पत्रकार नेत्र पन्थीद्वारा लिखित ‘लेफ्ट–राइट: सत्ता र शक्तिको अ–राजनीति’ नामक पुस्तक माओवादी आन्दोलन र संसदीय दलहरूले सत्ताका लागि गरेका अराजनीतिक हर्कतको एउटा जीवन्त दस्ताबेज हो।
पुस्तकमा उठाइएका विषयवस्तुले सबै पार्टीभित्र र बाहिर भएका ठुलाठुला संघर्षको सूक्ष्म ढंगले चिरफार गरेर सत्ताका लागि चालिएका हरेक बाघचालको अन्तरकथा समेटेका छन्। यो सिनेमाको पर्दामा जस्तै छर्लङ्गै देख्न सकिने अतरसंघर्षको पेचिलो पटकथा हो।
पन्थी माओवादी आन्दोलनको अनुसन्धान र रिपोर्टिङ गरेका पत्रकार हुन्। पन्थीका यसअघि पनि माओवादी आन्दोलनसँग जोडिएका केही पुस्तक सार्वजनिक भइसकेका छन्।
उनका पुस्तकमा माओवादी आन्दोलनमा सहभागी नभएका पाठकले समेत जीवन्त अनुभूति गर्न सक्छन्। यस पुस्तकमा पनि सत्तासंघर्षका लागि गरिएका तमाम गतिविधिलाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरिएको छ।
घटनाक्रमको मिति, स्थान र परिवेशसमेत किटान गरी सविस्तार प्रस्तुत गरिएकाले पनि यो कुनै राजनीतिक गफको सँगालो नभई विगत बुझ्ने, वर्तमानमा धारणा बनाउने र भविष्यको बाटो तय गर्ने मार्गचित्र र योजनाको डिपिआर बन्न पुगेको महसुस गर्न सकिन्छ।
घटनाक्रम, पात्र र प्रवृत्तिलाई मिठासपूर्ण शैलीमा चित्रण गरेर लेखकले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकेका छन्।
लेख्नु मात्र ठुलो कुरा होइन। कलमले भविष्यलाई न्याय दिन सक्नुपर्छ। ‘लेफ्ट–राइट: सत्ता संघर्षको अ–राजनीति’ले भविष्यलाई न्याय गरेको छ र प्रस्तुत पुस्तकले सत्ता र शक्तिका लागि गरिएका धोका र प्रतिधोकाका परिघटनाभित्र घटेका ‘शकुनिचाल’ मात्र होइन, खेलिएका ‘पासा’समेतको दाउपेच सार्वजनिक गर्ने साहस देखाएको छ।
सत्ताभित्रको बाघचाल बुझ्न प्रस्तुत पुस्तकले यथार्थताको सहारा लिएर नेता, नेतृत्व र गलत प्रवृत्तिका सामु आफ्नो स्वाभिमान जोगाएको देखिन्छ। मुख्य गरी प्रस्तुत पुस्तकले शान्तिप्रक्रियापछिका सत्तारोह र अवरोहका उछाललाई पर्दामा जस्तै उतार्न सफल भएको मान्न सकिन्छ।
प्रस्तुत पुस्तकले माओवादी आन्दोलनपछि संसदीय राजनीतिमा देखा परेका एक–अर्काप्रति गरेका षड्यन्त्र, धोका, अपमान, गमन–प्रतिगमन र सत्ता दाउपेचको अनगिन्ती शृंखलाका कडी जोड्ने इमानदार प्रयास गरेको छ।
हरेक दलभित्रको अन्तरसंघर्ष, त्यसको सत्तामा परेको प्रभाव, दलहरूको निर्णय प्रक्रियामाथि नेतृत्वको एकाधिकार र निर्णय प्रणालीको निजीकरणबारे तथ्यगत विवेचना गरेर लेखक पत्रकारिताको स्तरलाई नयाँ मान्यतामा स्थापित गर्न सफल भएका छन्।
