सय–डेढ सय वर्षयता नेपाली समाजमा को, किन र कसरी ऐतिहासिक भए ? साझा कर्म र पेसा अपनाउने सामाजिक समूहका रूपमा ती कसरी छुट्टिए ? तिनको इतिहास–चिन्तन कस्तो रह्यो ? यस सम्बन्धी रूपरेखासम्म पाइन्छ। सग्लो अनुसन्धान भएको भने मलाई लाग्दैन। इतिहास–चिन्तनसम्बन्धी एउटा प्रस्तावमाथि मैले सोचिरहेकाले यो अवसरमा त्यसको भूमिका बाँध्न खोजेको छु। पाएको छोटो समयभित्र सिंगै भूमिका त होइन, त्यसको शिरब्यहोरासम्म बटुल्ने प्रयास गर्नेछु।
विषयभित्र पस्नुअघि दुईवटा बुँदा यहाँ सम्झिनु उपयोगी हुन सक्छ। पहिलो बुँदा इतिहाससम्बन्धी चिन्तनलाई आकृत गर्ने सन्दर्भसँग जोडिन्छ। दोस्रो बुँदाको नाता इतिहास विधाको कलात्मक प्रकृतिसँग छ। यो बुँदा चाहिँ बहसयोग्य सुनिन सक्छ र अलि पछि चर्चा गर्नेछु।
माथि उठाएका तीनैवटा प्रश्नका समय र समाज सुहाउँदा उत्तर हुन्छन्। इतिहास–चिन्तन पनि तीन किसिमका सन्दर्भले बदलिन सक्छन्। पहिलो हो अर्थ– राजनीतिक परिवेश। यसले कुनै मानिसलाई ऐतिहासिकका रूपमा व्यक्त हुन दिने–नदिने तय गर्छ। ऐतिहासिकहरूलाई सामाजिक वर्गका रूपमा सक्रिय हुन दिने–नदिने निर्णय गर्छ। तिनको सक्रियतालाई राजनीतिक हस्तक्षेप मान्ने कि नमान्ने, मानदण्ड बनाउँछ। तिनीहरूलाई समाजका बाँकी वर्गसमूहसँग घुलमिल हुन दिने कि नदिने, तय गर्छ। समग्रमा भन्दा ऐतिहासिकहरूको सामाजिक अस्तित्व र भूमिकालाई प्रभावकारी बनाउने कि निष्प्रभावी, अर्थ–राजनीतिले निर्धारण गर्छ।दोस्रो सन्दर्भ सामाजिक–सांस्कृतिक परम्परा हो। यसले इतिहास विधाको साँधसिमाना निक्र्योल गर्छ। अरू विधासँग इतिहासको लेनदेन नियन्त्रण गर्छ। सँगै, इतिहासभित्र मौलिक विमर्शलाई प्रोत्साहित गर्ने कि निरुत्साहित, निश्चित गर्छ। इतिहास–चिन्तन (हिस्ट्रियोग्राफी)को सूत्रपात, संघटन र विस्तार कहाँ खोज्ने, अथवा खोज्दा किन पाइएन भन्ने प्रश्नको उत्तर यही हुन्छ।
समाजमा सांकेतिक पुँजीको वितरण तेस्रो सन्दर्भ हो। सांकेतिक पुँजीले विपन्न समाजमा प्रतिभा खेर जान्छ। प्रत्युत्पन्नमति मानिसहरूको दुर्दशा हुन्छ। पैंचो लिइएका विद्याको महिमामण्डन गरिन्छ। समुदायमा ग्लानि र हीनताबोध व्याप्त हुन्छ। बहुसंख्यक मानिसले नभेट्टाउने ठाउँमा सांकेतिक पूँजी थुप्रिन्छ। त्यसलाई