७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

वियाेगान्त उपन्यासकाे उत्कृष्ट नमुना: निरजोया

पुस्तक

मैले दाजु गुरुङको निरजोया उपन्यास पढेर सिध्याएँ। योभन्दा अघि नै दाजु गुरुङका टाँकीका फूलहरू र लाइ-सी दुई कथासङ्ग्रह प्रकाशित छन्। सङ्खुवासभामा जन्मेर हङ्कङमा कार्यथलो बनाएका दाजु गुरुङको तेस्रो कृति हो निरजोया उपन्यास।

तीनवटै कृतिको लोकार्पण कार्यक्रममा अतिथिको रूपमा हङकङमा उपस्थित हुने मलाई मौका मिल्यो। मे छब्बीसमा लोकार्पण भएको यो उपन्यास पढेर जस्तो लाग्छ त्यस्तै लेख्ने वाचा गरेर नेपाल फर्किएकी थिएँ।

मलेसियामा बसेर नेपाली दाजुभाइहरूले मजबुरीका लागि पाएको दुखकष्ट र त्यहाँको पुलिस प्रशासनले दिएको दुखकष्ट र भोगेका पीडाको सिलसिला अनि त्यहाँ बस्दा निरोज एउटी केटीसँग प्रेममा परेर सम्बन्धमा बसेको हुन्छ।

निरोजले आफूसँग पासपोर्ट साथमा नबोकी हिंड्दा त्यहाँको कानुन अनुसार पुलिसले कार्यवाही गर्दा गरेको अत्यन्त क्रूर र अमानवीय व्यवहार, लुगा फुकालेर नाङ्गेझार बनाएर दिएको यातना, दिसापिसाबसम्म गर्न नदिई राखेको बेला कतैबाट खबर पाएर जोया आइपुगेर पटकपटक छुटाएर लगेको तर फेरि एउटै कारण पटकपटक जेल परेर दुख पाएको कथानक छ।

पछिल्लोपटक भने निरोजको व्यवहारले प्रेमसम्बन्धबाट अलग्गिएपछि जोया भेट्न या जेलबाट छुटाउन नआएकी हुँदा निरोजले झल्झली जोयालाई सम्झिन्छ तर जोया आउँदिन।

म आफू दर्जनौं पटक मलेसिया गएकी छु। यो उपन्यासमा भनिएको ठाउँ जोहोरबारु आफ्नै आँखाले झल्झली देखेर आएकीले उपन्यासको कथानकसँगै पुनः यात्रा गरेझैं लाग्यो। त्यहाँ काम गर्ने नेपाली दाजुभाइलाई मैले पनि भेटेकी छु। ती सबैले उपन्यासमा आएको जस्तै दुख भोगेका होलान् भनेर एकोहोरिएँ बेलाबेला। तर, यति मीठो गरी जम्मै आफैंले भोगेको जसरी निरोज बनेर समयको कुनै कालखण्डमा उपन्यासकार आफैंले त भोगेको होइन यो कथा जस्तो लाग्छ।

मलेसियाको जोहोरबारुका गल्लीगल्ली, त्यहाँका प्रत्येक स्टेशनका नामसहित त्यहाँको भाषा समेत हेर्दा र प्रस्तुतिको शैली हेर्दा काल्पनिक कथावस्तुमा कसरी उपन्यास लेख्न सम्भव भयो होला र भन्ने एउटै प्रश्नले लखेटिरह्यो मलाई।

कथामा आउने डम्बर दाइ निरोजको निकै सहयोगीको भूमिकामा देखिएका छन्। नेपाली दाजुभाइलाई प्रतिनिधित्व गर्न निरोज र डम्बर दाइ प्रतिनिधि पात्रका रूपमा आएका छन्।

मुलुक छाडेर विदेशिदा पैसाको बिटो टिपेर लिई आउँछ भनेर बस्ने श्रीमती, छोराछोरी र बाआमालाई पनि विदेशमा सुख छैन भन्ने सन्देश यो उपन्यासले दिएको छ। अन्तिममा दुखसुख जेजे गरेर भए पनि त्यो चङ्गुलबाट फुत्केर अरू नेपाली दाजुभाइकै साथसहयोगमा निरोज नेपाल फर्कन्छ। लामो समय जीर्ण भएको शरीर अस्पतालको बसाइमा पर्छ। जोयालाई एकदम धेरै सम्झिन्छ। निर र जोया सम्झनामै सीमित भएर उपन्यास वियोगान्तमा टुङ्गिन्छ।

निकै मिहेनत गरेर लेखिएको यो उपन्यासका लेखक मलेसियामा नभएर हङ्कङमा छन्। हङकङ बसेर मलेसियामा गएका नेपालीको मनोदशा केलाएर देशको माया के हो भन्ने कुरा बुझाउन पनि उनी सफल भएका छन्। उपन्यासकारको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस्, शुभकामना।

प्रकाशित: ३ असार २०८१ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App