२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

मलेसियामा यातना: नेपालमा मृत्यु

बिदेसिनेकाे व्यथा

वैदेशिक रोजगारीका क्रममा मलेसिया र ६ वटा खाडी मुलुकमा रोजगारीका लागि पुगेका अधिकांश नेपाली अवैधानिक रूपमा बस्दै आएका छन्। त्यहाँ बस्ने अनुमति अवधि सकिए पनि उनीहरू अवैधानिक ढंगले त्यहाँ बस्ने गरेका हुन्। सरकारले घरेलु कामदारका रूपमा श्रम स्वीकृति लिएर खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि भारतको बाटो हुँदै ती मुलुक पुगेका हजारौं महिला श्रमिक पनि रहेका छन्। यो संख्या बढ्दो छ।

त्यसरी अवैध बसेका नेपाली बिरामी वा मृत्यु भए क्षतिपूर्ति नपाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकृतहरू बताउँछन्। मलेसियामा यातना पाएर हालै नेपाल फर्केका एकजनाको निधन भएपछि क्षतिपूर्ति नपाइने स्थिति देखिएको हो।

सप्तरी छिन्नमस्तस्थित गोविनपुरका ४२ वर्षीय बेलेती सदा ती पीडित हुन्। उनको परिवारले उनको अनुपस्थितिमा कुनै सुविधा नपाउने अवस्था देखिएको छ। बेलेती वैदेशिक रोजगारीका क्रममा करिब दश वर्षअघि घरमा आमाबुबा, पत्नी र छोरोछोरी छोडेर मलेसिया पुगेका थिए। त्यहाँ काम गर्ने क्रममा राहदानी र श्रम स्वीकृति अवधि सकिएको थियो। श्रम स्वीकृति नवीकरण नगरेका कारण उनी मलेसियामा गैरकानुनी रूपमा बसेका नागरिकको सूचीमा परेपछि उनका दुःखका दिन सुरु भए।

नेपाल सरकारले विदेशमा अवैध बसेका नेपाली नागरिकलाई बेलाबखत सुनौलो अवसर दिए पनि उनलाई त्यसबारे ज्ञान नहुँदा बेलैमा फर्कन सकेनन्। बेलेती मलेसियामा दुई ठाउँ गरी तेलमिल र गार्डको काममा थिए। त्यही काम गर्दागर्दै उनको वर्षौं व्यतित भएको थियो। परिवार सदस्यका अनुसार अवैधानिक रूपमा काम गरिरहेका उनलाई मलेसियाली प्रहरीले समातेर तीन महिना हिरासतमा राखेको थियो। हिरासतमा पुग्नु नै उनका निम्ति यमराजको नजिक पुग्नु सरह भयो।

नेपाल फर्केपछि उनले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) लाई आफ्नो अवस्थाबारे अवगत गराएका थिए। हिरासतमा रहेका बेला उनीमाथि अमानवीय ढंगले कुटपिट भयो। ‘त्यहाँ त थुनामा परेका मान्छेलाई के गल्ती भएको पनि भन्दैन,’ नेपाल फर्केपछि बेलेतीले परिवारजनलाई बताएका थिए, ‘यतिकै गोरु चुटेझैं चुट्न थाले। टाउको जोगाएर शरीरको पूरै भागमा हम्मरजस्तै के केले हानेका थिए। बेहोस हुने गरेर कुट्थे। शरीरको मासु फुट्न थाल्दा पनि उनीहरूले कुट्न छोडेनन्। त्यस्तो निर्दयी मनका प्रहरी थिए।’

उनले भनेका थिए, ‘दिन प्रतिदिन कुट्दा मेरो मासु पट्टपट्ट फुटेको थियो। शरीर पुरै घाउ नै घाउ भएको थियो। बिस्तारै ती घाउहरू पाक्न थाले। बिरामी हुँदा पनि अस्पताल लगेनन्। त्यहीमाथि झन् धेरै यातना दिन थाले। केही नभएको फुर्तिलो शरीर अब कमजोर भइसकेको थियो।’

बेलेतीले परिवार सदस्यलाई बताएअनुसार मलेसियाली प्रहरीले उनलाई यतिसम्म कुटे कि कुट्दाकुट्दै शरीरको छालामासु छुटिन थालेको थियो। शरीरका अंग मरेर जति कुट्दा पनि नदुख्ने भइसकेका थिए। ‘शरीरमा कुटेर घाउ धेरै भएपछि सातआठ जना प्रहरी मिलेर अस्पताल लगे। उपचार गर्न लगेका होलान् भन्ने सोचें तर मेरो खुट्टा काट्न लगेका रहेछन्,’ बेलेतीले साला र पिएनसिसी संस्थालाई बताएका थिए।

उनले त्यहाँ बिन्ती बिसाए, ‘प्लिज मेरो खुट्टा नकाटिदिनुस्। बरु नेपाल फर्काइदिनुस्, म उतै गएर उपचार गरे पनि गरौंला, खुट्टै काट्न परे पनि काटौंला। तर, त्यहाँ म कमजोर मान्छेको हारगुहार केही चलेन। सबैजनाले समातेर खुट्टा छिनाले ।’ मलेसियाली हिरासतमा मरेको खण्डमा उनीहरूलाई अप्ठेरो हुन्छ भनेर खुट्टा काटेको चौथो दिनमा हवाईजहाजबाट नेपाल फर्काएका थिए।

