धकार चिरेर उज्यालो ल्याउन सकिन्छ भन्ने द्वन्द्ववादी चिन्तन पनि यस उपन्यासमा देखिन्छ।
‘उज्यालो औंसी’ नारीवादी चेतना र विचारले ओतप्रोत भएको औपन्यासिक कृति हो। यसमा नारी अस्मिता बचाउन अनि अवसर र अधिकार पाउनका लागि तत्पर रहेको विचार व्यक्त भएको छ। पितृसत्ताले निर्माण गरेका विषवृक्षहरू नारीको जन्मप्रति नै असन्तुष्ट छन्। तिनीहरू नारीलाई कुनै किसिमको मूल्य दिन चाहँदैनन्। तिनीहरूले नारीको जीवनमा भन्दा मृत्युमा लाभ देख्ने निकृष्ट सोच पालेका छन्।
‘नारीका शत्रु नारी’ भनेझैं तिनीहरू नै भ्रूण हत्याका निम्ति सुझाउँछन्। उनीहरूमा पितृसत्ताको पिशाचले डेरा जमाएको छ। यस उपन्यासले त्यस्ता निकृष्ट सोचमाथि तिर चलाउँदै नारी अस्मिता जोगाउनका खातिर शिर उच्च बनाउनुपर्ने घनीभूत आवाज अगाडि सारेको छ। यसप्रकार ‘उज्यालो औंसी’ नारीवादी विचार, सोच अनि प्रेरणाको पर्याय बनेको छ।
हिंसालाई हिस्सा दिनु हिंस्रकता हो। यस्तो परिपाटी बन्द हुनुपर्छ। उपन्यासले आफ्नो अभीष्ट पूरा गर्न अथवा आफ्नो प्रभुत्व प्रवाह गर्न व्यक्ति हत्या गर्ने मध्ययुगीन कालो सोचमाथि खोट लगाएको छ। हिंसावादी सोचले आश्रित परिवारमा चोट पुर्याउने भएकाले त्यसलाई कुनै प्रकारले ओत दिन नहुने राय व्यक्त गरिएको छ।
सभ्य र समतामूलक समाज निर्माणका निम्ति असल शिक्षा, संस्कार र सत्सङ्गमा जोड दिनुपर्छ। आधा आकाश ढाकेका नारीशक्तिलाई शिक्षाशक्तिले आच्छादित गर्न सके मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय नाराले सार्थकता पाउन सक्छ भन्ने विचार उपन्यासबाट बोध गर्न सकिन्छ।
हामी झुटलाई स्वीकार अनि सत्यको सिकार गर्ने युगमा छौं। नारी अधिकार कागजका पानामा सीमित छन्। अब त्यसलाई व्यवहारमा ल्याउने हो भने देश कोरल्ने जिम्मा नारीको हातमा आउनुपर्छ, नत्र देश पितृसत्ताको चक्रव्यूहमा फसिरहन्छ।
पितृसत्ताको चक्रव्यूह नै अस्थिरताको मुख्य कारण हो। कोइरालाकृत औपन्यासिक कृति ‘उज्यालो औंसी’ले अस्थिरताबाट स्थिरता चाहने हो भने देशको बागडोर नारीको हातमा आउनुपर्छ भन्ने आशय व्यक्त गरेको छ। एउटी नारीले असल राज्य निर्माणका निम्ति महत्त्वपूर्ण योगदान दिन सक्ने भएकाले सबैले यसमा हेक्का राख्नुपर्छ।
प्रकाशित: १२ श्रावण २०८१ ०८:४७ शनिबार