वर्चस्वशाली वर्गले ओगटेर राख्छ, फैलाउँदैन। संकेतको त्यो संकुचित रासले एउटा कुनामा सिर्जनाको तरंग फैलिरहन्छ। दर्शन, साहित्य, कलामा ठुलै हलचल आएझैं लाग्छ। तर समाजको अर्को हिस्सा भने बिम्बविहीन रहन्छ। त्यो सुनसान रहन्छ। संकेत–पुँजीको यो विषम वितरणका बेला पारम्परिक त के, उधारो विद्यासमेत बँच्दैन।
अहिलेको अर्थ–राजनीतिक संकट कति व्यापक छ, कसैले औंल्याइरहनु पर्दैन। सामाजिक–सांस्कृतिक भिरमा गइरहेको पहिरो सबैले सुनेको हुनुपर्छ। संकेत–संसारमा सबै तप्काको अनुभव मिसाउन सकिएको छैन। सबै समुदायसँग लेनदेन गर्दै साझा संकेत–ढुकुटी बनाउन पनि चुकेकै हौं। यो विचलित परिस्थितिमा ऐतिहासिकहरूलाई चिनाउने परिभाषा, तिनको सामाजिक भूमिका र इतिहास–चिन्तनलाई हेर्दा सन्तोष मान्ने ठाउँ देखिँदैन।
***
ऐतिहासिकहरू को हुन् भन्ने प्रश्न नै लिऔं। सामान्यतः पुरावस्तु खोजमेल गर्नेहरू, स्मृतिको बिर्संदो बनोट छाम्नेहरू र कर्मकाण्डको बदलिँदो बान्की ठम्याउनेहरू ऐतिहासिक हुन्। उर्लंदो इतिहास–चेतको जुलुस हेर्नेहरू र अतीतसँग झर्को मानेको नियाल्नेहरू ऐतिहासिक हुन्। किंवदन्तीबाट पुरातथ्य छान्नेहरू र तथ्यपरक समाचारमा शक्तिको विलम्बित दाबी पहिल्याउनेहरू ऐतिहासिक हुन्। सार्वजनिक थलोमा वादी, संवादी, विवादी र वर्जित स्वरको आरोह अवरोह चिन्नेहरू ऐतिहासिक हुन्। यी सामान्य परिभाषा वर्तमान नेपाली समाजमा लागु हुँदैनन्।
नेपाली समाज विकट कालखण्डबाट निस्कन खोज्दै छ। एकातिर, मानिसले जति परिश्रम गरे पनि जीवन र धर्म एकैपल्ट निर्वाह गर्न सकिरहेका छैनन्। आँत सुक्न नदिने हो भने आत्मसम्मान धरौटी राख्नुपर्छ। ओत खोज्दा मरुभूमिमा भासिनुपर्छ। हुर्कंदो परिवारलाई भर दिँदा हुर्काएको परिवार छाड्नुपर्छ। अर्कातिर, अतिरिक्त श्रममाथि रजगज गर्नेहरूको राज छ। नगद प्रवाहमा नीति–निरपेक्ष उभिनेहरू सम्मानित छन्। पुर्खाले छाडेका पर्ती, वन, बगर र मसान घेर्नेहरू बलिया छन्। प्रकृतिले लाखौं वर्ष थुपारेको ढुंगा, बालुवा, खानी र पानी बेच्नेहरूको उन्नति छ। एकतिर ठेलमठेल ताँती लागेर निस्कनेहरूले अर्थ पठाइरहेका छन्। अर्कातिर शक्तिशालीले त्यो जगेडा विलासमा सिद्ध्याएर निर्वासनको परिबन्द फैलाइरहेका छन्।