उनी दशवर्ष विदेश बसेर कमाएको आम्दानी बालुवामा पानी हालेझैं भएको थियो। गत फागुनमा स्वदेश फर्किएका बेलेतीको शरीरमा एक जोर लुगा र हातमा नेपाल फर्किने टिकट मात्रै थियो। नेपाल फर्किएलगतै बिरामी बेलेतीले पिएनसिसीको छहारी पाए।

‘खुट्टै काटिएर बिजोक भई नेपाल फर्किएका थिए उनी। भर्खरैको आलो घाउबाट रगत आइरहेको थियो। शरीरभरि कुटेको प्रस्ट देख्न सकिन्थ्यो। शरीरमा लागेको सबै घाउ आलो थियो। उसिनेको आलुझैं शरीरको मासु सेतो भएर छालाले ठाउँ छोडिरहेको थियो। हेर्दै डर लाग्दो थियो,’ पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले भने।

उनी नेपाल फर्किएको खबर बेलेतीको घरमा पुग्यो। त्यसपछि उनलाई लिन साला आएका थिए। त्यसरी नाजुक अवस्थामा फर्केका बेलेतीलाई पिएनसिसीले आफ्नो आवासगृहमा चार दिन राखी घाउहरू ड्रेसिङ गराएर केही लत्ताकपडा, घरसम्म पुग्ने एम्बुलेन्स व्यवस्था र केही खर्चपानी जुटाइदिएको थियो।

उनी दशवर्षपछि आफ्नो जन्मथलो जाँदै थिए। उनी घर नपुग्दैै केही दिनअघिबाटै परिवारजनको रुवाबासी चलिरहेको थियो। जब घर पुगे, सबै परिवारले उनलाई अस्पताल पु¥याएको बेलेतीका जेठान अर्साफीले बताए। ‘ज्वाइँलाई हेर्न नसक्ने अवस्था भएपछि हामीले अस्पताल लगेका हौं। उहाँ जब जेल पर्नुभयो, हाम्रो सम्पर्कमा आउनु भएन। हामीलाई पनि के थाहा र जेल परेको कुरा त? गाई, भैंसी, बाख्रा र अन्नहरू सबै बेचेर उपचार गरायौं।’

अस्पतालमा उपचार गराउँदै गर्दा चिकित्सकले भनेको कुरालाई उद्धृत गर्दै अर्साफी भन्छन्, ‘यो खुट्टा किन काटेको हो ? काट्नै नपर्ने खुट्टा काटेको छ। जिउभरि पूरै घाउचोट अनि उहाँलाई मधुमेह पनि रहेछ। त्यसैले यो घाउ बिसेक हुन गाह्रो छ।’

अर्साफीका अनुसार केही समय अस्पताल राख्यौं। उहाँको इच्छालाई परिपूर्ति गर्दै घर पनि ल्याएका हौं। सबै परिवारै मिलेर उहाँलाई सेवा गर्दा पनि एक महिनाअघि मृत्यु भयो। मलेसियाली हिरासतमा भएको कुटाइले उनको मत्यु भएको परिवारजनको दाबी छ।

‘रोजगारीका लागि बिदेसिएका धेरै नेपाली कामदार श्रमअवधि म्याद सकिए पनि यही बसेर काम गरेका छन्,’ अध्यक्ष कार्कीले भने, ‘श्रम अवधि कम भएका कारण पनि धेरै नेपाली श्रमिक अवैध हुने गरेका छन्। यसका लागि सरकारले हाल जारी गर्दै आएको समयावधिलाई बढाएर पाँच वर्ष बनाउनु आवश्यक देखिन्छ।’

युएईमा, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान, जोर्डन, इजरायल, लेवलान, साइप्रस र कोरियालगायत अन्य देशमा नेपाली श्रम अवधि सकिए पनि स्वदेश नफर्की काम गरिरहेको सरकारी अनुमान छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजालका अनुसार कुनै पनि देशमा अवैध रूपमा बसेका कामदारलाई कसैले पनि यातना दिन पाउँदैनन्। मलेसियामा बेलेतीले यातना पाएको केही प्रमाण भए सदा परिवारले पक्कै क्षतिपूर्ति पाउने उनले बताए।

 ‘अपराधअनुसारको कानुनी दायरामा ल्याउन सकिन्छ तर कुनै पनि देशले कामदारलाई यातना दिन पाउँदैन। त्यसरी यातना दिएको अवस्थामा क्षतिपूर्ति पाउनुपर्छ प्रमाण पेस गरेमा,’ उनले भने। त्यसरी अवैध बसेका मानिसलाई केही समयअघि श्रम स्वीकृति नवीकरण गर्न एकपटक फुकुवा गरे पनि धेरै कामदारले चाल नपाएको रिजालले बताए।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्र्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार विभिन्न देशअनुसार श्रम स्वीकृति नवीकरणको म्याद फरक फरक छ। मलेसियामा तीन वर्षसम्म श्रम स्वीकृति नगरेको खण्डमा अवैध रूपमा बसेको मानिने उनले बताए।