माओवादी आन्दोलन सत्ता र शक्तिका लागि हुने दाउपेचका विरुद्धको विद्रोह थियो। यही विद्रोहबाट नै मुलुक गणतन्त्रमा प्रवेश गर्यो। अरू थप उपलब्धि पनि भए। संविधान सभाबाट संविधान पनि बन्यो तर सत्ता र शक्तिका लागि फेरि नयाँ स्तरबाट अराजनीतिक खेल सुरु भयो।
‘जनयुद्ध सुरु गर्ने कि नगर्ने भन्ने विषयमै पहिलो संघर्ष भयो। निर्मल लामा समूह जनयुद्धमा नजाने निर्णयसहित पार्टीबाट अलग्गियो। जनयुद्धको दोस्रो योजना कार्यान्वयनमा जाँदा पार्टीभित्र केही अलमल भए। केही सिनियर नेताहरूको चरित्र र आचरणमा गम्भीर समस्या देखिए।
पार्टीले कारबाही नै गर्नुपर्ने स्थिति बन्यो। चौथो विस्तारित बैठकसम्म पुग्दा नेतृत्वको केन्द्रीकरण, नेतृत्वको फोटो सार्वजनिक गर्ने कि नगर्ने, आधार इलाका निर्माणका चरण र मोडालिटीलगायत विषयमा गम्भीर अन्तरसंघर्ष देखापर्यो। त्यसपछि पन्जाबको बैठकमा नेतृत्वको लिखित आत्मालोचना पेस गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो।
दोस्रो राष्ट्रिय सम्मेलनबाट त जनयुद्धको कार्यदिशा नै बदलियो र गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभा निर्वाचनसम्मको कार्यनीति बन्यो। यो पनि पार्टीभित्र चलेको दुई लाइन संघर्षको परिणाम थियो।
चुनाबाङ बैठकसम्म आउँदा पार्टी अन्तरसंघर्षका ठुलाठुला पहाड चढेर जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराउन सफल भयो। शान्ति प्रक्रियामा आइसकेपछि सत्ता आरोहणका लागि गरिएका प्रयास र कदम पनि पार्टीभित्र गरिएका अन्तरसंघर्षभन्दा कम पेचिला छैनन्।
स्वाभिमान धरौटी राखेर सत्तारोहण गर्नैपर्ने हाम्रा बाध्यता के हुन्? जनयुद्धका बेला गरिएका आदर्श संकल्प मेटाउने छाया को हुन्? पार्टीलाई मारेर आफूलाई मात्र बाँच्न सिकाउने सिद्धान्त कसले प्रतिपादन गर्यो? पैसा, नोकरसाही एकाधिकार, उपलब्धिमाथिको निजीकरण गर्ने सोच नीतिमा थिएन तर नियतमा किन देखापर्यो? पुस्तकले उपर्युक्त तथ्यमाथि शल्यक्रिया नै गरेर यथार्थ उजागर गरेको छ।
त्यसो त सत्तारोह र अवरोहका लागि खेलिने अराजनीतिको बाघचाल माओवादीले मात्र खेलेको छैन। पुराना भनिएका र साँच्चै नै नियत, नीति र सोचमा समेत पुराना भएका पार्टी वा दलहरू पनि कम छैनन्।
पुरुषले सुत्केरी भत्ता बुझ्नेदेखि पजेरो संस्कृति ती दलले जन्माएका विकृत धन्दा हुन्। सांसद किनबेचदेखि चरित्रको नाङ्गो खेलमा सामेल गराउने परिपाटी ती पुराना भनिएका दलहरूको मूल ढोकाबाट सत्तामा छिर्यो।
अहिले ती दलहरू नै सुशासनको पाठ पढाउँदै सुसंस्कृतिको खिल्ली उडाइरहेका छन्। भुटानी शरणार्थी प्रकरण त्यही गर्भबाट जन्मेको विकृत संस्कृतिको नाङ्गो उपज हो। सत्ता र नेतृत्वका लागि जे पनि गर्न तयार हुने विचार र प्रवृत्तिको पुनरावृत्ति कसरी हुन्छ भन्ने कुरा कांग्रेस र एमालेको विगत हेरे मात्र पुग्छ।