यो दुश्चक्रको फलस्वरूप राज्य, समुदाय र परिवारबीच र भित्र सम्बन्ध असन्तुलित भएका छन्। पलायनको प्रवृत्तिले सबैतिर गाँजेको छ। असामान्य विभेदका अनेक आयाम देखिएका छन्। कतै पुँजीको चढिनसक्नु रास छ। कतै स्रोतको खडेरी छ। कतै प्रतिभा, क्षमता र अवसर घरघरै फुल्छ। कतै माटो, बिउ र पानी सबै बिग्रेझैं फल्दै फल्दैन। कतैबाट वंशावलीको गौरवपूर्ण ठेली निस्कन्छ। कतै एउटै नाउँ पुस्तौंसम्म खप्टिन्छ, इतिहास बन्दैन। कतै प्रगतिशील सिर्जनाको फड्को छ। कतै अनुभवलाई इंगित गर्ने शब्द भेटिँदैनन्। कतै बहुल बिम्बार्थको आनन्द छ। कतै अर्थरिक्त आक्रोशलाई ठाउँ दिने बिम्ब छैन।
यस्तो विषम परिवेशका बेला धर्म–अधर्म, अर्थ–अनर्थ, नीति–दुर्नीति, संस्कृति–कुकृति छुट्याउन सकिँदैन। अतीत–भविष्य, पूर्वज–वंशज, आदर्श–यथार्थको चिन्ता गर्न जगेडा स्रोत पाइँदैन। फुर्सद र रचना जोखिमपूर्ण जीवनशैली भएका छन्। तन्त्र व्यवस्था यस्तो छः रचनाशीलजति जीविका जुटाउन अस्तव्यस्त छन्, फुर्सद खोज्नेजतिलाई शोषकको परिचयपत्र भिराइएको छ। जेनतेन मौलिक विचार निस्कियो, अरूबाट परिचालित भनिन्छ। कलाविहीन नक्कलले आश्रय पाउँछन्। ठुलो जनसंख्या वर्तमानभित्र चेपिएको छ। सानो सक्रिय तप्काले संकट ठम्याउने विवेक देखाउँदैन। त्योसित अतीतको सम्यक् आलोचना गर्ने दृष्टि छैन। आसन्न भवितव्य आँक्ने क्षमता छैन। यो असहज कालखण्डमा कवि, कलाकार, चिन्तक र ऐतिहासिकहरू मात्र होइनन्, सिर्जनाकर्मी र पेसाधर्मी मानिस कोही पनि मानक परिभाषाअनुरूप भेटिँदैनन्। दृष्टान्त दिनुको साटो केही संकेत दिऊँ। यहाँहरू विज्ञ हुनुहुन्छ, संकेतबाटै तथ्यसम्म पुगिहाल्नुहुनेछ।
***
कुनै बेला शासकबाट दानदातव्य पाएका, पतिया दस्तुर असुल्ने, राजबैठक र भारदारीमा रुजु रहने राजगुरु, धर्माधिकारी, मूल पुरोहित, लम्बरी पण्डितहरू ऐतिहासिक थिए। फेरि कम–बेसी योग्यतासँगै निगाहको जागिरबाट जीवन निर्वाह गर्ने प्राज्ञ र परामर्शदाताहरू ऐतिहासिक भए। त्यस्तै विश्वविद्यालयका दलीय कुलपति, उपकुलपति, विभागीय प्रमुख, द्वारपण्डित अथवा प्राध्यापक–महोपाध्यायहरू पनि इतिहासकार कहलिए। अहिले शासकीय संयन्त्रबाट कृपाको पद पाउन चाहनेहरूको हुलमा ऐतिहासिकहरू भेटिन्छन्। त्यता नमिसिएकाहरू व्यवस्थाभित्र आफ्नो मतवाद चलाउन दरिला देखिन्छन्। सत्ताकांक्षी दलसमूहबाट पाएका मान, पुरस्कार र भरणपोषणलाई आफ्नो योग्यताको कदर सम्झिनेहरू र आफ्नो प्रतिभाको राज्यले कदर नगरेको गुनासो गर्नेहरू दुवैतर्फ ऐतिहासिकहरू छन्।