‘सरकारले विदेशमा अवैध हैसियतमा बसेका कामदारलाई स्वदेश फर्काउन पहल पनि गरेको थियोे, ‘उनले भने, ‘थाहा हुने अवैध कामदारले श्रम स्वीकृति नवीकरण गरेर स्वदेश फर्किएका छन्। फेरि छुटेकाहरूलाई नेपाल फर्काउन पहल गर्नुपर्छ।’

श्रम स्वीकृतिको नवीकरण नगरेमा अवैधानिक हुन्छन् भने नेपालबाट विदेशमा जुन कम्पनी भनेर गएको हो त्यही कम्पनीमा काम नगरे अर्को कम्पनीमा काम गर्न गएको खण्डमा पनि अवैधानिक हुने उप्रेतीले बताए। ‘गन्तव्य देशमा रहेको कानुन विपरीत कामदारले काम गरेको अवस्थामा अवैधानिक हुने सबै देशको कानुनी व्यवस्था छ,’ उप्रेतीले भने।

साथै बेलेतीले सुरुमा मलेसिया जाँदा श्रम स्वीकृति लिएर गएसँगै पछि अवैधानिक भएर नेपाल फर्किएलगत्तै मृत्यु भएको अवस्थामा किरिया खर्च भनेर २५ हजार रूपैयाँ पाउने बोर्डको कानुनी व्यवस्था रहेको उनले बताए। तर, यो कानुनी व्यवस्थासम्बन्धी पीडित सदाका परिवार अन्धकारमा छन्।

सरकारले विदेशमा कामदार अवैध हुनबाट रोक्न कामदारलाई वितरण गर्ने श्रम स्वीकृतिको अवधि पाँच वर्षको जारी गर्नुपर्ने श्रम विज्ञ गणेश गुरुङ बताउँछन्।

उनले भने, ‘श्रम अवधि कम भएका कारण पनि धेरै नेपाली श्रमिक अवैध हुने गरेका छन्। यसका लागि सरकारले हाल जारी गर्दै आएको समयावधिलाई बढाएर पाँच वर्ष बनाउनुपर्ने आवश्यक देखिन्छ।’

नेपालमा कति विदेशी नागरिक गैरकानुनी रूपमा बस्छन् भन्ने सरकारसँग आधिकारिक अभिलेख छैन। तिब्बती र भुटानी शरणार्थीसहित अरू १० भन्दाबढी देशका नागरिक छन्। उनीहरू सबै लुकिछिपी भित्रिएका श्रमविज्ञ गुरुङले बताए।

नेपाल भित्रिएर गैरकानुनी रूपमा बस्ने कति विदेशी छन् भन्ने अध्यागमन विभागसँग अभिलेख पनि छैन। अन्य देशका नागरिक गैरकानुनी रूपमा भित्रिएर सहजै काठमाडौंसम्म आउने गरेका प्रशस्त छन्।

नेपालमा अपराध गरेर विदेश पुगेका अपराधीलाई कानुनअनुसार सहजै फर्काउने अवस्था कम छ। कतिपय देशले सुपुर्दगी गरेर पठाए पनि अधिकांश अपराधी कानुनको फाइदा उठाएर विदेशमा लुकेर बस्ने गरेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी एसपी गौतम मिश्रले बताए। अमेरिका, बेलायत, युरोपका अन्य मुलुकसहित कतार, दुबई, मलेसियालगायत देशमा उनीहरू लुकिछिपी बस्दैआएको ब्युरोको प्रहरी स्रोत बताउँछ।

प्रवासमा रहेका नेपाली श्रमिकको हकहितका लागि स्थापना गरेको पिएनसिसीले मलेसिया तथा खाडीलगायत देशमा रहेका नेपाली श्रमिकसमस्याबारे पैरवी, उद्धार, सहजीकरण गर्दै आएको छ। वैदेशिक रोजगारीका क्रममा विविध परिस्थितिमा समस्यामा परेका ४३ हजार पाँच सयभन्दा बढी आप्रवासी श्रमिक र उनीहरूका परिवारको विविध समस्याहरूको सहजीकरण पिएनसिसीको तथ्यांकमा छ।

यसरी अवैधानिक अवस्थामा मलेसिया बसेका बेलेती त्यहाँको प्रहरीको कुटाइपछि स्वदेश फर्किएर मृत्युसम्म पुग्नुपरेको छ। यसरी यातना पाएर मत्युवरण गर्ने पात्र उनी मात्र होइनन्। उनीजस्ता धेरैले त्यसरी नै ज्यान गुमाउनुपरेको छ। सरकारी निकाय भने यस्ता दर्दनाक घटनामा समेत अनविज्ञजस्तै छ। बेलेतीजस्तै अरूले पनि यसरी दुःख नपाउलान् भन्ने छैन।

प्रकाशित: ५ श्रावण २०८१ ११:०१ शनिबार

#Death in Nepal #Torture in Malaysia # Baidesik Rojgari #Abroad pain