२५ असार २०८१ मंगलबार
image/svg+xml
कला

विनोदको सांगीतिक उचाइ

केही दिनअघि ‘भ्वाइस् अफ नेपाल’ मा आफूलाई भोट माग्न गृह जिल्ला इलाम आएका विनोद इलाम बजारमा सांगीतिक प्रस्तुति दिँदै। तस्बिर: भीम/नागरिक

इलामका विनोद राईले ‘द भ्वाइस अफ नेपाल सिजन–५’ को उपाधि जिते। गए राति भएको फाइनलमा तीन फाइनलिस्टलाई पछि पार्दै विनोद उपाधि चुम्न सफल भएका हुन्।

सयौं नेपाली संगीत प्रतिभाको ‘करिअर सपना’ र लाखौं संगीतप्रेमी नेपालीले नजर गरिरहेको ‘द भ्वाइस् अफ नेपाल सिजन–५’ को विजेता बनेसँगै विनोदलाई सिंगो इलामवासीले बधाई र शुभकामना ओइराइरहेका छन्। 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका प्रतिभा विनोदलाई बधाई र शुभकामना दिएका छन्। खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइँ–हामी सबैको प्रयासबाट सफल हुनुभएकाेमा विनोद भाइ तपाइँलाई बधाई छ।’

इलाम क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पनि विनोदलाई बधाई र शुभकामना दिएका छन्। बस्नेतले भनेका छन्, ‘इलामले गायन प्रतिस्पर्धामा एक पटक राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरसम्मकै ध्यान खिच्न सफल भएको छ, बधाई छ विनोदलाई।’

गायनमा सयौं प्रतिस्पर्धीलाई उछिनेर उपाधि चुम्न सफल विनोद राईको सांगीतिक यात्रा र उचाइ सहजै प्राप्त भएको होइन। जुनसुकै काममा अत्यन्त मेहनती विनोद गायनलाई आफ्नो सबैभन्दा ठूलो रुचि ठान्छन्।

को हुन् विनोद ?

इलामको फाकफोकथुम गाउँपालिका–५, लुम्देमा बुबा हरिबहादुर र आमा गौमतीको कोखबाट २०४७ कात्तिक १९ मा जन्मिएका विनोदले माध्यमिक तहको शिक्षा गाउँमै लिए। 

स्थानीय जालपा माध्यमिक विद्यालयबाट कक्षा १० पास भएपछि ११ र १२ कक्षा पढ्न उनी मोरङको पथरीस्थित पञ्चायत मावि पुगे। त्यहाँबाट कक्षा १२ पास गरेपछि पथरी बहुमुखी क्याम्पसबाट मानविकी संकाय नेपाली विषयमा स्नातक गरे। र, उनले शिक्षा संकायमा पनि स्नातक गरेका छन्।

सानैदेखि गायनमा रुचि भएका विनोद गाउँघरमा घाँसपात गर्न जाँदा र साथीभाइ भेला हुँदा गीत गाएर सुनाउँथे। उनलाई सबैले गाउने हौसला दिन थालेपछि ‘इलाम आइडल’ मा भाग लिए। अरू प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेपनि बिरामी परेकाले फाइनलमा सहभागी हुनै पाएनन्।

तर, उनको सांगीतिक यात्रा रोकिएन। ‘नेपाली तारा सिजन ३’ मा प्रतिस्पर्धा गरे। उत्कृष्ट सातमा पुगेर बाहिरिए। ‘यसबीचमा भएका केही सांगीतिक प्रतिस्पर्धाको नाम लिन चाहन्नँ,’ उनले भने।

नियमित पढाइसँगै विनोदले पथरीको पूर्वाञ्चल संगीत विद्यालयमा भर्ना भई संगीतको ‘कखरा’ सुरु गरे। अबोध पन्दाकले उनलाई ‘सरगम’ को औपचारिक शिक्षा दिए। झापा दमकस्थित सुरवी संगीत विद्यालयमा अनिल फागोसँग उनले संगीतका ‘आरोह–अवरोह’ निखार्ने मौका पाए। त्यसपछि काठमाडौं गएर ललितकला क्याम्पसमा भर्ना भई ‘भोकल’ मा स्नातक गरे। उनले गीत–संगीतमा स्नातक हासिल गरेको सात वर्ष बितेको छ।

सामान्य किसान परिवारमा जन्मेका विनोद चार दाजु–भाइमध्येका साहिँला हुन्। उनका तीन दिदी र एक बहिनी छन्। छ वर्षअघि झापा बेलडाँडीकी रेनुका राईसँग उनी विवाह बन्धनमा बाँधिए।

विनोदलाई यो उपाधि दिलाउन जिल्लावासीले अभियान नै चलाएका थिए। जिल्लाका पालिका–पालिकामा विनोदका लागि भोट भाग्दै कलाकार र उनका शुभचिन्तक दौडाहा थिए।

इलामवासी सयौंले विनोदलाई भोट दिएर जिताउन भन्दै सामाजिक सञ्जालमा प्रचार गरेका थिए। गृह जिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनालदेखि प्रतिनिधिसभा सदस्य बस्नेतलगायत राजनीतिक दलका नेता–कार्यकर्ता, विद्यार्थी, संगीतप्रेमी र सामाजिक अभियन्तालगायतले उनलाई जिताउन भोट दिन आग्रह गरेका थिए।

प्रकाशित: २८ पुस २०८० ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App