केही दशकदेखि कोल्टो फेरेको अर्थ–राजनीतिभित्र ऐतिहासिकहरू नयाँ नयाँ अवतारमा देखा परेका छन्। केही ऐतिहासिक सत्ता संरक्षण अथवा परिवर्तनजस्ता अर्थ–राजनीतिक अभीष्टका बाह्य र आन्तरिक कारकहरूसँग मिलेका देखिन्छन्। शक्ति र साधन–प्रवाहको अँध्यारा गल्लीमा उभेकाहरू सजिलै चिनिँदैनन्।
अर्को परिदृश्य पनि छ। शक्तिसम्पन्न वर्गले स्वेच्छालाई वैधानिक बनाउन आमवृत्त हडप्छ। सार्वजनिक भंगिमामाथि ऐननियमका तगारा उभ्याउँछ। विधिमाथि एकलौटी दाबी गर्छ र विचारबाट रचनात्मक आलोचना माग्छ। शक्तिशालीलाई लोकतान्त्रिक देखाउनु छ र शासनतन्त्रमा जमेर बस्नु छ। सत्तासित नरम–गरम सम्बन्ध राख्ने बौद्धिकहरूमध्ये इतिहासकारका रूपमा आफूलाई चिनाउनेहरू भेटिन्छन्।
आपसी सहमतिको तरल अर्थ–राजनीतिक संरचनाभित्र शक्ति र विद्रोहको शैली एउटै हुन्छ। पक्ष र विपक्षको चक्रीय प्रणालीमा अधिकांश बौद्धिकको मुख्य सरोकार विद्या हो कि वृत्ति हो? निष्ठा हो कि प्रतिष्ठा ? अलमल रहन्छ। ऐतिहासिकहरू यसको अपवाद हुँदैनन्। तिनको पनि पद, कर्म, भूमिका र चिन्तनबिच तारतम्य मिल्दैन।
अहिलेको विसंगतिपूर्ण समयमा सबै ऐतिहासिकहरू अतीत अनुभव भेट्टाउने तपस्यामा छैनन्। इतिहास–तत्व पाउने साधनामा छैनन्। अतीतलाई समाजोपयोगी खानी सम्झिने एउटा समूह बहुविध प्रायोजनामा छ। शासनतन्त्रको स्वार्थ अनुकूल इतिहास उत्पादन गर्ने अर्को समूह प्राज्ञ पदमा प्रतिष्ठित छ। इतिहासलाई सामाजिक–आर्थिक हैसियत उकास्ने बाटो बनाउन अझ अर्को समूह व्यस्त छ। यी तीन समूहमा नअटाउने ऐतिहासिक परिधितिर धकेलिएका छन्।
यो परिधिगत समूह पनि एकनास देखिँदैन। कोही वर्तमानमाथि प्रभावकारी हस्तक्षेप गर्न जरुरी ठान्छन्। आन्दोलनसँगै मच्चिन पुग्छन्। फेरि समझदारीबाट सच्चिन चाहन्छन्। अभियान र ध्यान, युद्ध र सम्झौताबिच ओहोरदोहोर गर्छन्। बाँकी भने अतीत गाथाले उद्वेलित रहन्छन्। तिनलाई वर्तमान तरल यथार्थ लाग्छ। छिनछिनै गुमिरहेको प्रत्यय लाग्छ। क्रान्ति जति कबाड पैदा गर्ने तन्त्र लाग्छ। हस्तक्षेप र प्रतिहस्तक्षेपका जन–आन्दोलन डाह–चक्र (रिजेन्टमेन्ट साइकल्सः पीडा–सन्ताप–डाह–द्वन्द्व–पीडाको चक्र) लाग्छ।
