काठमाडौं – अमेरिकी कवि तथा कलाकार विल्ला सेनबरले हालै नेपाली साहित्यकारमाझ राजधानीमा भएको एक कार्यक्रममा पुराना चिनियाँ कवि वाङ वेको एउटा कविताको अनुवाद प्रस्तुत गरिन् ।
यो कविताको विशेषता के थियो भने यही कवितालाई चार अनुवादकले फरक तरिकाले अनुवाद गरेका थिए । ‘चार जनाले अनुवाद गरेका यी कवितामध्ये कसको अनुवाद राम्रो हो ?’ उनले कार्यक्रमका सहभागीलाई प्रश्न गरिन् । उनको प्रश्नको उत्तर कसैले पनि फर्काउन सकेनन् । सहभागीबाट उत्तर नआएपछि प्रा. डा. अभि सुवेदीले उनको प्रश्नको सहजीकरण गरिदिए तर कसैको उत्तर आएन ।
सहभागीले कवि विल्लाको उत्तर दिन नसक्नुमा नेपाली साहित्यमा अनुवादको बहस राम्ररी थालनी नहुनु नै प्रमुख थियो । अनुवाद गर्न अनुदित पुस्तक पढ्ने चलन बढाउनुको विकल्प नरहेको कार्यक्रमले देखाउँथ्यो ।
विल्लाले भने १९ नम्बरको कविताको अनुवाद आफूलाई व्यक्तिगत रुपमा मन परेको उल्लेख गरिन् । सुवेदीले चाहिँ ११ नम्बरको कवितामा अनुवादको सही कला रहेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले आयोजना गरेको कार्यक्रममा विल्लाले अनुवादलाई प्रकट र मौनताबाट एक्कासी निस्कने कलाका रुपमा व्याख्या गरिन् ।
ज्ञातलाई ज्ञान बनाउने कला नै अनुवाद भएको उनले प्रष्ट्याइन् । ‘कोही अनुवादकले अनुवाद गर्छ भने कविको मनभित्र पसेपछि मात्र अनुवाद हुन्छ,’ उनले सुनाइन्, ‘बाहिरको सतहको अनुवाद अनुवाद नै हैन ।’ उनले ‘ट्रान्सलेसन पोइट्रीः द आर्ट अफ प्रिजर्भिङ इसेन्स’ विषयमा कार्यपत्र नै प्रस्तुत गरिन् ।
नेपालको तर्फबाट महेश पौडेलले ‘अ सर्भे अफ नेपाली लिट्रेचर इन इंगलिसः ट्रान्सलेटेड एन्ड ओरिजिनल’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्नु नै नेपाली समाजमा अनुवाद मानिने गरिएको यथार्थ बताए जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने उनको दाबी थियो ।
उनले नेपाली श्रष्टाले अंग्रेजीमा आफैं अनुवाद गरेका र नेपालीमा लेखिएका साहित्यलाई अंग्रेजीमा अनुवाद गर्ने दुई चलनबारे व्याख्या गरे । सबैभन्दा पहिला अंगे्रजीमा आफ्नै कृति अनुवाद गर्ने लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेको उनको जिकिर थियो । देवकोटाले आफ्नै कृति ‘शाकुन्तल’लाई अंग्रेजीमा अनुवाद गरेका थिए ।
पौडेलका अनुसार त्यसपछि मणि दिक्षित, पदम देवकोटा, अभि सुवेदी, डिबी गुरुङलगायतका स्रष्टाले आफ्ना कृतिहरु अंग्रेजीमा अनुवाद गरेका थिए । देवकोटाले सिद्धिचरण श्रेष्ठ, श्यामदास वैष्णवलगायतका साहित्य पनि अनुवाद गरेको कार्यक्रममा चर्चा गरियो ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले अनुवाद शब्दभित्रको मुटु रहेको जनाए । ‘साहित्यमा अनुवादक र स्रष्टाबीच सञ्चार हुन आवश्यक छ,’ उनले भने, ‘बुझेर अनुवाद ग¥यो भने टुंगो लाग्छ नत्र सक्दैन ।’सुवेदीले अनुवाद भनेको शब्दको मात्र हैन, मानवीयताकै अनुवाद रहेको बताए । ‘मानवले अनुवादलाई सिर्जना गर्न सक्छ र मानवले नै अनुवादको नास पनि गर्न सक्छ,’ उनले थपे, ‘अनुवाद सहज छैन तर त्यो गर्ने कलाले साहित्यलाई विश्वभर पुर्याउन सकिन्छ ।’
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले साहित्यमा अनुवादको मात्रा बढाउन कोशिस गरिरहेको बताए । नेपाल भाषा परिषदका अध्यक्ष सुवर्ण शाक्यले नेपालभित्रै विभिन्न मातृभाषामा अनुवाद र लेखनीको थालनी हुनु खुसीको कुरा भएको जनाए ।
अनुवाद विभागकी प्रमुख उषा ठाकुरले अनुवाद विभागले २१ वटा पुस्तक विभिन्न भाषामा अनुवाद गरिरहेको जानकारी दिइन । त्यसमध्ये ९ वटा पुस्तक प्रकाशनसमेत भइसकेको उनले बताइन् । अनुवाद साहित्यको महत्वपूर्ण पाटो रहेकाले अनुवाद र प्रकाशनका बारेमा नेपाली साहित्य क्षेत्रमा बहस जारी रहनुपर्नेमा उनले जोड दिइन् ।
प्रकाशित: १ फाल्गुन २०७४ ०२:०९ मंगलबार