१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

२० हजार युवाका नेतृत्वकर्ता २९ वर्षीय रविन

नेतृत्व

२०८० सालको पुसमा सम्पन्न नेपाल जेसिज वर्ष २०२४ का लागि अध्यक्ष पदमा निर्वाचित रविन पोखरेल युवा क्षेत्रमा सक्रिय व्यक्ति हुन्। विद्यालय र क्याम्पस अध्ययनको दौरानमा विभिन्न क्लबहरूको नेतृत्व लिन पाउँदा रविन औधी खुसी हुन्थे।

स्याङ्जाको आँधीखोला गाउँपालिका– ५ मा सामान्य परिवारमा जन्मेका रविन अध्ययनका लागि सानैमा काठमाडौं छिरे। उनका हजुरबुबा पुरोहित थिए। बाबाले व्यवसाय सुरु गरेकाले उनलाई पढ्नमा खासै समस्या भने थिएन। तर, गाउँघरमा धेरै बालबालिका पढ्न नपाएको देख्दा उनलाई नरमाइलो लाग्थ्यो।

अध्ययनका क्रममा उनले विभिन्न क्लबहरूको नेतृत्व गर्ने र विद्यालय स्तरमा हुने धेरै कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थाले। कक्षा ९ मा अध्ययनकै क्रममा ‘क्लास क्याप्टेन’ हुँदै गर्दा सबैलाई मिलाउन सक्ने भएकाले पनि रविन शिक्षकहरूको नजरमा समेत परे।

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा प्लस टु को अध्ययन सुरु गरेका रविन कलेजमा अझ बढी खारिए। कलेजमा अध्ययनकै दौरानमा मिस्टर राजधानी– २०१२ को विजेता भएपछि साथीसँगीले रविनलाई हेर्ने दृष्टिकोण थप फेरियो। कलेजमा हुने विभिन्न कार्यक्रमहरूको उद्घोषणमा उनले अवसर पाउन थाले। पढाइमा पनि अब्बल नै भएकाले गुरुहरूको पनि राम्रो प्रशंसाले उनलाई थप हौसला मिल्यो।

युवा क्षेत्रमा केही गरेर देश तथा विदेशमा चिनिने उद्देश्य राखेर अगाडि बढेका रविनले २०१४ मा १८ वर्षको उमेरमै नुवाकोट जेसिजबाट साधारण सदस्य लिएर संस्थागत रूपमा अगाडि बढे। उनले सानै उमेरमा जेसिजमा आबद्ध भएको दुई वर्षमै नुवाकोट शाखाको अध्यक्ष भएर काम गर्ने अवसर प्राप्त गरे।

नुवाकोट जेसिजको शाखा अध्यक्ष हुँदा जेसिआई (जुनियर च्याम्बर इन्टरनेसनल) कै एक अंगका रूपमा रहेको एसिया प्यासिफिक डेभलपमेन्ट काउन्सिलअन्तर्गत लाओसमा तालिम दिनका लागि ‘ट्रेनर’ का रूपमा अवसर प्राप्त गरे। २१ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय स्तरमा तालिम दिन छनौट हुँदा आफूमा थप उत्साह र प्रेरणा जागेको उनी सुनाउँछन्।

लाओसमा उनले सानै उमेरमा सिकेका यावत् कुराहरूलाई सिकाउनुका साथै नयाँ कुराहरू सिक्ने मौका समेत पाए। जेसिजका विभिन्न तहमा बसेर कार्यानुभव बटुलेका रविन २०२३ मा नेपाल जेसिजको अध्यक्ष पदका लागि चुनावी मैदानमा होमिए। तर, त्यसबेला असफल भएका उनले दोस्रो पटकको प्रयासमा बाजी मारे।

संस्थाको विधानअनुसार एक वर्ष मात्र नेतृत्वमा रहेर जेसिज हाँक्न पाउने भएकाले छोटो समयमा धेरै काम गर्न नसके तापनि देश र युवाका लागि केही नयाँ गर्ने सोच उनमा छ।

देशभर करिब २० हजार साधारण सदस्यता रहेको जेसिज १८ देखि ४० वर्ष उमेर समूहका युवाका क्षमता अभिवृद्वि गर्ने, व्यक्तिगत विकाससँगै समाज रूपान्तरणका लागि एउटा अब्बल नेतृत्वदायी भूमिकामा ल्याउनका लागि नेतृत्व प्रदान गर्ने युवाको सञ्जाल नै जेसिज हो।

व्यावसायिक अजेन्डालाई बोकेर युवालाई कसरी उद्यमशीलता बनाउने, आर्थिक हिसाबले कसरी सम्पन्न बनाउने भन्ने विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था हो। जेसिजको करिब एक सय १० देशमा राष्ट्रिय कार्यसमिति रहेको छ।

हालसम्मका राष्ट्रिय अध्यक्षहरूमा कम उमेरमा नेतृत्वमा पुग्नेमध्येका एक रविन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवाका क्षेत्रमा काम गर्दै आगामी वर्ष अन्तर्राष्ट्रिय उपाध्यक्ष पदमा चुनाव लड्ने लक्ष्य लिएर अगाडि बढेका छन्।

जेसिजको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपश्चात्को यो चार महिनामा आफू युवाहरूकै मुद्दामा बढी केन्द्रित भएको उनको भनाइ छ। पछिल्लो समय कोभिड– १९ पश्चात् धेरै युवाहरूमा व्यवसाय नफस्टाएको र बेरोजगारीको संख्या बढ्दा मानसिक तनाव देखिएकाले व्यापार, व्यवसायलाई कसरी स्थायित्व र दिगो बनाउन सकिन्छ भन्नेका तालिमहरू र परामर्श दिने कार्य भइरहेको छ।

उनी थप्छन्, ‘विभिन्न बैंक वित्तीय संस्थाका प्रमुखहरूसँग परामर्श गरेर युवाको व्यापारलाई कसरी सहजीकरण र अप्ठ्यारोमा परेका युवालाई कसरी मद्दत गर्न सकिन्छ भन्नेमा देशव्यापी रूपमा अभियान सञ्चालन भइरहेको छ।’

मूलतः देशमा बढ्दो रोजगारी र पलायनलाई रोक्न नेपाल सरकारले सबैभन्दा मुलुकमा भएको सम्भावनालाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्ने सोच बनाएको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो मुलुकको आफ्नै कला, धर्म, संस्कृति छ, त्यसलाई बचाउनका लागि युवाहरू जागरुक हुनुपर्छ।’

अध्यक्षमा निर्वाचित भइसकेपछि उनी मूलतः तीन कुरामा केन्द्रित भएका छन्। नेपालमा सबैभन्दा बढी युवालाई कृषिमा जोड्ने, कृषिमा नयाँ प्रविधि भित्राउने र कफी व्यवसायसँग युवालाई जोड्ने उनको योजना छ।

प्रकाशित: २२ असार २०८१ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App