सजिलो गरी भन्दा अतीतसँग कुराकानी गरिरहेका नेपाली ऐतिहासिकहरूको सामूहिक स्थिति यस्तो देखिन्छ– एउटा यथास्थितिको धुरी छ। त्यहाँ मिथ्या साबित नभएसम्म र अतिरिक्त अभिलेखले नबोलेसम्म रुढीलाई प्रमाण मान्नेहरू छन्। तिनीहरू शास्त्रलाई शस्त्र बनाउन खोज्छन्। अर्को ध्रुव काल्पनिकीमा घुम्रिएको छ। त्यहाँ परम्परालाई कबाडको डंगुर मान्ने र आफूखुसी तथ्यको निर्माण गर्नेहरू छन्। यिनीहरू शस्त्रलाई शास्त्रमा बदल्न खोज्छन्। अधिकांश नेपाली ऐतिहासिकलाई यी दुई ध्रुवबिच कतै राख्न मिल्छ।
***
ऐतिहासिकहरूको यो मोटामोटी वर्गीकरण संकेतात्मक हो, विश्लेषणात्मक होइन। यहाँ लिइएका लक्षण पनि पारिभाषिक होइनन्। अझ कुनै समूह–उपसमूहमा अमुक ऐतिहासिकलाई हालेर मीनमेख निकाल्नु सार्थक हुनेछैन। किनभने इतिहास–चिन्तनलाई बदलिँदो परिप्रेक्ष्यमा राख्नु मेरो उद्देश्य होइन। बरु ‘नेपाली’ र ‘समाज’ भन्ने पदलाई समस्यामुक्त राख्न सकिने सीमाभित्र अतीत–वस्तु पहिल्याउन लागिपरेको एउटा वर्गसमूहतिर औंल्याउनसम्म मैले चाहेको हुँ।
यो उत्साहवर्धक तर विचित्र परिदृश्य होः संसदीय (एकेडेमिक) प्रबन्धमा इतिहास विधा मृतप्रायः देखिन्छ। औपचारिक पाठ्यक्रमबाट इतिहास लुप्तप्रायः मान्न सकिन्छ। विधागत दर्शन, प्रत्यय, विधि, प्रविधि र सिप सिक्नेतिर जाँगर प्रायः भेटिँदैन। नयाँ नयाँ विषय र बुँदा उठाइए पनि आलोक भेटिँदैन, राप लाग्दैन। ऐतिहासिकहरूले ‘प्राज्ञिक’ इतिहासलाई अनुशासित र रचनात्मक बनाउन सकेका छैनन्। संसदेतर (नन–एकेडेमिक) बहसमा भने इतिहासको खपत बढ्दो छः अरूलाई बहिष्कृत राख्ने हतियार बनाएका छन्, उपयोगी औजारझैं चम्काएका छन्, हराएको सामूहिक अस्मिता जस्तो, बिउँझेपछि खोजिरहेको सपना जस्तो। त्यहाँ खालि खपतको लालसा छ, सिर्जनाको उत्साह छैन।
मिलान कुन्देराले भने जस्तो आज मानिस इतिहासको बाढीमा परेका छन्। तिनीहरू आफ्नै बितेको जीवनमा संगति खोजिरहेका छन्। सम्झनामा सन्दर्भ र अर्थ पाइरहेका छैनन्। सँगै, अतीत–वस्तुप्रति गौरव भने बढेको देखिन्छ। अतीत–अनुभवलाई कलात्मक रूपमा संरक्षित राख्ने तिर्सना व्यापक छ। ऐतिहासिक दस्तावेज, भवन, व्यक्ति