२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

मदन पुरस्कार–२०८० का लागि छानिए पाँच पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८०’ को छोटो सूचीमा परेका पाँच पुस्तक सार्वजनिक गरेको छ। मंगलबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गुठीले छनौट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक भएका पुस्तकमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ छन्।

मदन पुरस्कारका लागि २०८० मा कुल ३०४ पुस्तक प्राप्त भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। छनौटमा परेका पाँच पुस्तकमध्ये उत्कृष्ट एकलाई वर्ष २०८० को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।

विसं २०१२ मा स्थापित भएको मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कृत गरेको थियो।

गुठीले २०७२ देखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दशवटा पुस्तकहरू छनौट गरी सूची सार्वजनिक गर्दछ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। छनौटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गर्दै आएको छ।

०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ बनाइएको छ। मदन पुरस्कार नेपाली साहित्य क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ।

प्रकाशित: ८ श्रावण २०८१ १८:४१ मंगलबार