राष्ट्रघात, जनघात मात्र होइन, कतिपय रहस्यमय हत्या, दुर्घटना र कारबाहीसमेतको इतिहास बोकेर संसदीय दलहरू आजको सत्ता खेलमा सामेल छन्। कथित राष्ट्रवाद सत्तामा पुग्ने भर्याङ मात्र बनेको आजको वास्तविकता पुस्तकबाट प्रस्टै हुन्छ।
पुराना भनिएका पार्टीमा छरपस्ट देखिएका विकृति आज नयाँ भनिएको माओवादीभित्र पनि देखिनुले सत्ता र शक्तिमा पुग्न के–कस्ता अराजनीतिक बाघचाल चालिएको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ।
सत्ता र शक्तिका लागि कहिले दायाँ त कहिले बायाँ कदम चाल्ने प्रवृत्तिलाई सकारात्मक अर्थमा गतिशील ठानिए पनि वास्तवमा यो अग्रगमन र प्रतिगमन एकै ठाउँ भुटेर बनाइएको सत्ताको ‘सातु’बाहेक केही होइन भन्ने कुरा प्रस्तुत पुस्तकले तार्किक विश्लेषण गरेको छ।
नेपालको भूपरिवेश, छिमेकी देशहरूसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय चासो, चिन्ता र हस्तक्षेप, भूमण्डलीकरणको नेपाल प्रभाव, वित्तीय समीकरण र प्रभावसमेतलाई ध्यान दिँदा अहिले नेपाल कति सार्वभौमिकतामा बाँचेको छ? हाम्रा निर्णय कति स्वतन्त्र छन् र कति प्रभावित छन्? हाम्रो विकास नीतिमा अरूको भर कति हो? र हाम्रो आफ्नै नीति र निर्माण कति हो? समग्र विषयको साङ्गोपाङ्गो लेखाजोखा नगरी सत्ता राजनीतिको अराजनीति बुझ्न सकिँदैन।
लेफ्ट–राइट यसैको प्रतिबिम्बित रूप हो। प्रस्तुत पुस्तक कुनै पार्टी पात्र र प्रवृत्तिको पूर्वाग्रही रूपले आलोचना गरिएको दस्ताबेज होइन। यो पुस्तकको आशय सत्ता राजनीतिमा राजनीति गरौं तर अराजनीति नगरौं भन्ने हो।
सत्ता र शक्तिका लागि नैतिकता, मूल्य–मान्यता, विचार, सिद्धान्त, आदर्शबाट च्युत हुनुपर्छ र? लेखकले यी सबै प्रश्नको जबाफ दिने प्रयास गरेका छन्। यी मान्यताबाट पछि हटेर होइन, अघि बढेर नै राजनीतिको मुहान सफा गर्न सकिन्छ भन्ने कुरा लेखकले स्थापित गर्न खोजेका छन्।
भरपर्दो सूचना, यथेष्ट प्रमाण, घटनाक्रमको सिलसिला र तथ्यले बोलेका कुरालाई किताबको आकारमा पस्कन सक्नु घटनाक्रमलाई विश्वास गर्ने दरिला प्रमाण हुन्। लेखकका यसअघि प्रकाशित पुस्तक नै नयाँ पुस्तकका विश्वासका आधार हुन्।
नैतिक, गतिशील र स्वाभिमानी नेतृत्व आजका राजनीतिका सच्चा पहरेदार हुन सक्छन् भन्ने कुरा प्रस्तुत पुस्तकको घतलाग्दो शिक्षा हो। लामो अध्ययन, अनुसन्धान र तथ्यको विश्लेषणका आधारमा लेखिएको पुस्तक भएकाले पठनीय सन्दर्भ सामग्रीको रूपमा पुस्तकालयमा सङ्ग्रह गर्दा पुस्तकप्रति न्याय हुने देखिन्छ।
प्रकाशित: १२ फाल्गुन २०८० ०९:३५ शनिबार