र दिनसम्बन्धी वृत्तान्त लोकप्रिय हुन्छ। लोक–सञ्जालमा सक्रिय ऐतिहासिकहरूले भने विद्यमान अर्थ–राजनीतिक दाबी र प्रतिदाबीको कुनै विकल्प दिन सकेका छैनन्। न समाजमा फैलिरहेको तिर्सना र आकर्षणलाई सम्यक्दृष्टि दिन सकेका छन्। विषालु सामाजिक द्वन्द्वमा होमिएकाहरूलाई परामर्शको हतियार दिन जो कोही बौद्धिक तयार देखिन्छ, ऐतिहासिकहरूले तिनलाई सद्विवेक दिन सकेका छैनन्।
अतीत–चिन्तन भइरहेका ठाउँमा ऐतिहासिक नभेटिनु अथवा ऐतिहासिकहरूमा इतिहास–चिन्तन नपाइनु नेपाली समाजमा व्याप्त विडम्बनाको एउटा आयाम हो। त्यो विडम्बना के हो भने चिन्तन मात्र होइन, धर्म, शक्ति, अर्थ र सिपसमेत अहिले मौलिक ठाउँबाट विस्थापित छन्। आचारसँग धर्म बस्दैन, नीतिसँग शक्ति बस्दैन, श्रमछेउ अर्थ भेटिँदैन, विवेक लिएर प्रविधि आउँदैन र व्युत्पत्तिगत अर्थमा, विचार लिएर विद्या बस्दैन।
***
नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ। शास्त्र–सम्मत र संवेदना–सिद्ध विवेक राख्नपर्ने हुन्छ।
सुरुमा मैले संकेत गरेको दोस्रो बहस योग्य सुनिने बुँदा यहाँनेर आउँछ। धर्म, न्याय र नीतिजस्ता आध्यात्मिक खोजलाई र दर्शन, साहित्य, कलाजस्ता मानवीय मूल्यको प्रस्तावलाई हिजोआज विज्ञान बनाउने चलन छ। चल्तीका वैज्ञानिक परिपाटीसित बेमेल हुने विधालाई खारेज गरिदिने स्वघोषित वैज्ञानिक पनि छन्। अथवा, विधागत साँध नाघेर ती विद्या–स्थानलाई ‘वैज्ञानिक’ अथवा ‘आधुनिक’ देखाउने प्रवृत्ति पनि छ। अतीत–वस्तुको खोजमेल गर्ने विधि विविध छन्। तर तिनमा सञ्चित पूरा–अनुभवबाट वर्तमानमा संवेदना जगाउने प्रक्रिया एउटा कला हो। व्युत्पत्तिगत अर्थमा, अंग्रेजी आर्ट ? ल्याटिन आर्स् ? धातु रत् वैदिक ऋत् एकै ठाउँमा छन्। त्यसैले इतिहासलाई कलात्मक पुनर्रचना मान्न सकिन्छ।
समाजको विकासक्रममा कहिलेकाहीं शास्त्र र संवेदना परस्परमा प्रतिकूल हुन्छन्। आदर्श र अन्याय, विमर्श र विभेद घोलमेल हुन्छन्। कहिलेकाहीं सुनौला भनिएका बिहानी अनुत्पादक दिनमा बदलिन्छन्। रक्तिम साँझले कालरात्रि निम्त्याउँछन्। मेलमिलाप र सम्झौता नटुंगिने द्वन्द्वतिर जाने मोड बनिदिन्छन्। त्यति बेला अतीत अनुभव र वर्तमान विवेक असमञ्जस हुन्छ। ऐतिहासिकहरूसित परित्राणको विकल्प छ त ?
आफ्ना पूर्वजदेखि अलग्याइएकाहरू, वंशावलीमा छुटेका–छुटाइएकाहरू, पुर्खाको पसिनाले सिँचेको र खरानी घुलेको थातथलो छाड्नुपर्नेहरू, आफ्नो नगरलाई पराई सहरमा ढल्दै गरेको बेहोर्नेहरू, सत्ताले डामेका आङ बोक्नेहरू र कथनले रंगिएका भित्ता सम्झिनेहरू, अपमानको सूत्र दिनहुँ स्मृतिभित्र पसेको देख्नेहरू, निरपेक्ष अग्राधिकारको तर्क पुराणभित्र पाउनेहरू, मोखका रङ–रेखासँगै गामठाम धमिलिएर पुरावशेष बनेको देख्नेहरू, ‘घर’ खोज्दै हिँडेका ‘ठालु’हरू र ‘घर’बाट निकालिएका ‘सुकुमवासी’हरू– यी सबैको संघर्षबाट भौतिक–सांस्कृतिक अनुभव बनेको छ। सिंगो समाज ‘आज–अहिले’भित्र गिजोलिएको लाग्छ। जनसमूह जति अतीतलाई निरर्थक बोझ सम्झेर जीवन खोज्न हिँडेका देखिन्छन्। त्यो जनसमूहप्रति ऐतिहासिकहरूले उत्तरदायी बन्नु छ।
यो परिस्थिति आफै अर्को, धेरै अघिदेखि सल्किँदै फैलिरहेको, प्राकृतिक संकटले घेरिएको छ। वर्चस्व–आकांक्षीहरूको दुष्कृत्यबाट पृथ्वी कुपित छ। मानिस जातिलाई छैटौं विलोपतिर पु र्याई छाड्ने यो समूह विभिन्न स्तरमा सक्रिय छ। अन्तर्राष्ट्रिय संघटनमा र अन्तर्देशीय मोर्चाका अग्रपंक्ति प्रभावी छ। देशभित्र राज्य र त्यसको विकल्प भनिएको वणिकसंघमा विराजमान छ। प्रदेश–क्षेत्रभित्र राजनीतिक र वित्तीय सञ्जालमाथि उसैको नियन्त्रण छ। स्थानीय स्तरमा सार्वजनिक स्रोत र संरचनालाई विपन्नको पहुँचबाट टाढा राख्न उही आतुर छ। यो प्रकृति–विरोधी समूहलाई भविष्यको प्राविधिक भजन गाउनु छ। ‘जंगली, ‘रुढीवादी’ र ‘असभ्य’ इतिहास बिर्सनु छ। ऐतिहासिक ज्ञान अपदस्थ गर्नु छ। कलात्मक विधालाई धुलो पार्नु छ। इतिहास–क्षम विवेकलाई निःचेष्ट बनाउनु छ। यस्तोमा ऐतिहासिकहरूले ती अहंग्रस्त आकांक्षीहरूलाई अशक्त पार्ने भूमिका खेल्नु छँदै छ। पृथ्वीमाथि आफ्नो पाइला राखेर त्यसको ऐतिहासिक ढुकढुकी पनि सुन्नु छ। किनभने ऐतिहासिकहरू मात्र अहिले र उहिलेबिच झुलिरहेका हुन्छन्। उनीहरूले मात्र कालउत्तर चेतना बोकेका हुन्छन्।
अनुभव र अपेक्षा दुवैसँग अविरोधी बाटो खोज्न पर्ने यो विहड र एकांकी बाटो हो। यो बाटो हिँडेर देखाएका ऐतिहासिकहरू दुर्लभ हुन्, तर थिए। कालको उथलपुथलमा तिनका पाइला मेटिएका हुन सक्छन्। तिनको परिश्रम हाम्रो मन–मरुभूमिमा हराएको हुनसक्छ। तिनको नाउँसमेत बिर्सिइएका हुन सक्छन्। तर तिनका केही शब्द शास्त्रमा उधृत भेटिन्छन्। सिपको छनक अनुश्रुतिमा पाइन्छन्। तिनको टिलपिल इतिहास–चेत लोकभाका र आख्यानमा भेटिन्छन्। यसो भन्दा कुनै काल्पनिक चरित्रबारे बोलेको सुनिन सक्छ। तर मानव–सभ्यताको झन्डै झन्डै अन्तिम बेलामा अतीत मन्थन गर्नेहरूका निम्ति दोस्रो विकल्प देखिँदैन। परम्परा र अनुभव, शास्त्र र संवेदना दुवै जिउँदो राख्ने दुर्गम आदर्श नभए अर्को कस्तो आदर्श हुन सक्ला, मलाई थाहा छैन।
–प्रस्तुत लेख मदन पुरस्कार गुठीद्वारा आयोजित जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोहमा इतिहासकार योगेश राजद्वारा व्यक्त विद्वत् प्रवचनको पूर्णपाठ हो।
प्रकाशित: ३० आश्विन २०८० ०१:५२ मंगलबार